काठमाडौं । शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार अभाव हुँदा दुई अलगअलग समयमा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।
विद्यालयमा विद्यार्थीको चापअनुसार कक्षा कोठा नहँुदा बिहान ६ देखि १० बजेसम्म र १० देखि ४ बजेसम्म कक्षा सञ्चालन भइरहेका छन् । बिहानीको समयमा वन विज्ञान र कक्षा ११ तथा १२ का कक्षा सञ्चालन हँुदै आएका छन् । बिहान १० बजेपछि कक्षा १ देखि १० सम्मका कक्षा सञ्चालन हुने गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बुढाका अनुसार विद्यालयमा ११ भवन रहेका छन् । त्यसमध्ये नौ पक्की र दुई जस्ता पाताको छाना भएका भवन छन् । “दुई पक्की भवनमा वन विज्ञान कार्यक्रमका छात्र र छात्राका लागि छुट्टाछुट्टै छात्रावासको प्रबन्ध मिलाएका छौँ”, उनले भने , “बाँकी नौवटा भवनका २२ कोठाहरुमध्ये कम्प्युटर ल्याब, पुस्तकालय, प्रयोगशाला, भण्डारण कक्ष, दिवा खाजा व्यवस्थापन, शिक्षक स्टाफ गरी १० कोठा प्रयोगमा रहेका छन्, बाँकी १२ कोठामा छात्रावासका थप चार गरी १६ कोठामा पठनपाठनको कार्य भइरहेको छ ।”
कक्षा कोठाको अभावमा विद्यालयमा सञ्चालना रहेका बाल विकासका तीन कक्षालाई एउटै कोठामा राख्नु परेको उनले भने । आधारभूत तहका कक्षाका लागि आठ, माध्यमिक तहका लागि चार र तीनवर्षे वन विज्ञान शिक्षाका लागि तीन कक्षाकोठा प्रयोग भइरहेका छन् ।
विद्यालयमा विद्यार्थीको सङ्ख्या सात सय ३४ रहेको छ । छात्र तीन सय ३९ र छात्रा तीन सय ९५ रहेका छन् । “विद्यार्थीको अनुपातमा कक्षा कोठाको निकै अभाव छ”, विद्यालयका निमित्त प्रधानाध्यापक गणेशबहादुर विष्टलेभने, “कक्षा कोठाको अभाव र आवश्यक माध्यमिक शिक्षक दरबन्दी अभावले अलगअलग समयमा कक्षा सञ्चालन गर्नुपरेको छ ।”
उहाँका अनुसार कक्षा १२ मा सबैभन्दा बढी एक सय २३, कक्षा ९ मा एक सय १२, कक्षा ८ मा ७३ विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यार्थीको सङ्ख्या अधिक भए पनि कक्षा कोठा नपुग्दा एउटै कक्षामा राखेर पठनपाठन गराउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
तीनवर्षे वन विज्ञानमा भने ४५ विद्यार्थी भर्ना भएर पढ्दै आएका छन् । विद्यालयमा बाल विकासदेखि कक्षा ५ सम्म एक सय २२ विद्यार्थी भर्ना भएर पढ्दै आएका छन् भने कक्षा ६ देखि १२ सम्म छ सय ८९ विद्यार्थी भर्ना भएर पढ्दै आएका छन् । “आगामी शैक्षिक सत्रदेखि विद्यायमा थप छ कक्षाकोठा निर्माण गर्ने लक्ष्य लिएका छौँ”, निमित्त प्रधानाध्यापक विष्टले भन्नुभयो, “फर्निचरको पनि अभाव छ, त्यसका लागि नगरपालिकासँग आवश्यक बजेटको व्यवस्था मिलाइदिनका लागि आग्रह गरेका छौँ ।”
विद्यालयमा १२ शौचालय र दुई खानेपानीका धारा भए पनि त्यसलाई व्यवस्थित भने विद्यालयले गर्न सकेको छैन । विद्यालयमा प्रावि तहका चार र एक निमावि तह गरी पाँच शिक्षक स्थायी रहेका छन् । राहत कोटमा कार्यरत शिक्षकको सङ्ख्या छ रहेको छ । त्यसमध्ये प्राविमा एक, निमाविमा दुई र माविमा तीनजना कार्यरत रहेका छन् । निजी शिक्षक १० रहेका छन् । बालविकासका तीन, एकजना विद्यालय सहयोगी र दुई कार्यालय सहयोगी कार्यरत छन् ।
कक्षा ११ र १२ का लागि भने शिक्षक दरबन्दी नहुँदा निजी शिक्षक राखेर पठनपााठनको कार्य हुँदै आएको छ । विद्यालय विसं २०४२ मा स्थापना भएको हो । वडाध्यक्ष शेरबहादुर साउदले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि दुई भवन निर्माणका क्रममा रहेको बताए ।
FACEBOOK COMMENTS