काठमाडौं, माघ १७ – नेपाल सरकारले प्रशोधित पाम आयलको प्रतिबन्ध खुलाउने पहल जारी राखेको छ । प्रतिबन्ध खुलाउन आग्रहसहित भारतलाई पत्र पठाएको केही दिनमै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजय कुमारसँग पनि छलफल गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोती दुगडसहित मन्त्रालयका प्रतिनिधिले बुधवार कार्यवाहक राजदूतसँग प्रतिबन्ध खुलाउने पहल गरिदिन अनुरोध गरेका हुन् । आर्थिक अभियानसँग कुरा गर्दै राज्यमन्त्री मोती दुगडले पाम आयलको प्रतिबन्ध खुलाउन भारतीय कार्यवाहक राजदूतसँग आग्रह गरिएको पुष्टि गरे ।
वार्तामा भारतले पाम आयलमा प्रतिबन्ध लगाउँदा नेपाललाई परेको असर र भारतमा पनि परेको प्रभावबारे राजदूत समक्ष जानकारी गराइएको थियो । पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि भारतमा पनि यसको मूल्यवृद्धि हुुँदै गएको बताइएको छ ।
दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा), वाणिज्य सन्धि लगायतका आधारमा नेपाललाई भारतमा पाम आयलको निर्यात गर्ने अधिकार छ । तर, भारतले एक परिपत्र जारी गर्दै त्यसलाई रोक लगाएको छ । कानूनी आधारमै नेपाललाई पाम आयल निर्यात गर्न रोक लगाउने नहुने जस्ता विषयमा भारतीय पक्षलाई जानकारी गराइएको मन्त्रालयले बताएको छ । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS