एउटा मानिस एकाएक कसरी व्यवसायिक सफलताको शिखरमा पुग्छ र कसरी फेरि भुँईमा पछारिन्छ भन्ने उदाहरण नेपालको निजी क्षेत्रमा बेलाबेलामा देखिने गरेको छ । मजबुत आधारबिना नै व्यवसायमा हामफाल्ने र गलत गतिविधिमा संलग्न हुनेहरु जतिनै अग्लो शिखरमा पुगेपनि अन्तत : पछारिने भनेको जमिनमै हो ।
यसैको पछिल्लो पात्र बन्न आइपुगेका छन् – रियल स्टेट व्यवसायी इच्छाराज तामाङ । हाउजिङ र अपार्टमेन्ट व्यवसायमा संगठित र व्यवसायिक हात हालेका तामाङले छोटो समयमा नपत्याउँदो स्थान हासिल गरे । उनले आफुलाई राजनीतिक दल नजिक पनि राखिरहन सके । जसका कारण उनी सांसद पनि बने । राजनीतिको आडमा उनले आफुलाई एकपछि अर्को गलत काममा होमिरहे । जसको परिणाम अहिले प्रहरीको कब्जामा रहेका तामाङका विरुद्धमा हरेक दिन ४० भन्दा धेरै उजुरी थपिँदै गरेका छन् ।
असोज १८ मा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले ठगी आरोपमा इच्छाराज तामाङलाई पक्राउ गरेको छ । ७५ जनाको ठगी उजुरी परेपछि पक्राउ परेका तामाङविरुद्ध अहिले ११ सयभन्दा धेरैजनाको चार अर्ब ६१ करोड २५ लाख रुपैयाँभन्दा बढीको बिगो दाबी परिसकेको छ । पक्राउ परेयता पनि तामाङविरुद्ध दैनिक ४० भन्दा धेरै उजुरी थपिँदै गएको छ, जसको बिगो रकम दिनकै १० करोड हाराहारी छ । उनले सिभिल सहकारीका निक्षेपकर्ताको सात अर्ब रुपैयाँभन्दा बढी रकम नियमविपरित कर्जाका रुपमा लिएर संगठित रुपमा ठगी गरेको आरोप लागेको छ । विभिन्न बैंक र सिभिल सहकारी समेतको गरी कुल ८ अर्ब ६७ करोड रुपैयाँमाथि उनले दुरुपयोग गरेको अनुमान छ ।
इच्छाराज तामाङको उदय
इच्छाराज तामाङले रसियाबाट सिभिल इन्जिनियरिङ गरेर फर्किएपछि साथीहरुसँग मिलेर २०५७ सालमा सिभिल सहकारी स्थापना गरेका थिए । उनलेकेही वर्षमै आफ्नै मेहनतमा एकपछि अर्को सफलता हासिल गरे । उनको नेतृत्वमा सिभिल समूहका नौ कम्पनी बने। अर्बौंको कारोबार हुन थाल्यो । जग्गा तथा भवनसहित अर्वौंको स्वामित्व होल्ड गर्ने अवस्थामा पुगे ।
तामाङ नेतृत्वको व्यावसायिक समूह सिभिल ग्रुपअन्तर्गतको सिभिल होम्सले ललितपुरको भैंसेपाटीमा २०५८ सालमा पहिलो परियोजना लञ्च गर्यो। नेपालमा व्यवस्थित हाउजिङ सँगसँगैजसो सुरु गर्ने तीन कम्पनीमध्ये एक थियो सिभिल होम्स्। ’अर्गनाइज्ड लिभिङ’ को अवधारणा त्यतिबेला नेपालमा विल्कुलै नौलो थियो, तैपनि घरको नक्शा मात्र कोरेर बुकिङ खोल्ने अभ्यास भएको त्योबेला निर्माण नथाल्दै सिभिलका घरहरु अपेक्षाभन्दा राम्रोसँग बिक्री भए। त्यसबाट हौसिएका तामाङले काठमाडौंको कलंकीमा दोस्रो र त्यसपछि ललितपुरको सुनाकोठीमा तेस्रो परियोजना पनि ल्याए।
