काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले सुशासनको पक्षमा अभियान नै छेडेको बताएका छन् ।
आगामी आर्थिक वर्षका लागि राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयको विनियोजन बजेटबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तोबताएका हुन् ।
‘मैले संसद्मा संकल्प गरेको थिएँ सुशासन सरकारको प्रतिबद्धता हुने छ । जनतामा राज्य र सरकारप्रति निराशा असन्तोष र आवेग थियो अहिले त्यसमा सुधार भएको छ’, उनले भने, ‘जनतामा राज्य र सरकारप्रति भरोसा बढेको छ । हाई प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने भ्रम तोडिएको छ ।’
उनले नक्कली शरणार्थीको फाइल खोलेर कानुनबाहिर जाने जोसुकै कारबाहीमा पर्ने सन्देश दिएको पनि बताए।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा कानुनको सर्वोच्चता स्थापित भएको छ । लोकतन्त्रमा उब्जिएको समस्याको समाधान लोकतन्त्रबाटै हुन्छ’, उनले भने, ‘उच्च पदस्थहरु कानुनमाथि छन् भन्ने गलत भएको छ । लोकतन्त्रको सर्भिसिङ र शुद्धिकरण पनि सुरु भएको छ ’
उनले बालुवाटारस्थित प्रधानमन्त्री निवासको सरकारी जग्गा निल्न खोज्नेमाथि कारबाही थालिएको पनि बताए ।
‘मलाई अझै बढी समर्थन चाहिएको छ । यो लडाइँमा सदन र आमजनताको पनि हौसला र सहयोग मिल्नेछ’, उनले भने, ‘कुनै पनि मूल्यमा विकृतिविरुद्धको यो लडाइँ अघि बढाइनेछ ।’
FACEBOOK COMMENTS