काठमाण्डौँ – एशियाली विकास बैक (एडीबी) ले ८ सय मेगावाटको दूधकोशी जलाशययुक्त आयोजना निर्माणका लागि ५५ अर्ब ६ करोड रुपैयाँ भन्दा बढी ऋण दिने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले गठन गरेको दूधकोशी जलविद्युत् कम्पनीमार्फत निर्माण हुन लागेको यो आयोजना निर्माणका लागि एडीबीले यति ठूलो परिमाणमा ऋण दिने भएको हो ।
कुल १ खर्ब ५० अर्ब लागत अनुमान गरिएको आयोजनाको लागि एडीबीले ५५ अर्ब दिने प्रतिवद्धता जनाएको र यसको सम्झौता भने हुन बाँकी रहेको दूधकोशी जलविद्युत् आयोजना प्रमुख वसन्तध्वज श्रेष्ठले जानकारी दिए ।
अहिले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भइरहेको आयोजनाको ६ महिनाभित्र पूरा गरेर सन् दुई वर्षभित्र निर्माण सुरु गर्ने लक्ष्य राखिएको आयोजना प्रमुख श्रेष्ठले बताए ।
ओखलढुंगा र खोटाङ जिल्लाको बीचमा पर्ने यो आयोजनामा करिब १३ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ ।
– कारोबार
FACEBOOK COMMENTS