राजनीतिमा पहुँच
इच्छाराज तामाङले उपल्लो राजनीतिक पहुँच बढाए । जसका कारण नीतिगत तहसम्म उनको बलियो प्रभाव रह्यो । उनले रियल इस्टेट व्यवसाय अनुकूल हुने नीतिहरु ल्याउन लबीङ नै गरे । आफ्नो डोमेनको व्यावसायमा सबैतिर मिलाउन सक्ने’ चतुर खेलाडीका रुपमा समेत कहलिएका तामाङको व्यवस्थापकीय र नेतृत्व कौशलको तारिफ गर्नेहरु धेरै छन् ।
ओभर एम्बिसनले झ्यालखानामा
नेपालका ठुलामध्येको ठगी तथा संगठित अपराधको अनुसन्धानका लागि अहिले प्रहरी हिरासतमा रहेका इच्छाराज तामाङलाई उनकै ’ओभर एम्बिसन’ले सिध्याएको हो । तर यसको लहरो भने सिभिल समूहका दर्जन हाराहारी व्यवसायहरुमध्येको ’रियल इस्टेट’ सँग जोडिएको छ। तामाङको त्यो महत्त्वाकांक्षाको उडान र यतिबेलाको अवशानको शिलान्यास सिभिल होम्सको चौथो फेजको हाउजिङ परियोजना सुरुआत सँगसँगै भयो, जतिबेला उनका परियोजनालाई पैसा दिन बैंकहरु पनि लाइन लाग्थे।
तामाङ नेतृत्वको व्यावसायिक समूह सिभिल ग्रुपअन्तर्गतको सिभिल होम्सले ललितपुरको भैंसेपाटीमा २०५८ सालमा पहिलो परियोजना लञ्च गर्यो। नेपालमा व्यवस्थित हाउजिङ सँगसँगैजसो सुरु गर्ने तीन कम्पनीमध्ये एक थियो सिभिल होम्स्। ’अर्गनाइज्ड लिभिङ’ को अवधारणा त्यतिबेला नेपालमा विल्कुलै नौलो थियो, तैपनि घरको नक्शा मात्र कोरेर बुकिङ खोल्ने अभ्यास भएको त्योबेला निर्माण नथाल्दै सिभिलका घरहरु अपेक्षाभन्दा राम्रोसँग बिक्री भए। त्यसबाट हौसिएका तामाङले काठमाडौंको कलंकीमा दोस्रो र त्यसपछि ललितपुरको सुनाकोठीमा तेस्रो परियोजना पनि ल्याए।
त्यतिबेलासम्म तामाङले कम्पनी र आफ्नो वित्तीय क्षमता नाघेर कुनै पनि परियोजना गरेका थिएनन्। तर परियोजनामा प्रतिबद्धता जनाएका सामुदायिक सुविधाका संरचनाहरु निर्माण गर्नुपर्ने ठाउँ र ओपन स्पेशका लागि छुट्याइएका प्लट पनि पछि बैंकमा धितो राखेर पैसा चलाएको भनेर परियोजनाका घरधनीहरु आन्दोलनमा उत्रिए। फेज ३ परियोजनाको कम्युनिटी स्पेशको जग्गा धितो राखेर तामाङले राष्ट्रिय सहकारी बैंकबाट सिभिल होम्सको नाममा १६ करोड कर्जा निकालेका थिए।उक्त कुरा बाहिरिएपछि तामाङ नेतृत्वको सिभिल ग्रुपले बनाएका परियोजनाप्रति ग्राहकको विश्वसनीयतामा केही धक्का पुग्यो। उनका अन्य हाउजिङका घरको बिक्रीमा पनि त्यसले केही अप्रत्यक्ष असर गर्यो।
