काठमाडौं । जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरूलाई असाध्यै गाह्रो हुन्छ ।
शारीरिक रूपमा कमजोर, लामो समयदेखि दमको औषधि सेवन गरिरहेकाहरूलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो ।
चिसोबाट बच्न घरका झ्याल ढोका टम्म बन्द गरेर बस्नाले हामीले फ्याक्ने कार्वनडाइअसाइड पर्याप्त रूपमा बाहिर निस्कन पाउँदैन र अक्सिजन पनि पाउन नसकिने भएकाले सामान्यतया दमको रोग भएकाहरूलाई गाह्रो हुने चिकित्सकको भनाइ छ । जाडो भयो चिसो भयो भन्दैमा कतैबाट पनि हावा छिर्न नदिनेगरी बस्नु हुँदैन । ‘जाडो भयो, चिसो भयो भन्दैमा बाहिरबाट अक्सिजन छिर्नै नहुने गरी घरको सबै झ्याल ढोका बन्द गरेर बस्नु हुँदैन । यसो गर्दा अक्सिजनको मात्रा घटेर कार्वनडाइअसाइडको मात्रा बढ्छ र दमले बढी च्याप्छ’ नेपाल मेडिकल कलेजका पल्मोनोलोजिस्ट डा. पशुराम विष्ट भन्छन् ।
डा. विष्टका अनुसार सीओपीडी अर्थात् क्रोनिक अब्स्टट्रिभ पल्मोनरी डिजिज् दम होइनन् । बालबालिकाहरूमा हुने तारन्तारको रुघाखोकी, घ्यारघ्यार दम होइन । ‘सबै क्रोनिक अब्स्टट्रिभ पल्मोनरी डिजिज् दम नहुन सक्छन् । दम भनेर उपचार गर्नुपूर्व चिकित्सकसँग सल्लाह लिएर डायग्नोसिस गराउनु अपरिहार्य छ ।’ स्वासनली साँघुरिँदै र स्वासप्रस्वासको काम गर्ने फोक्सोमा रहेको एल्बेलाई जहाँ हावा रहने र जाने गर्दछ । त्यसको जीनहरू नष्ट भएर फोक्सो दीर्घकालीन रूपमा फुल्ने कारणले दम हुने उनको भनाइ छ ।
लगातार ३ महिनासम्म स्वास फेर्न गाह्रो हुने, लगातार खकार आइरहने, खोकी लागि रहने भए दम हुन सक्छ । यसको सुरूवाती अवस्थालाई क्रोनिक ब्रोन्क्राइटिस स्टेज भनिन्छ । बढी मात्रामा धुम्रपान गर्ने, दाउरा गुइँठा प्रयोग गर्ने, धुलो तथा धुँवा र प्रदुषणमा काम गर्नेहरूलाई दम हुने सम्भावना अत्यधिक हुन्छ ।
बाल्यवस्थामा धेरै पटक इन्फेक्सन भएर तारन्तार निमोनिया हुनेहरूलाई पछि गएर सीओपीडीको जोखिम भएकाले बाल रोग विशेषज्ञबाट बालबालिकाहरूको उपचार गर्नुपर्ने डा. विस्टको सल्लाह छ । बालबालिकामा हुने दमलाई आस्थ्मा भनिन्छ । यो चुरोटसँग सम्बन्धित हुँदैन । सामान्य अवस्थामा भाइरल इन्फेक्सनहरूको कारणले गर्दा दमजस्तै लक्षण देखा पर्न सक्छ । बालबालिकामा हुने एलर्जीका कारणले ब्रोन्केल आस्थ्मा हुन्छ । ‘उपचार गरिसकेपछि पुन: केही समयपछि तारन्तार दोहोरिने भयो भने दम भयो कि भन्न सकिन्छ । तारन्तार रुघाखोकी लाग्ने, छाती घ्यारघ्यार गर्ने, जिउमा डावरहरू आइरहने, चिलाइरहने, दागहरू आउने, केही कुराहरूको एलर्जी हुने लक्षण देखिए त्यसलाई एलर्जिक आस्थमा भनिन्छ । यस्तो लक्षण देखिने वित्तिकै सीओपीडीको जाँच गर्नुपर्छ,’ उनले भने ।
वाल्यवस्था देखिने सीओपीडी उपचार पछि निको पार्न सकिन्छ । तर, ४० वर्ष माथि पुगेपछि देखिने सीओपीडीहरू निको नहुन सक्छ । पहिला दम भएको होकी होइन खुट्याएर मात्र उपचार थाल्नु पर्दछ । सामान्य अवस्थामै दम भयो भन्दैमा चिकित्सकको सल्लाह विना जथाभावी औषधिहरू खान हुँदैन । अत्यधिक धुम्रपान गर्ने, दाउरा गुईँठाहरू प्रयोग गर्ने, धुलो, धुँवालगायत प्रदुषणमा काम गर्नेहरूलाई बढी मात्रामा सीओपीडी हुनसक्छ । तारन्तार स्वास बढ्ने, रुघा खोकी लाग्ने, उकालो हिँड्न नसक्ने, सामान्य काम पनि गर्न नसक्ने भयो भने दमको शङ्का गर्न सकिन्छ ।
