काठमाडौं । निजी क्षेत्रको टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको आम्दानी चार वर्षदेखि निरन्तर घट्दो क्रममा देखिएको छ ।
चार वर्षअघि ६० अर्बको हाराहारीमा संचालन आम्दानी गरेको एनसेल अहिले ४० अर्बको हाराहारीमा सिमित भएको हो । एनसेलले सन् २०१८ मा ५९ अर्ब ८१ करोड रुपैयाँ संचालन आम्दानी गरेको थियो । केयर रेटिङ कम्पनी इक्रा नेपालले एनसेललाई कर्जा लिने प्रयोजनाको लागि गरेको रेटिङमा दिइएको जानकारी अनुसार सन् २०१९ मा ५५ अर्ब ३९ करोड, सन् २०२० मा ४६ अर्ब ८७ करोड र सन् २०२१ मा ४० अर्ब ४२ करोड रुपैयाँ संचालन आम्दानी गरेको छ ।
निजी क्षेत्रबाट संचालित सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको संचालन आम्दानी सरकारी स्वामित्वको नेपाल टेलिकमभन्दा केही कम देखिन्छ । नेपाल टेलिकमले गत आर्थिक वर्षमा ४५ अर्ब ५६ करोड रुपैयाँ कुल आम्दानी गरेको छ ।
सन् २००१ देखि स्पाइस नेपाल नामक प्राइभेट कम्पनीको रुपमा संचालनमा आएको एनसेलले सन् २००५ देखि मेरो मोबाइल नाममा मोबाइल सेवा संचालन गरेको थियो । सन् २००८ मा युरोपियन टेलिकम सेवा प्रदायक कम्पनी टेलियासोनेराले एनसेलको स्वामित्व लिएर एनसेल नामबाट मोबाइल सेवा प्रदान गर्दै आएको थियो । सन् २०१२ देखि कम्पनीको नाम नै एनसेल प्रालि राखिएको थियो । सन् २०१६ मा एनसेलको स्वामित्व एक्जिअटा कम्पनीले लिएको छ ।
सन् २०२० को अगष्ट ३ देखि कम्पनी पब्लिकमा गएको छ । यद्यपि, एनसेलको आईपीओ ९साधारण सेयर० जारी भएको छैन ।
FACEBOOK COMMENTS