यद्यपि, उनी रोकिएनन्। धापाखेलमा दुईवटा अपार्टमेन्ट टावरसहित १७४ घरहरु (कुल २४४ एकाइ) बनाउने गरी चौथो फेजको आवास परियोजना लञ्च गरे। त्यो परियोजना ल्याउँदा भने उनको महत्त्वाकांक्षाले बेग हान्न थालिसकेको थियो। उनले एउटै ठूलो हाउजिङ मात्र होइन, एकसाथ धेरैवटा प्रोजेक्टहरु बनाएर सकैसम्म चाँडै आफ्नो रियल इस्टेट व्यावसायको साम्राज्य वृहत् बनाउन चाहे। तर त्यो आफू र आफ्ना कम्पनीको वित्तीय क्षमता अनुसारको जगमा नभएर बैंक तथा सहकारीको पैसामा खेलोफड्को रचेर।
तामाङको कम्पनी तथा उनका कारोबारहरुलाई नजिकबाट बुझ्नेहरुका अनुसार सिभिल होम्सको फेज ३ सम्मका परियोजनाहरु गर्दासम्म तामाङ ठिकठाक अवस्थामा थिए। सिभिल समूहको वित्तीय स्वास्थ्य राम्रै अवस्थामा थियो। परियोजनाका लागि लिएको बैंक कर्जाको सावाँ–ब्याज भुक्तानी पनि समयमै भइरहेको थियो। तर फेज ४ परियोजनादेखि भने उनी ज्यादा महत्त्वाकांक्षी हुँदै गए र त्यो झन्झन् चुलिँदै गयो।
सिभिल होम्सको फेज ४ परियोजना सुरु भएको धेरै समय भएकै थिएन, उनले फेज ५ को हाउजिङ परियोजना लञ्च गरे। फेज ५ ल्याउँदा त्यसअघिको हाउजिङ (फेज ४) को एक चौथाई पनि निर्माण सकिएको थिएन।
यो क्रम त्यतिमै रोकिएन। फेज ५ नबन्दै फेज ६, र एवम् प्रकारले त्यो क्रम पछिल्लोपटक लञ्च गरेको फेज–११ (जोरपाटी, काठमाडौं) सम्म पनि कायमै राह्यो। परियोजना खप्टिँदै जाँदा सिभिलले २०७२ को भुकम्पअघि नै लञ्च गरेका र त्यसपछिका परियोजनाहरुका भने आवास एकाइ (हाउजिङ÷अपार्टमेन्ट) अझैसम्म पूर्णरुपमा बिक्री भइसकेका छैनन्। अघिल्लो कुनैपनि फेजको आधा पनि काम पूरा नहुँदै नयाँ परियोजना लञ्च हुँदै गयो । धापाखेल हुँदै गोदावारीको फेज ९ को परियोजनासम्म त्यो क्रम एवम् रुपमा चल्यो।
धापाखेलको फेज ४ भुकम्पअघि आंशिक रुपमा मात्रै सकिएको थियो भने त्यससँगसँगै उनले सितापाइलामा नयाँ परियोजना लञ्च गरे। काठमाडौंको सुन्धारामा पनि तारे होटलको सुविधासरहको हुने भन्दै महँगो मूल्य राखेर १२ तलाका तीन टावरमा २३९ एकाइको विलासी अपार्टमेन्ट बनाउने गरी त्यसको बुकिङ लिइरहेका थिए, जुन अपार्टमेन्टको त्यतिबेला अन्डरग्राउन्ड तीन तला र माथिका केही तला मात्र उठाउने काम सकिएको थियो।
चौथो फेजको धापाखेल परियोजनामै कतिपय घर निर्माणाधीन अवस्थामै थिए भने दुईवटा अपार्टमेन्ट टावरहरुमध्ये एउटा बन्न थालेकै थिएन। कतिपय ग्राहकसँग पूरा पैसा लिइसकेर पनि त्यसको पाँच वर्षसम्म घर दिन नसकेको भन्दै परियोजनाको गेटमै ब्यानर टाँगेर त्यस हारउजिङका ग्राहक आन्दोलनमा उत्रिएका थिए।
