पोखरा कार्तिक २२ गते , राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को स्वामित्वमा रहेको मुस्ताङको संरक्षित क्षेत्रमा वन्यजन्तु चोरी, शिकारी बढेको छ । वन्य जन्तुको अखेटोपहार तस्करी गर्नका निम्ति तस्करीहरुले थापेका फलामे पासो ठाउँ ठाउँमा भेटिन थालेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले वन्यजन्तु तस्करीहरुले वन क्षेत्रमा थापेका धेरै पासो फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङको वन गस्ती टोलीले तेस्रो दिन पुनः १ रेड फक्ससहित ३४ थान पासो फेला पारेको जनाएको छ ।
यो सँगै १ सय ७५ पासो पुगेको प्रहरी निरीक्षक आशीष अधिकारीले जानकारी दिए । उनका अनुसार मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ लुप्रा गाउँको खम्पा क्याम्पमाथि निच्चा जंगलमा मंगलबारदेखि बिहीबारसम्म गरिएको वन गस्तीमा पासोमा परी मृत फेला ५ कस्तूरी र २ रेड फक्सलाई प्रहरीको रोहबरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण क्षेत्र कार्यालय जामसोममा ल्याएर मुचुल्का उठाएर खाल्डो खनी पुरिएको छ ।
वारागुङ मुक्तिक्षेत्रको लुप्रा गाउँ माथिको लेंकको जंगलमा मंगलबार गस्ती गएको टोलीले १ भाले र १ पोथी कस्तुरी र १ रेड फक्स फेला परेको थियो । दोस्रो दिनको गस्तीमा १ भाले र २ पोथी कस्तूरी पासोमा परी मारेको भेटिएको थियो । पासोमा परी जिउँदै रहेको १ भाले कस्तूरी भने उद्धार गरी जंगलमै छाडिएको छ ।
तेस्रो दिनको गस्तीमा १ रेड फक्स र ३४ पासो फेला परेका छन् । वन्यजन्तु विज्ञका अनुसार १ वयस्क भाले कस्तूरीको नाभी २५ ग्रामदेखि ३५ ग्रामसम्मको हुन्छ । यो सुनभन्दा झन्डै ५ गुणा महंगो पर्ने भएकाले तस्कले कस्तूरी शिकार गरेका हुन् । पोथी कस्तूरीमा भने विना हुँदैन ।
मुस्ताङका उच्च लेकका जंगलमा ठूलै खर्च गरेर मोटरसाइकलमा प्रयोग हुने ब्रेक तारको पासो बनाएर वन्यजन्तु मारिएको देखिएको छ । ठूलो परिमाणमा पासो र मृत कस्तूरी भेटिएकाले घटनालाई सामान्य रुपमा लिन नहुने स्थानीय बताउँछन् ।
वारागुङ मुक्तिक्षेत्र १ लुप्रा लेकमा वन्यजन्तु शिकार भएको गोप्य सूचनाका आधारमा एक्याप, डिभिजन वन कार्यालय, सो क्षेत्रको संरक्षण व्यवस्थापन समिति, सशस्त्र प्रहरी र जनपथ प्रहरीको टोलीले गस्ती गरेको हो ।
कोरोना कहरका कारण ३ वर्षदेखि मुस्ताङका उच्च लेंक र जंगलबार वन गस्ती भएको थिएन । दसैं तथा तिहार पर्वको मौका छोपेर वन्यजन्तु तस्करले ठूलै योजनाका साथ पासो थापेको देखिएको छ । प्रहरीले वन गस्ती निरन्तर गर्ने र सुरक्षामा कडाइ गर्ने जनाएको छ । एक्याप र वन कार्यालयले भने घटनाबारे आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । आफ्नो संरक्षण क्षेत्रमा यति ठूलो घटना हुँदासमेत एक्यापले जिम्मेबारी बोध गर्न नसकेको सरोकारवालाहरु बताउँछन् ।
FACEBOOK COMMENTS