काठमाडौँ । स्टार्टअप उद्यम व्यवसाय सञ्चालन गर्ने विषयमा जानकारी लिन उद्योग विभागमा उद्योगी व्यवसायीको चहलपहल बढेको छ ।
उद्योग विभागले गत बिहीबारदेखि स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न सार्वजनिक सूचना गरेपछि चासो लिनेहरूको चहलपहल बढेको हो ।
विभागमा दिनमा एक सयदेखि दुई सय जनासम्म स्टार्टअपका बारे बुझ्न आउने गरेको जनाएको छ । विभागका सूचना अधिकारी रमिला भण्डारीले स्टार्टअप नयाँ व्यवसाय भएकाले पनि धेरै नै बुझ्न आउने गरेको बताए ।
सोमबारसम्म १० वटा कम्पनीले आवेदन दर्ता भएको विभागले जनाएको छ । स्टार्टअप व्यवसाय गर्न दर्ता भएका फाइबर, मानव संस्थानसँग सम्बन्धित, पर्यटन तथा मदिरा उद्योग, औषधि, खुद्रा व्यवसाय, कम्प्युटर सफ्टवेर, निर्माण सामग्री इन्टरनेरट र विद्युत् खाद्य सामग्रीका उद्योग रहेका छन् । परियोजना प्रस्ताव पेस गर्ने समय २१ दिनको राखिएको छ ।
परियोजना प्रस्ताव पेसको समय अवधि सकिएपछि एक महिनामा स्टार्टअप उद्यम कार्यक्रम सञ्चालन, छनोट र प्रवद्र्धन उद्योग विभागले गर्नेछ । स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ का अनुसार स्टार्टअप उद्यम गर्नेले तीन प्रतिशत ब्याजमा बढीमा २५ लाख रुपियाँसम्म कर्जा पाउनेछन् । साझेदारीमा रहेको उद्यमका लागि यस्तो कर्जा सात वर्षसम्मका लागि पाइने आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS