काठमाडौं । इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष एवम् लोक तथा दोहोरीमा आधारित अत्यन्तै लोकप्रिय टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक कृष्ण प्रसाद कँडेलमाथि उनका आफ्नै कलाकार र कर्मचारीहरूले यौन दुर्व्यवहार र श्रमशोषण गरेकोलगायत विभिन्न आरोप लगाएका छन् ।
कलाकार शर्मिला श्रेष्ठ, खगेन्द्र विश्वकर्मा, पूर्ण प्रसाद कँडेल, लक्ष्मीप्रसाद घिमिरे लगायतले फेसबुक लाइभ र पत्रकार सम्मेलन गरेरै सञ्चालक कँडेलमाथि विभिन्न आरोप लगाएका हुन् । आरोप लगाउनेमध्ये पूर्ण प्रसाद कँडेल कृष्णका काका र लक्ष्मीप्रसाद घिमिरे नातेदार समेत भएको पत्रकार सम्मेलनमा खुलाइएको छ ।
घटना सार्वजनिक भएलगत्तै कृष्ण कँडेलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफूले कसैलाई दुर्व्यवहार र शोषण नगरेको स्पष्ट गरेका छन् । स्पष्टीकरणसँगै उनले एकतर्फी समाचार लेख्ने सञ्चारमाध्यम र पत्रकारहरूविरुद्ध कानुनी उपचारमा जाने चेतावनी समेत दिएका छन् । ‘मैले कसैको पनि श्रम तथा सम्मानमा चोट तथा शोषण गर्ने कार्य गरेको छैन,’ उनले स्पष्टीकरण दिँदै लेखेका छन्, ‘झुटा कुरा बोलेको विषयमा कानुनले समेत हेर्छ भन्ने विश्वास राखी म तथा इन्द्रेणीमाथि गरेका अफवाह, कपोकल्पित तथा भ्रमित समाचारहरुको विश्वास नगरिदिनुहुन इन्द्रेणीका सम्पूर्ण दर्शक श्रोताहरुलाई हार्दिक अपिल गर्दछु ।’
यस्तो छ, कृष्ण कँडेलको स्पष्टीकरण–
सम्पूर्णमा इन्द्रेणीका भगवानरुपी दर्शक आमाबुबा दिदीबहिनी दाजुभाईहरुमा म कृष्ण कँडेलको नमस्कार !!
नेपालको लोक संस्कृतिको जगेर्ना र संरक्षणका लागि इन्द्रेणी सांस्कृतिक विकास केन्द्रको जन्म गर्दाको दु:ख, पीडा र संघर्ष सम्झिँदा आज पनि मेरो मन भक्कानिन्छ । देशका कुना कन्दरादेखि दूरदराजसम्मको प्रतिभा र श्रष्टाहरुलाई स्थान दिई प्रतिभा प्रस्फुटन गर्ने काम गरेँ, गरिब दु:खी र असाय–रोगी तथा अपाङ्गको संरक्षणमा म जीवन्त लाग्दै आएँ । बाल कलाकारलाई स्थान दिनेदेखि लिएर मृत्युको मुखमा पुगेका बिरामीहरुलाई गरेको सहयोग र योगदान देखेर देश विदेशका आमाबुबा दाजुभाइ दिदीबहिनीहरुले गरेको सहयोग जस्ताको तस्तै पुर्याउने पुलको काम गरेँ । दिनरात, झरी, बादल, कोरोना तथा दैविक प्रकोप केहीको परवाह नगरिकन अहोरात्र जीवन समर्पण गरेँ ।
