काठमाडौं । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरूलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ ।
यो गाडीले सन् २०२० को अक्टोबरमा अन्तर्राष्ट्रिय प्रतियोगिता शेल इको म्याराथनमा भाग लिएको थियो । विद्यार्थीहरूले आवश्यक शीप अनुसार टोली निर्माण गर्ने, प्रायोजकहरू खोज्ने, कार्य स्थललाई अन्तिम रूप दिने आदि जस्ता प्रारम्भिक गतिविधिहरूबाट काम शुरु गरेको थियो र फेब्रुअरी २०२२ सम्म टोलीले सवारी साधनको डिजाइन र डेभलपमेन्ट सफलतापूर्वक सम्पन्न गरेको छ ।
अनेकन टेस्ट राइडहरू पछि विद्युतीय गाडी ‘मैचा’ अहिले पूर्ण रूपमा प्रतिस्पर्धा गर्न तयार रहेको छ । सबै नियमहरू पलना गर्दै उपलब्ध निर्देशन र स्पेसिफिकेशनहरू अनुसार गाडी बनाइएको हो । ‘मैचा’ को ब्याट्रीले १ किलोवाट घण्टा (केडब्ल्यूएच) चार्जबाट १५० किलोमिटरसम्मको रेञ्ज दिन्छ ।
मैचाको निर्माणकर्ता टीम सिरेटोले नेपालमा विद्युतीय सवारीमा विभिन्न अनुसन्धान र कार्यहरू सञ्चालन गरेर दीगो भविष्यमा योगदान पुर्याउने लक्ष्य राखेको छ । उनीहरूको प्रमुख उद्देश्य नेपालको सस्टेनेबल मोबिलिटी क्षेत्रलाई प्रवर्द्धन गर्नु हो । साथै, उनीहरू शेल इको–म्याराथनमा प्रतिस्पर्धा गर्ने नेपालको पहिलो ईभी (विद्युतीय सवारी) टोली हुन् ।
FACEBOOK COMMENTS