काठमाडौं । २०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ्ग कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको छ ।
नेपालका वाणिज्य बैंकहरू मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सबैभन्दा बढी डिजिल कारोबार (विद्युतीय कारोबार) गर्न सफल भएको छ । यसैसन्दर्भमा नेपालको भुक्तानी प्रणाली सञ्चालक नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई नेपालका बैंकहरू मध्ये सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंकको रूपमा आइतबार साँझ सम्मानित गरेको छ ।
एक विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठलाई अवार्ड प्रदान गरेका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले प्रविधिमा पर्याप्त लगानी गरेकाले यो उपलब्धि हासिल गर्न सफल भएको बताउँदै अब राष्ट्रिय वाणिज्य बैंक परम्परागत प्रणालीबाट डिजिटलाइजेशनतर्फ गएको बताए । बैंकले अन्तर्राष्ट्रियस्तरको उन्नत बैंकिङ्ग प्रविधिमा आधारित कोर बैंकिङ सफ्टवेयर भित्र्याउन आईटी इनह्यान्समेन्ट रोडम्यापअन्तर्गत कार्य समेत गरिरहेको उनले बताए ।
सीईओ श्रेष्ठले बैंकले आधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रवाह गरिरहेकाले सबै ग्राहकहरूलाई निर्धक्कसँग बैंकिङ्ग सेवा प्रयोग गर्न अनुरोध गरेका छन् । साथै, उनले बैंकको सो प्रगतिका लागि सम्पूर्ण ग्राहकहरू, शेयरधनी, नेपाल सरकार, राष्ट्र बैंंक, कार्यरत कर्मचारी लगायत समग्र सरोकारवालाहरूप्रति बैंकको तर्फबाट हार्दिक धन्यवाद समेत ज्ञापन गरे ।
बैंकका हाल सात वटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका २८५ शाखा कार्यालय, २६९ वटा एटीएम ९९ वटा शाखारहित बैंकिङ्ग सेवा, ६९ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पीओएस (पोइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्यूआर टेलर (बिनाचेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ्ग, परिष्कृत रूपको मोवाइल बैंकिङ्ग (डिजिटल संसार) तथा बिनाइन्टरनेट चल्ने यूएसएसडी मोवाइल बैंकिङ्गका सेवाहरू समेत सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS