काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घटनाबारे जानकारी लिन आज पोखरा जाने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि उनी विमान दुर्घटनास्थल पोखरा जान लागेकाे प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । “अहिले मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ, बैठकपछि प्रधानमन्त्री पोखरा जाने कार्यक्रम छ”, उनले भने , “सम्भवत् प्रधानमन्त्री दुर्घटनास्थलमा समेत पुग्नेछन् ।”
प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री, नागरिक उड्डयन प्राधिकरण, विमानस्थलका उच्च अधिकारी पनि पोखरा जाने बताइएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चारसहित ७२ यात्रु सवार रहेका थिए । दुर्घटनास्थलबाट हालसम्म २९ जनाको शव निकालिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । घटनास्थलमा उद्धार कार्य जारी छ ।
FACEBOOK COMMENTS