काठमाडाैं । बाँके बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका वुधी थारू प्रत्येक दिन कामको खोजीमा बिहानै नेपालगञ्जको रामवाग र आसपासको क्षेत्रमा पुग्छिन् ।
नेपालगञ्जको श्रमिक बजारमा उभिएर ज्यालादारी काम खोज्नु वुधीको दैनिकी हो । आज एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसको दिन पनि उहाँ साथीहरुसँगै कामको खोजीमा थिइन् । “दिवस त ठूला मान्छेका लागि हो, हुनेखानेका लागि हो हामीलाई काम नै ठूलो हो, दिवस मनाएर के गर्ने ?”, नेपालगञ्जमा कामको पर्खाइमा रहनुभएकी वुधीले भनिन्, “दिवस भनेर जुलुसमा गयो भने त घरमा केटाकेटी भोकै हुन्छन् त्यसैले दिवस नमनाउने ।” सहरमा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रभातफेरि र सभाको तयारी भइरहँदा वुधी थारू जस्ता श्रमिक महिला कामको खोजीमा भौँतारिरहेकी थिइन् ।
उनीहरुलाई प्रत्येक वर्ष तामझामका साथ मनाइने अन्तर्राष्ट्रिय महिला दिवसले छुनसकेको छैन । बर्दियाको राजापुरबाट मजदुरी गर्न नेपालगञ्ज आएकी लक्ष्मी थारू भन्छिन्, “महिला दिवस मनाउन पाउने भाग्य भएको भए यहाँ किन काम खोज्दै हिँड्थ्यौँ, काम पाइयोस्, ज्याला पाइयोस् यही नै हाम्रो दिवस हो ।” नेपालगञ्जमा कामको खोजीका लागि प्रत्येक दिन महिला पुरुष श्रमिक लाइन लाग्ने गर्दछन् । लाइनबाटै काम र ज्यालाको समझदारी भएपछि कामका लागि उनीहरु सम्बन्धित क्षेत्रमा जाने गर्दछन् । आज अन्तर्राष्ट्रिय महिला दिवस भए पनि मजदुर महिलाको सङ्ख्यामा कुनै कमी थिएन । “दिवसले खान लाउन दिँदैन, काम त खोज्नै पर्यो, खान बस्न पर्यो”, लक्ष्मीले भनिन्, “दिवस मनाउने मनाउछन्, हामीलाई दिवस मनाउने फुर्सद छैन ।” यो वर्ष अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपाल टेड्र युनियन महासङ्घ (जिफन्ट)ले कामको पर्खाइमा रहेका श्रमिक महिलाको स्वास्थ्य परीक्षण तथा दिवसबारे नेपालगञ्जमा जानकारी गराएको छ ।
श्रमिक महिलाको हक अधिकारबारे जानकारी गराउनाका साथै निःशुल्क स्वास्थ्य परीक्षण गरी सेनेटरी प्याड र मास्क वितरण गरिएको जिफन्ट राष्ट्रिय कमिटी सदस्य पूर्ण केसीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जमा एक सय बढी श्रमिक महिलालाई स्वास्थ्य र श्रम अधिकारका बारेमा परामर्श दिइएको हो । अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य शान्ति ढकालले दिवसले वास्तविक श्रमिक महिलालाई समेट्न नसकेको स्वीकार गरिन् । दिवसलाई विना तयारी र औपचारिकतामुखी बनाइँदा पनि सम्बन्धित सरोकारवाला व्यक्ति नै छुट्ने गरेको उनको भनाइ छ । “यो कुनै दल, सङ्गठन वा व्यक्तिले चाहेर हुने कुरा होइन, वास्तविक श्रमिक महिलालाई दिवस मनाउन सक्ने वातावरणको लागि दीर्घकालीन सोचका साथ योजना हुनुपर्दछ”, ढकालले भनिन्, “अहिले स्थानीय सरकार, सामाजिक सङ्घसंस्था र राजनीतिक दलका भ्रातृ सङ्गठनले दिवसको मर्मविपरीत आफू अनुकूल कार्यक्रम गर्ने गरेका छन् ।”
मजदुर नेता पूर्णचन्द्र उपाध्यायले वर्षमा एकपटक मनाइने दिवसले वास्तविक श्रमिक महिलालाई नछुने बताउछन् । उनले दीर्घकालीन सोचका साथ नीतिगतरुपमा श्रमिक महिलाको हकहितलाई समेटेर कार्यक्रम ल्याउन सकेमात्र दिवस मनाउनुको औचित्य हुने उल्लेख गरे । खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले आफूले चाहँदा चाहँदै पनि सबै श्रमिक महिलालाई दिवसमा समेट्न नसकेको बताए । उनले आर्थिक कारणले पनि महिला विभेदमा परेको भन्दै उत्पादनमूलक काममा जोडिन महिलालाई आग्रह गरे । महिलाका सवालमा गाउँपालिकाबाट विभिन्न कार्यक्रममा बजेट विनियोजन भए पनि श्रमिक महिलाका तर्फबाट माग भई नआएकाले उनीहरुका लागि छुट्टै कार्यक्रम बनाउन नसकेको उपाध्यक्ष मल्लको भनाइ छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले वास्तविक श्रमिक महिलाहरु अझै पनि दिवसको अर्थ, महत्व र कार्यक्रमभन्दा बाहिर रहेको बताए ।

“श्रमिक महिलालाई रोजगारको सुनिश्चितता, श्रमको उचित पारिश्रमिक लगायतका विषयमा यो दिवसले बोल्नुपर्ने हो तर त्यहो हुन सकेको छैन”, श्रेष्ठले भने, “सबै खाले श्रम गर्ने महिलाले श्रमको उचित मूल्य पाउनुपर्नेमा सरोकारवाला सबै पक्ष लाग्नु पर्दछ ।” हिजोभन्दा आज महिला दिवसको महत्व बढ्दै गएकाले यसलाई औपचारिकतामा मात्र सीमित राख्न नहुने सरोकारवालाको भनाइ थियो ।
