काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालको विनाशकारी भूकम्पबाट भत्किएर पुनर्निर्माणको क्रममा रहेका सम्पदाहरूको शनिवार अवलोकन गर्नुभयो । अवलोकनका क्रममा राष्ट्रपति भण्डारीले सम्पदा पुनर्निर्माण तथा नयाँ निर्माण गर्दा पुरानो शैली र मौलिकताको संरक्षण गर्नसमेत सरोकारवाला निकायलाई निर्देशन दिनुभयो ।
राष्ट्रपतिले पुनर्निर्माणको क्रममा रहेका धरहरा, रानीपोखरी, वसन्तपुरको काष्ठमण्डप मन्दिर र नौतले दरबारको अवलोकन गर्नुभएको थियो । साथै उहाँले हालै निर्माण सम्पन्न भएको दरबार हाईस्कुलको नवनिर्मित भवन पनि अवलोकन गर्नुभयो । रानीपोखरी पुनर्निर्माण कार्यको भने राष्ट्रपति भण्डारीले २०७२ माघ २ गते भूकम्प दिवसको अवसर पारेर शिलान्यास गर्नुभएको थियो । अवलोकनका क्रममा राष्ट्रपतिसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायत अधिकारीहरू सहभागी थिए ।
तथ्यांकअनुसार २०७२ को विनाशकारी भूकम्पबाट पूर्ण तथा आंशिक रूपमा क्षति भएकामध्ये ३८१ सम्पदाको पुनर्निर्माणको काम अभैm शुरू हुन सकेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार पुनर्निर्माण गर्नुपर्ने सम्पदा ८९१ ओटा छन् । सरकारले अहिले भूकम्पबाट भत्किएका निजी आवासको पुनर्निर्माणतर्पm भने अपेक्षित उपलब्धि हासिल गरेको छ भने सम्पदा निर्माणलाई प्राथमिकतामा राखेको छ ।
प्राधिकरणका अनुसार अहिले धरहराको पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको छ । प्राधिकरणको तथ्यांकअनुसार हालसम्म अति र कम प्रभावित ३२ जिल्लामा गरी ३८७ ओटा सम्पदा पुनर्निर्माण भइसकेका छन् । यो कुल पुनर्निर्माण गर्नुपर्नेमध्ये ४३ प्रतिशत हो । यस्तै पुनर्निर्माण भइरहेका सम्पदाको संख्या १२३ छ । यी सम्पदामध्ये भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा ७५३ र कम प्रभावित १७ जिल्लामा १३८ सम्पदा आंशिक तथा पूर्णरूपमा प्रभावित छन् ।
FACEBOOK COMMENTS