देशको प्रतिष्ठित र आफूलाई एक नम्बर दाबी गर्ने एक सञ्चारगृहका अगाडि हिजो सोमबार पत्रकारहरूले नै धर्ना दिइरहेको देखियो ।
केही सञ्चारगृहहरूमा श्रमजीवि पत्रकारहरू असुरक्षित महसुस गरेर आफ्नो छाता संस्था नेपाल पत्रकार महासंघको आडमा पुगेपछि महासंघकै नेतृत्वमा उक्त धर्नाको कार्यक्रम आयोजना भएको बताइएको छ । विभिन्न सञ्चारगृहहरूबाट निष्काशित श्रमजीवी पत्रकारलाई पुनः यथास्थानमा पुनर्वहाली गर्न र श्रमिकहरूको उचित व्यवस्थापन हुनुपर्ने मागसहित पत्रकारहरू सञ्चारगृहको गेटैमा धर्नामा बसेका छन्, जुन क्रम आज मंगलबार पनि चल्ने बताइएको छ ।
पत्रकारिताका माध्यमबाट सधैं समाजका लागि सूचनाहरू सम्प्रेशण गर्न अहोरात्र खटिने पत्रकारहरू नै निष्काशित श्रमजीवी पत्रकारलाई पुनः यथास्थानमा पुनर्वहाली गर्न र श्रमिकहरूको उचित व्यवस्थापन हुनुपर्ने मागसहित सञ्चारगृहकै ढोकामा कालोपट्टी र कालो व्यानरका साथ धर्नामा बसेको देख्दा मेरो मन कटक्क भयो । सधैं अरुका समाचार बनाउनेहरू आफैं पेसागत असुरक्षाका कारण समाचार बन्न पुग्दा सञ्चारगृहका लगानीकर्ता र त्यहाँ श्रम गर्ने श्रमजीवि पत्रकारहरूको बीचमा नङ र मासुको जस्तो सम्बन्ध हुनपर्छ कि हुन पर्दैन भन्ने प्रश्नहरूले मेरो मनमा अहिले डेरा जमाएको छ ।
आखिर सञ्चारगृहका लगानीकर्ता र त्यहाँ श्रम गर्ने श्रमजीवि पत्रकारहरूको बीचमा नङ र मासुको जस्तो सम्बन्ध किन हुन सकिरहेको छैन ? यस विषयमा सम्बन्धित सरोकारवालाहरूबीच आपसी सम्वादको आवश्यकता देखिएको छ । सञ्चारगृहमा कार्यरत श्रमजीवी पत्रकारहरूको उचित व्यवस्थापन र उनीहरुलाई प्रोत्साहित गर्न व्यवस्थापकहरूले पनि ध्यान दिनुपर्दछ । एउटै परिवार जस्तै भएर सञ्चार गृहहरू सञ्चालित हुनुपर्दछ । लगानीकर्ताको पनि लगानी सुरक्षित भएन भने लगानी गर्नेहरु पनि निरुत्साहित हुन्छन्, त्यसतर्फ पनि सबैले सोच्नु जरुरी छ ।
लगानीकर्ताले पनि श्रमजीवीहरुको श्रमको शोषण गर्न कदापी हुँदैन । चारैतिर सङ्कटको घडीमा घामपानी नभनी अहोरात्र कार्यक्षेत्रमा क्रियाशील सञ्चारकर्मीहरुलाई उपेक्षा गरेर धर्नाको स्थितिमा पुर्याउने कार्य कसैका लागि पनि स्वीकार्य हुन सक्तैन । आपसी समझदारी र सौहार्दपूर्ण वातावरणमा सञ्चार गृहहरू निर्विघ्न रूपमा सञ्चालनमा रहनुपर्दछ । श्रम गर्नेहरूको पसिनालाई अपमान गर्यो भने त्यसको परिणाम सुखद हुँदैन ।
आन्तरिक रुपमा कहिलेकाहीँ उत्पन्न हुने समस्याहरूलाई राजनीतिक रङ्ग दिइनु हुँदैन । समस्याहरू दलीय स्वार्थका कारण पनि उत्पन्न भएका हुन सक्छन्, त्यसलाई व्यवस्थापन गर्ने दायित्व र जिम्मेवारी सम्बन्धित सञ्चारगृहकै हो । समस्या आयो भनेर पत्रकारको रोजीरोटी नै खोस्नु कदापि राम्रो विषय होइन । सबै सञ्चार माध्यमहरूले आफ्नो पीडा, दुःख राम्रोसँग बुझेका छन् । सञ्चारकर्मीहरुले पनि आफ्नो हक अधिकारको रक्षा गर्दा कसैलाई पनि अन्याय महसुस गराउनु हुँदैन ।
सञ्चारकर्मीहरूको आर्थिक–सामाजिक क्षेत्रमा परिवर्तन ल्याउनका निमित्त सबैले आ–आफ्नो क्षेत्रबाट केही न केही योगदान गर्नुपर्दछ । यो विषम परिस्थितिमा घाममा टट्टिएर धर्ना जुलुस गर्न पर्ने परिस्थिति किन उत्पन्न भएको छ ? यसको निराकरणका लागि हातेमालो गरेर छिटो समस्याको समाधान खोज्नु जरुरी छ । सञ्चारगृहहरू मोटा हुँदै जाने त्यहाँ कार्यरत श्रमजीवीहरू दुब्लाउँदै जानु भनेको आफैंमा दुर्भाग्यको विषय हो ।
दलीय राजनीतिको कोपार्जनमा सञ्चारगृहहरू पनि अछुतो रहन सकेका छैनन् । तसर्थ सहकार्य र मित्रवत् व्यवहारबाट सञ्चारगृहहरूले समस्याको निराकरणमा पाइला अगाडि बढाउनु उचित हुने छ । दलीय राजनीतिबाट गिजोलिएको न्यायालयको ढोकामा चाहर्नुपर्ने परिस्थिति कसैका लागि पनि सुखद हुने छैन । पत्रकार महासंघले दलीय राजनीतिको घेरा भन्दा माथि उठेर समस्त पत्रकारहरूको हकहितका निमित्त अगाडि बढेमा सहयोग र सहकार्य गर्न पत्रकारहरू पछि पर्ने छैनन् ।
हरेक कुरामा हड्ताल, जुलुस र धर्ना गरेपछि मात्र सुनुवाई हुने प्रवृत्तिले गर्दा मौलिक हक र अधिकारको क्षेत्रमा राज्यको चौथो अङ्ग समेत अछुतो रहन सक्ने अवस्था छैन । सधैं प्रणाली परिवर्तनको सहयात्री बनेको चौथो अङ्ग दुब्लाएर पातलिएको छ । परिवर्तनका संवाहक भनिनेहरू मोटाउँदा देश आर्थिक भुमरीमा रुमलिन पुगेको छ ।
FACEBOOK COMMENTS