यसै पनि ठूलो आकारको उक्त परियोजना पूरा नहुँदै भुकम्प गएपछि त्यसबाटै तामाङको हाउजिङ कम्पनीको ’क्यास फ्लो’ बिग्रन थाल्यो। खडा भइसकेको ८० एकाइको अपार्टमेन्ट भुकम्पबाट चर्किएपछि त्यसका बिक्न बाँकी अपार्टमेन्टहरुले लामो समयसम्म ग्राहक पाएनन्। जबकि ८५ एकाइको दोस्रो टावर त अहिले बल्ल बन्ने क्रममा छ भने त्यसका अधिकांश अपार्टमेन्ट युनिट बिक्री भएकै छैनन्। भुकम्पभन्दा ठिक अगाडि लञ्च गरेको सितापाइला हाउजिङ (फेज ७) र त्यसपछि ल्याएको फेज नौ (गोदावरी) का पनि केही युनिट अझै बिक्री हुन बाँकी नै रहेको कम्पनी स्रोत बताउँछ।
यसरी त्यसबेला एकसाथ निर्माण अघि बढाएका प्रायः सबै परियोजनाका एकाइको बिक्री भुकम्पपछि धिमा भएपछि सिभिल होम्सको वासलातमा २०६५ सालमै सम्पत्तिभन्दा दायित्व सवा एक अर्ब रुपैयाँ हाराहारीले बढी पुगिसकेको थियो, जुन त्यसपछिका वर्ष पनि थपिँदै गयो। अर्कोतर्फ, त्यतिबेला उनले ८६ करोडभन्दा बढी हाउजिङ बुकिङका नाममा सर्वसाधारणबाट उठाइसकेका थिए। उक्त पैसा तामाङले सम्बन्धित परियोजनामा नभएर अगाडि नै बैंकबाट लिएको कर्जा भुक्तानीमा प्रयोग गरेको उनीनिकटको एक स्रोतको भनाइ छ। यसबाट उनको कम्पनीले ल्याएका हाउजिङ÷अपार्टमेन्ट परियोजना निर्माणको चक्र पनि बिथोलिँदै गयो।
लग्जरी अपार्टमेन्ट र फेरिएको मापदण्ड
तामाङलाई सुन्धारास्थित ’सिभिल लग्जरी रेजिडेन्स’ अपार्टमेन्टले झन अप्ठेरो पारेको हो। उक्त अपार्टमेन्ट पूर्वपट्टी तामाङकै समूहले बनाएको सीटीसी मल, पश्चिममा जेडीए कम्प्लेक्स र दक्षिणमा केन्द्रिय कारागारको जमिन सँगै जोडिएको छ। भुकम्पपछि काठमाडौंमा अपार्टमेन्टको चारैतिर दमकल घुम्न सक्ने गरी बाटो वा खाली जमिन (कुल क्षेत्रको कम्तिमा ५०%) अनिवार्य छोड्नुपर्ने सीमासहितको मापदण्ड लागू भयो, जुन केही तला माथि उठिसकेको सिभिल लग्जरी अपार्टमेन्टले पूरा गर्नसक्ने सम्भावनै रहेन। सोपछि उक्त अपार्टमेन्टको निर्माण रोकियो। निर्माण रोकिएपछि त्यसमा अपार्टमेन्ट बुकिङका लागि पैसा बुझाएका ग्राहकहरुले धमाधम पैसा फिर्ता लैजान थाले।
कम्पनी स्रोतका अनुसार त्यतिबेला उक्त अपार्टमेन्टका लागि मूल्यको २० देखि ३०% सम्म बुकिङ एडभान्स उठाइएको थियो। बेसमेन्टका तीन तला बनिसक्दा नसक्दै माथिका १२ तलसम्मकै अपार्टमेन्टहरुको बुकिङ तामाङले लिएका थिए। सुरुमा ८० लाखदेखि २ करोडसम्म मूल्य हुने भनेर बुकिङ खुला गरिएको भए पनि पछि त्यसको दाम दोब्बर वा त्योभन्दा पनि धेरैले बढिसकेको थियो । उक्त मूल्यका आधारमा ग्राहकबाट एक अर्ब हाराहारी एडभान्समै उठाइसकेका थिए । सो रकम पछि ग्राहकले फिर्ता लग्न थालेपछि तामाङको यो अपार्टमेन्ट परियोजना पनि अलपत्र पर्यो भने नगद प्रवाह बिग्रिएर उनको वित्तीय संकट थप गहिरियो।