मुटुको कारण हुन सक्छ दम
पल्मोलोजिस्ट डा. विस्टका अनुसार मुटुको कारणले पनि दम हुन सक्छ । दमका रोगीहरूलाई हर्ट अट्याक भएर मृत्यु समेत हुने जोखिम रहन्छ । बाल्यकालमा पटक–पटक निमोनिया भएर छाती खराब भएका, टीबी भएकालाई दम हुन सक्छ । वंशाणुगत रूपमा पनि दम हुने सम्भावना छ तर, नेपालका त्यसको मात्रा एकदमै न्यून रहेको छ । ‘सामान्यता एक्स–रे, इसीजीहरू गरेर अरु रोगहरू छ छैन पहिचान गरेपछि पीएफटी (पल्मोनरी फङ्सन टेस्ट) गरेपछि मात्र दम हो होइन पत्ता लाग्छ । नेपाल मेडिकल कलेजमा पिएफटी सेवा उपलब्ध छ,’ डा. विस्ट भन्छन् ।
दम निको हुँदैन तर, नियन्त्रण गर्न सकिन्छ
दमका रोगीहरूलाई तान्ने औषधि रोटाक्याप हुन्छ । मिटरडोज इन्हेलर हुन्छ । यस्ता औषधिले दम रोगलाई नियन्त्रण गर्छ तर, निको भने हुँदैन । धुम्रपान छोड्नुपर्छ, धुँवाधुलोबाट टाढा बस्नुपर्छ । यसो गर्दा बिरामीको आयु बढ्ने र दमको चाप कम गर्न सकिन्छ । पर्याप्त मात्रामा पोषिलो खानेकुरा खानुपर्छ । जाडो मौसम सुरू हुनुअगाडि निमोनिया हुन नदिन भ्याक्सिनहरू लगाउनुपर्छ ।
जथाभावी अक्सिजन नलगाउँ
प्राय: दमका पुराना रोगीहरूलाई अक्सिजन लगाउनु पर्छ । तर, चिकित्सकको सल्लाहबिना जथाभावी अक्सिजन लगाउन नहुने डा. विष्टको सुझाव छ । शरीरमा अक्सिजनको मात्रा कति छ जाँच्नुपर्छ । उनी भन्छन्, ‘हाम्रो शरीरमा अक्सिजनको मात्रा ९६/९८ स्याचुरेशन हुन्छ । तर, दम भएकाहरूमा फोक्सो नष्ट हुँदै जाँदा अक्सिजन भित्र गए पनि फोक्सोबाट रक्तनलीमा राम्ररी अक्सिजन नजाँदा अक्सिजनको मात्र कम हुन्छ । ८८ स्याचुरेशन भन्दा कम अक्सिजन देखिए अक्सिजन लगाउनुपर्छ ।’
त्यस्तै, उनले मुटुको रक्तनलीमा प्रेसर बढेको, मुटुको दाहिने भाग सुन्निएकाहरूलाई अक्सिजनको मात्र ८८ देखि ९२ भए पनि अक्सिजन लगाउनुपर्ने बताए । कहिलेकाहीँ भाइरल इन्फेक्सनका कारण फोक्सोमा पानी जमेको हुन्छ । रक्तनलीमा रगतका टुक्रा जम्ने, फोक्सो फुट्ने जोखिम समेत हुन्छ । कहिलेकाहीँ कार्वनडाइअक्साइड बढ्ने, अक्सिजन घट्ने अवस्था पनि हुन्छ । त्यस्ता बिरामीलाई बाइप्याक लगाएर बिरामीलाई भेन्टिलेटरसम्म पुर्याउनबाट रोक्न सकिन्छ ।
नेपाल मेडिकल कलेजमा यी सबै सेवाहरू उपलब्ध छन् । ‘भेन्टिलेटरमा पुगेका बिरामीहरूलाई पनि हामीले उपचार गरी बचाएका छौँ । भेन्टिलेटरमा पुगेका बिरामीहरूलाई बचाउन सकिँदैन भन्ने भ्रम हटाउन आवश्यक छ,’ डा. विष्ट भन्छन् । त्यसो त, नेपाल मेडिकल कलेजमा दमको विरामीहरूको लागि हप्ताको चार वटा ओपीडी हुन्छ । सीओपीडी हो होइन पत्ता लगाउन स्पाइरोमेट्री उपलब्ध छ । त्यसबाट फोक्सोको अवस्था कस्तो छ पत्ता लगाउन सकिन्छ । इमरजेन्सीमै कार्वनडाइअक्साइड बढी भएर आएका बिरामीहरूलाई वाइप्याक दिएर उपचार थाली उनीहरूलाई भेन्टिलेटर सम्म पुग्नबाट रोक्ने गरिन्छ ।
FACEBOOK COMMENTS