काठमाडौं । दोलखा उद्योग वाणिज्य संघले यही पुस १३ गतेदेखि २२ गतेसम्म दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गर्ने ‘बृहत दोलखा महोत्सव, २०८०’ को तयारी तीव्र पारेको छ ।
‘दोलखा महोत्सवको दिव्य दृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि’ नाराका साथ आयोजना गरिने महोत्सवलाई सफल पार्न दोलखा उद्योग वाणिज्य संघले आफ्नो सक्रियता बढाएको हो । महोत्सवलाई सफल पार्न आयोजकका रूपमा संघले आफ्ना वस्तुगत संस्थाहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, सुरक्षा निकाय, जिल्लास्थित राजनीतिक दलहरू र सरोकारवाला पक्षहरूसँग बारम्बार छलफल गरिरहेको संघका सचिव प्रवीण श्रेष्ठले जानकारी दिए ।
यस्तै, बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनसँग पनि महोत्सवबारे अन्तक्रिया गर्न लागिएको जानकारी उनले दिए । जिल्लास्थित राजनीतिक दल र सुरक्षा निकायहरूसँग विभिन्न चरणमा छलफल भइरहेको जानकारी उनले दिए । ‘हामीले महोत्सवका लागि आवश्यक सबै प्रकारका तयारीहरूलाई एकसाथ अघि बढाएका छौँ । स्टलहरूको बुकिङ पनि उत्साहजनक रूपमा भइरहेको छ,’ सचिव श्रेष्ठले भने, ‘हालसम्म १३० वटा भन्दा बढी स्टल बुकिङ भइसकेको छ । १४० देखि १५० वटासम्म कुल स्टल राख्ने हाम्रो तयारी छ ।’
महोत्सवमा ८० हजारभन्दा बढी दर्शक आउने अनुमान गरिएको र करिब ७ करोडको कारोबार हुने अनुमान गरिएको पनि उनले बताए । जिल्लाको खस्किँदो कृषि, आर्थिक तथा पर्यटन क्षेत्रलाई उकास्नाका साथै दोलखा जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई जिल्लालाई समृद्ध बनाउने उद्देश्य महोत्सवले लिएको छ । दोलखालाई कृषि, पर्यटन र हाइड्रोको सम्भावनायुक्त जिल्लाका रुपमा हेरिँदै आएको छ ।
‘दोलखा जिल्लाको व्यापार व्यवसायलाई चलायमान बनाई जिल्लाका स्थानीय कृषि तथा औद्योगिक वस्तु तथा सेवाहरूको प्रचारप्रसार र बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको हो,’ संघका सचिव श्रेष्ठले भने, ‘स्थानीयस्तरमा उत्पादित वस्तुका साथै विविध क्षेत्रको स्टलहरू रहने महोत्सवमा स्थानीय व्यवसायीलाई स्टल बुकिङमा विशेष छुट सुविधा प्रदान गरिएको छ । साथै, जिल्लामा रहेका नौ वटै पालिकाले आफ्नो विशेष पहिचान र प्रचारका लागि अनिवार्य स्टलको व्यवस्था गरिएको छ ।’ साथै, महोत्सव अवधिमा दोलखाका नौ ओटै स्थानीय तहहरूसँगको समन्वयमा आर्थिक बहस ‘समृद्धि योजना’ समेत सञ्चालन गरिने भएको छ ।
महोत्सवमा ५० जना भन्दा बढी स्थानीय कलाकारहरूको प्रस्तुति रहनाका साथै राष्ट्रिय कलाकारहरूको समेत बेजोड प्रस्तुततिहरू रहने संघले जनाएको छ । महोत्सवमा आकर्षण थप्न महोत्सवस्थल चरिकोट टुँडीखेलदेखि कोर्थलीको जंगल हुँदै भ्यू टावरसम्म घोडचढी यात्राको व्यवस्था समेत गरिएको छ । साथै, विभिन्न जातजातिको संस्कृति झल्किने झाँकी प्रदर्शनी, उत्कृष्ट कृषक तथा उद्यमी सम्मान, दोलखा रत्न सम्मानलगायत महोत्सवका आकर्षण हुने पनि सचिव श्रेष्ठले बताए ।
यस्तै, संघले आफ्नो जिल्लाका नौ वटै पालिकाको परिचयसहित भिडिओ दृश्य पनि निर्माण गरिरहेको जनाएको छ । सो सामग्रीमा पालिकाको उत्पादन, व्यवसाय, पर्यटन र कृषिलगायत क्षेत्र समावेश गरिने छ । जसले कुन पालिकाको आर्थिक पहिचान के हो भन्ने कुराको यकिन गर्ने बताइएको छ ।
महोत्सवमा स्टल लिएर सहभागिता जनाउन चाहानेले यही पुस ३ गते अर्थात् आगामी मंगलबारसम्ममा स्टल बुकिङ गरिसक्नुपर्ने छ । स्टल भाडा पाँच हजार रुपैयाँदेखि ३५ हजार रुपैयाँसम्म तोकिएको आयोजकको भनाइ छ । बहुराष्ट्रिय उद्योग तथा रिर्सोटहरूका लागि ३५ हजार, राष्ट्रियस्तरका उद्योगहरूका लागि ३० हजार, अटो मोबाइल–ईभीका लागि २५ हजार, ठूला होटेल र बैंक तथा वित्तीय संस्थाका लागि २० हजार रुपैयाँ स्टल शुल्क तोकिएको संघले जनाएको छ ।
यस्तै, जुत्ता चप्पल कस्मेटिक तथा फेन्सीका लागि १२ हजार, कृषि प्रदर्शनीका लागि आठ हजार, फलफूल तथा जुस पसल, शैक्षिक तथा पर्यटन सामग्री र नर्सिङ होम तथा क्लिनिकका लागि १० हजार, संघसंस्था तथा विकास परियोजनाहरू र एफएमसीजी एण्ड रिटेलका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।
यसैगरी डेरी उत्पादन र फास्टफुड व्यवसायका लागि १२ हजार, भाडा तथा किराना, आईटी ईलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, खेलकुद सामग्री र चिया कफी बेकरीका लागि १० हजार, हस्तकला–महिला उद्यमीका लागि सात हजार, मह तथा अण्डा र साना हस्तकलाका लागि पाँच हजार रुपैयाँ स्टल भाडा तोकिएको छ ।
पुस १३ गते शुक्रबार बिहान साढे १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने महोत्सव भीमेश्वर रंगशाला टुँडीखेलमा १० दिनसम्म चल्नेछ । महोत्सवस्थल वरपर अहिले विभिन्न प्रकारका तोरणहरूले झकिझकाउ गर्ने काम भइरहेको छ । महोत्सवको आम्दानीबाट संघले चरिकोटमा कोसेली घर सञ्चालन गर्ने योजना बनाएको छ ।
FACEBOOK COMMENTS