पछि यसलाई अपार्टमेन्टबाट प्रयोजन बदलेर होटलका रुपमा चलाउने गरी अनुमति लिएर निर्माण अघि बढाइयो। १२ तलासम्मकै संरचनागत निर्माणको काम लगभग पूरा हुन लागेपछि तामाङले दुई वर्षअघि (२०१९ जुलाईमा) ६ रोपनी जमिनसहित यो परियोजना नै अजेयराज सुमार्गीलाई एक अर्ब ३० करोडमा बेचिदिए।
सीटीसी मलको सकस
अर्कोतर्फ, सुन्धाराको लग्जरी अपार्टमेन्टको निर्माण थाल्नुअघि यससँगै जोडिएको पूर्वपट्टीको जमिनमा सिभिल समूहले सीटीसी मल नाममा व्यापारिक कम्प्लेक्स ल्याएको थियो। तर पसल कबलसहितका स्पेशहरु लिजमा दिने नभएर बिक्री गर्ने सोचले बनाइएको उक्त मल तामाङको योजनाअनुरुप बिक्री भएन। बिक्री नभएपछि ल्याण्ड रोभरको महँगो एसयुभी गाडी समेत उपहारमा राखेर पसल कबल बेच्न उनले जोडबल गरे। त्यसले आंशिक काम गरेपनि अधिकांश पसल कबलहरु बिकेनन्। सीटीसी मल तयार भएको लामो समयसम्म पनि राम्रोसँग नचलेपछि पसल कबल भाडामा दिनेदेखि आफू अध्यक्ष रहेको सिभिल बैंक नै त्यहाँ सार्नेसम्मका उपाय तामाङले लगाए। तर त्यो मल निर्माणमा खर्च भएको करिब साढे दुई अर्ब र बैंकलाई त्यसको सावाँ–ब्याज (किस्ता) चुकाउन पर्याप्त थिएन, बैंकको कर्जा भार भने खप्टिँदै गयो।
ऋण भत्काउने असफल प्रयास
हाउजिङ युनिट बिक्री नभए पनि बैंक र सहकारीले परियोजनाका लागि लिएको कर्जाको किस्ता तिर्नका लागि ताकेता गर्न छोडेनन्। त्यसलाई ’व्यवस्थापन गर्न’ तामाङले संस्थागत रुपमा एकपछि अर्को ऋण भत्काउँदै गए, नियम कानुनले दिएका सीमाको समेत हेक्का नराखी। तर एकतिर टाल्यो अर्कोतिर झन् ठूलो भ्वाङ पर्दै गयो, जुन अन्ततोगत्वा टाल्नै नसक्ने अवस्थामा पुग्दा तामाङ र उनले कर्जा लिएका कम्पनीहरुको अवस्था अहिले उदाङ्गो भएको छ। त्यसो त, सिभिल समूहले आफ्ना विभिन्न कम्पनीका नाममा ठाउँठाउँमा क्यापिटलाइज गर्दै राखेका जग्गा अहिले पनि अर्बौं बराबरको भएको अनुमान गरिन्छ। तर सत्य के हो भने तामाङका अधिकांश सम्पत्ति (खासगरी जग्गा) कुनै न कुनै बैंकमा धितो राखेर कर्जा लिएकालेसजिलै लिक्विड गर्न सम्भव छैन।
बैंक छल्ने अर्को असफल प्रयास
