बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत र विपन्न वर्ग कर्जाको लक्ष्य पुर्याए
कर्पोरट खबर
4:20 pm, आइतबार, साउन ७, २०८०
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले क्षेत्रगत कर्जा र विपन्न वर्ग कर्जा विस्तारमा वार्षिक लक्ष्य पूरा गरेका छन् ।
नेपाल राष्ट्र बैंकले समयावधि ताकेर उनीहरुलाई क्षेत्रगत कर्जा र विपन्न वर्ग लक्षित वर्ग कर्जाको लक्ष्य हासिल गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई गत असार समान्तसम्मा उनीहरुले गरेको कूल कर्जा लगानीको न्यूनतम ११ प्रतिशत कृषि क्षेत्रमा, छ प्रतिशत ऊर्जा क्षेत्रमा र ११ प्रतिशत लघु, घरेलु, साना एवं मझौला उद्यमको क्षेत्रमा प्रवाह गरिसक्न भनेको थियो ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख भएको विवरणअनुसार वाणिज्य बैंकहरुले उक्त लक्ष्य पूरा गरेको देखिएको छ ।
गत जेठ मसान्तमा वाणिज्य बैंकहरुबाट प्रवाह भएको कूल कर्जामध्ये कृषि क्षेत्रमा १३ दशमलव १ प्रतिशत अर्थात् रू पाँच खर्ब ५२ अर्ब ९९ करोड कर्जा प्रवाह भएको छ ।
त्यस्तै, ऊर्जा क्षेत्रमा कूल कर्जाको छ दशमलव आठ प्रतिशत अर्थात् २ खर्ब ८६ अर्ब ७७ करोड र लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा ९ दशमलव ९ प्रतिशत अर्थात् ४ खर्ब १८ अर्ब ३६ करोड कर्जा प्रवाह भएको छ ।
त्यसैगरी, विकास बैंकहरुलाई २०८० असार मसान्तसम्ममा कूल कर्जा लगानीको १६ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्न भनिएको थियो । गत जेठ मसान्तसम्ममा विकास बैंकबाट कृषि, लघु, घरेलु तथा साना उद्यम–व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा कूल कर्जाको २४ दशमलव ९ प्रतिशत अर्थात् १ खर्ब १३ अर्ब १८ करोड कर्जा प्रबाह भएको छ ।
वित्त कम्पनीहरुले २०८० असार मसान्तसम्म कूल कर्जा लगानीको ११ प्रतिशत कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकामा गत जेठ मसान्तसम्ममा वित्त कम्पनीबाट यस्तो क्षेत्रमा २२ दशमलव ३ प्रतिशत अर्थात् रू १९ अर्ब ६५ करोड लगानीमा छ ।
बैंक तथा वित्तीय संस्थाले आफ्नो कूल कर्जा सापटको न्यूनतम पाँच प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था छ । वाणिज्य बैंकहरुबाट प्रवाह भएको कूल कर्जा सापटमध्ये २०८० जेठ मसान्तमा औसत ६ दशमलव १ प्रतिशत अर्थात् २ खर्ब ६० अर्ब ८४ करोड कर्जा विपन्न वर्गमा गएको छ ।
त्यसैगरी, विकास बैंकहरुबाट यस क्षेत्रमा नौ दशमलव एक प्रतिशत अर्थात् रू ४२ अर्ब ३२ करोड र वित्त कम्पनीहरुबाट ६ दशमलव एक प्रतिशत अर्थात् ५ अर्ब ६५ करोड कर्जा लगानी भएको छ ।
नेपाल सरकारबाट ब्याज अनुदान उपलब्ध गराइएको सहुलियतपूर्ण कर्जामध्ये २०८० जेठ मसान्तमा १ लाख ४७ हजार ५सय १० ऋणीलाई २ खर्ब ३ अर्ब १० करोड कर्जा लगानीमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कृषिलगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई उपलब्ध गराइएको पुनरकर्जा गत जेठ मसान्तसम्ममा १ अर्ब ९६ करोड लगानीमा रहेको छ ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिमा कर्जा प्रवाहको वर्तमान अवस्था समेतको विश्लेषणका आधारमा तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्नेसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरावलोकन गर्ने जनाएको छ ।
FACEBOOK COMMENTS