काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका विद्यालयहरुमा पठनपाठन भए नभएको हेर्न महानगरको टोली अनुगमनमा खटिएको छ ।
महानगरपालिकाका प्रवक्ता नविन मानन्धरकाअनुसार उक्त अनुगमनमा गएका टोलीले शिक्षकहरुको आन्दोलनकाबीच विद्यालयमा पठनपाठन प्रभावित भएरनभएको अनुगमन गर्न गएको बताएका छन् ।
प्रवक्ता मानन्धरकाअनुसार विद्यालयमा आन्दोलनका कारण पठनपाठन अवरुद्ध भएको पाइएमा अनुगमनकै क्रममा टोलीले निर्णय गरेर कारबाही गर्ने पनि उनले बताए ।
बुधबारबाट देशभरिका विद्यालय बन्द गरी शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौं केन्द्रित आन्दोलनमार्फत सरकारले ल्याएको शिक्षा विधेयकको विषयमा उनीहरुल बिरोध गरिरहेका छन् ।
यसबीच काठमाडौं महानगरपालिकाले भने शिक्षा विधेयकमा आफूहरुको पनि असहमति भएको तर, आन्दोलनका नाममा विद्यालयमा पठनपाठन अवरुद्ध गर्न नपाइने र भएको खण्डमा कारबाही गर्ने चेतावनी दिएको छ ।
महानगरको शिक्षा विभागले पनि बुधबार विज्ञप्ति निकाल्दै शिक्षकका पेसागत विकासका लागि माग राख्ने र पूरा गर्ने विधि तथा प्रक्रियाको मार्ग अरु प्रशस्तै हुँदा हुँदै विद्यालय शान्तिक्षेत्र र प्रचलित कानुन विपरित विद्यालय बन्द नगर्न अनुरोध गरिएको र गरिएको खण्डमा कारबाही गर्ने पनि जनाएको छ ।
FACEBOOK COMMENTS