काठमाडौं, फागुन ११ – प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव एवं हाल सूचना आयोगका प्रमुख आयुक्त महेन्द्र गुरूङ र सरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक प्रमुख विकल पौडेलविरूद्ध भ्रष्टाचारमा अनुसन्धान माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको हो।
उजुरी हाल्नेमा बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेल छन् । उनीहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भूउपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याब र अप्टिकल फाइबर विस्तारमा अनियमितता भएको भन्दै प्रधानमन्त्रीसहित चार जनाविरुद्ध आइतबार अख्तियारमा उजुरी दिएका हुन्।
निवर्तमान मन्त्री बाँस्कोटाले ७० करोड ‘कमिसन’ मागेको अडियो प्रधानमन्त्रीले डेढ महिनाअघि नै पाएपनि संलग्नहरुलाई कारवाहीका लागि कदम नचालेकाले प्रधानमन्त्री ओलीसहित चारैजनालाई कारवाहीका माग गरेका छन् ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा जोडिएर सञ्चारमन्त्री बाँस्कोटाको अडियोटेप सार्वजनिक भएपछि गत बिहीबार उनले नैतिकताका आधारमा राजीनामा दिएका थिए। सार्वजनिक अडियोमा बाँस्कोटाले ७० करोड कमिसन डिल गरेका थिए।

यसअघि बाँस्कोटालाई कारवाहीको माग गर्दै आइतबार नै विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले उजुरी दिएका थिए ।