तामाङले जहाँजहाँ नयाँ प्रोजेक्ट ल्याए त्यहाँ जग्गाधनीलाई साझेदार बनाए र उक्त जग्गा बैंकमा धितो राखेर ऋण निकाले। कतिपय परियोजना साइटमा दुई–तीनवटा मोडेल हाउस बनाएर त्यसैलाई देखाएर बुकिङ एडभान्स उठाए। तर त्यसअनुरुप समयमा घर बनाएर दिन सकेनन्। किनकि नयाँ परियोजनामा त्यसरी लिएको एडभान्स र जग्गा धितोबाट लिएको ऋणको पैसाले उनले अगाडि निर्माणाधीन अवस्थामा अपूरो राखेका फेजहरुका परियोजना बनाउनमा लगेर हाल्न थाले। यसबाट उनको परियोजना र बैंकको कर्जा भुक्तानी दुवैको चक्र बिग्रँदै गयो। केही परियोजनाका लागि साझेदारी गरेका जग्गाधनीको जग्गामा घर नै बनेनन्, जसलाई बैंकमा धितो राखेर ऋण निकालिएको थियो। बैंकले सम्बन्धित जग्गाधनीलाई हाउजिङका लागि धितो राखेको जग्गामा घर नबनाएकोमा च्याप्न थालेपछि उनीहरुले तामाङविरुद्ध मुद्दासमेत हाले।
अर्कोतर्फ, एकपछि अर्को परियोजना समयमा पूरा नभएपछि कर्जा दिएका बैंकहरुले तामाङलाई भुक्तानीका लागि दबाब दिन थाले। बैंकले त्यसरी पेल्न थालेपछि किस्ता तिर्नका लागि उनले आफैं संचालक रहेको सिभिल सहकारीको पैसा चलाउन सुरु गरे।
सहकारीको नियमविपरित कर्जा
एक संचालकले आफू वा आफ्ना कम्पनीका लागि कुल निक्षेपको १० प्रतिशतभन्दा बढी लिन नपाउने भए पनि तामाङ एक्लैले सहकारीको ९० प्रतिशत हाराहारी कर्जा लिएका छन्। करिब सात सय बचतकर्ताको साढे सात अर्ब निक्षेपमध्ये तामाङले मात्र लगभग सात अर्ब रुपैयाँ आफ्ना चार रियल इस्टेट कम्पनीको नाममा ऋण चलाएका हुन्।
सहकारीबाट उनले १५ प्रतिशतसम्म ब्याजदरको ऋण चलाएका छन्, जसको एक दिनकै ब्याज दायित्व ३० लाख रुपैयाँ हाराहारी हुन आउँछ । सिभिल कोअपरेटिभको अर्बौं पैसा तामाङले चलाएपछि १०–१५ लाख निक्षेप राख्नेको पनि ब्याज समेत संस्थाले तिर्न नसक्ने अवस्था आयो। जबकि, यसमा एकै व्यक्तिले ३५ करोड रुपैयाँसम्म निक्षेप राखेको बुझिएको छ।
वाणिज्य बैंकहरुमा पाँच अर्व ऋण
तामाङको विभिन्न वाणिज्य बैंकको पनि चारदेखि पाँच अर्ब रुपैयाँ चलाएका छन्। यसमध्ये सबैभन्दा बढी ऋण प्राइम कमर्शियल बैंकबाट लिएका तामाङले सिटिजन्स् बैंक, कर्मचारी संचयकोष, सनराइज बैंक लगायतको पनि पैसा संस्थागत कर्जाका रुपमा चलाएका छन्। बैंकहरुलाई तामाङले संस्थागत रुपमा तिर्नुपर्ने ब्याजको दैनिक रकम नै २० लाख हाराहारी पहिल्यै पुगिसकेको छ ।
यसपाली बच्न कठिन
नेकपा एमालेनिकट तामाङ यसअघि राजनीतिक संरक्षण मिल्दा आफूविरुद्ध लागेका आरोप र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अघि बढाएको छानबिनलाई पनि छल्न सफल रहँदै आएका थिए। तर अहिले सरकारमा रहेका पार्टी उनीअनुकूलको नभएकाले पनि तामाङलाई कारबाही छलेर उम्किन त्यति सहज देखिँदैन।
FACEBOOK COMMENTS