काठमाडौं । युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने लक्ष्यसहित नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियान नेपालबीच समझदारी भएको छ ।
दीगो बैंकिङ अन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पीआईएससी) सँग समझदारी गरेको बताएको छ । अभियानले यसअघि गत चैत २५ र २६ गते काठमाडौंमा सम्पन्न ‘युवा उद्यमशीलतामार्फत दीगो विकास लक्ष्यहरू प्राप्त गर्ने’ विषयक दुईदिने कार्यशालाको प्रायोजन गरेको थियो ।
नबिल बैंकको तर्फबाट नायब महाप्रबन्धक–आदर्श बजगाईं र पीआईएससी नेपालका कार्यकारी निर्देशक प्रवीण खनालले युवा उद्यमशीलतालाई मद्दत र प्रवर्द्धन गर्ने उक्त प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका थिए ।
युवा उद्यमशीलतामार्फत दीगो विकास लक्ष्यहरू प्राप्त गर्न आयोजित उक्त कार्यशालामा विभिन्न विश्वविद्यालयका विद्यार्थी, इच्छुक उद्यमी लगायतले उद्यमशीलता विकासका लागि आफ्नो विचार र अवधारणा नोट प्रस्तुत गरेका थिए । उत्कृष्ट अवधारणा पीआईएससी नेपालद्वारा प्रकाशित पुस्तिकामा प्रकाशित गरिने आयोजक संस्थाले बताएको छ ।
उक्त कार्यशालाबाट अब्बल छानिएका अवधारणा तथा कार्यपत्रहरुलाई नबिल बैंकले आवश्यक परेमा बैंकको नीतिको अधिनमा रही विभिन्न बैंकिङ्ग सेवाहरू प्रदान गर्ने छ । उक्त कार्यशालामा नबिल बैंकका नायव महाप्रबन्धक आदर्श बजगाईंले युवा उद्यमशीलता मार्फत आर्थिक बृद्धि तथा दिगो विकाशका लक्ष्यहरु हसिल गर्नुपर्ने बताउनुका साथै बैंकमा दीगो बैंकिङ्गसम्बन्धी छुट्टै विभागले यस सम्बन्धमा काम गर्दै आइरहेको जानकारी गराए ।
नबिल दीगो बैंकिङले उद्यमशीलता सम्बन्धी तालिम तथा वित्तीय साक्षरता सम्बन्धी काम गर्दै आउनाका साथै महिला, किसान र युवाहरूका लागि नबिल किसान कर्जा र उद्यमशील कर्जा प्रदान गर्दै आएको छ । साथै, युवा उद्यमशीलता प्रवर्द्धनका लागि आयोजित यस्तो कार्यशालालाई सहयोग गर्न पाउँदा खुशी लागेको समेत नायव महाप्रबन्धक बजगाईले बताए ।
कार्यक्रममा आयोजक संस्थाका कार्यकारी निर्देशक प्रवीण खनालले ‘बजार कहिल्यै मर्दैन, उद्यमशीलता कहिल्यै मर्दैन’ भन्दै राष्ट्र निर्माणका लागि युवा उद्यमशीलता महत्वपूर्ण रहेकोमा जोड दिए । साथै, नेपाल महिला उद्यमी महासंघ की अध्यक्ष निरु रायमाझी खत्रीले राष्ट्रको आर्थिक उन्नतिमा महिलाद्वारा सञ्चालित व्यवसाय/उद्यमलाई प्रवर्द्धन गुनपर्ने बताइन् ।
FACEBOOK COMMENTS