आज यस सस्थाका सबै कर्मचारी तथा कलाकारलाई समान व्यवहारको काम गर्दा गर्दै पनि केही कलाकार तथा कर्मचारीहरुले यस संस्था छाडी आज म तथा मैले सञ्चालन गर्दै आएको ‘इन्द्रेणी’ कार्यक्रमलाई बदनाम गराउन र सिङ्गो संस्थालाई नै धरासयी बनाउन काल्पनिक र बनावटी कुरा राखी अन्तरर्वार्ता तथा लाइभमा बसेको र पत्रकार सम्मेलन गरेको विषयले म साह्रै दु:खीत छु । मैले कसैको पनि श्रम तथा सम्मानमा चोट तथा शोषण गर्ने कार्य गरेको छैन । झुटा कुरा बोलेको विषयमा कानुनले समेत हेर्छ भन्ने विश्वास राखी म तथा इन्द्रेणीमाथि गरेका अफवाह, कपोकल्पित तथा भ्रमित समाचारहरुको विश्वास नगरिदिनुहुन इन्द्रेणीका सम्पूर्ण दर्शक श्रोताहरुलाई हार्दिक अपिल गर्दछु ।
साथै, इन्द्रेणी के हो ? कसरी चलेको छ भन्ने विषय हाल पनि यस सस्थामा ३० भन्दा बढी कलाकार तथा कर्मचारी आबद्ध रहेको हुदा निजहरुसँग पनि प्रत्यक्ष बुझ्दा स्पस्ट हुने हुँदा झुटा भ्रमपूर्ण अभिव्यक्तिलाई सञ्चारमाध्यमहरुले एकतर्फी सम्प्रेषण नगरिदिनुहुन अनुरोध गर्दछु । अन्यथा म विरुद्ध लागेको झुटो आरोपहरु प्रकाशित गर्ने सञ्चारमाध्यम तथा झुटा अफबाह फैलाउने व्यक्ति जो कोहीविरुद्ध कानुनी उपचारमा जान बाध्य हुने छु ।
किन रिसाए पाँच जना कर्मचारी ?
आफूहरूलाई झुक्याएर जागिरबाट निकालेको, जागिरबाट निकाल्ने प्रपञ्चस्वरुप कुटपिट र हातपात समेत रहेको उनीहरूले बताएका छन् । रुष्टमध्येका एक कँडेलका सालो समेत रहेका लक्ष्मी प्रसाद घिमिरेले पत्रकार सम्मेलनमा भनेका छन्, ‘कृष्ण कँडेलले राणाको जस्तो स्वभाव देखाउनुहुन्थ्यो । गत माघ ५ र ६ गते एउटा मिटिङ भनेर सबैलाई बोलाइयो । हामीलाई सीसी क्यामरा नभएको कोठामा राखियो । ८–१० जना डन पाराका मान्छेहरू राखेर दाइ पूर्ण कँडेल र मप्रति हातपात गरियो । उहाँ (कृष्ण कँडेल) मेरो भिनाजु हो । कुशल कँडेल मेरो भाञ्जा हो । भाञ्जा र भिनाजुलाई लात्तै लात्तले हान्यो भनेर उहाँकी श्रीमती, मेरो दिदी प्रतिमा कँडेलले गाउँभरि प्रचार गर्नुभएको छ ।’
बरु आफूमाथि कुटपिट उनीहरूले कुटपिट भएको र कुटपिटबाट आफ्को हातमा गाँठा परेको उनको भनाइ थियो । हातको गाँठा देखाउँदै उनले भने, ‘हेर्नुस् मेरो हातमा गाँठा पनि छन् ।’ यस्तै, आफूहरूलाई बाध्यतामा पारेर हस्ताक्षर गर्न लगाइएको पूर्ण कँडेलले बताए । आफूमाथि गुण्डा लगाएर हातपात पनि गरिएको भन्दै उनले गालाको खत देखाएका थिए ।
यौन दुर्व्यवहारको आरोप लगाउने कलाकार शर्मिलाको बयान यस्तो छ–
म विगत ५–७ वर्षदेखि इन्द्रेणीमा थिएँ । दर्शकहरूले मलाई नियमित देखिराख्नुभएको थियो । तर, पुसदेखि म इन्द्रेणीमा गएकी छैन । कार्यक्रमहरू रेकर्ड भइरहे पनि हामीलाई बोलाइएको छैन । एक महिना प्रतीक्षा गर्दा पनि कुनै रेस्पोन्स नभएपछि लाइभ आउन बाध्य भएका हौं । धेरै दर्शकहरूले कार्यक्रमका बारेमा सोधिरहनु हुन्छ । म विभिन्न बहाना गरेर पन्छिन्छु ।
आज सरस्वती पूजाको दिन हो । म सरस्वती माताको कसम खाएर भन्छु कि कुनै झूटो कुरा बोल्दिनँ । मेरी आमाले टिभीमा कृष्ण कँडेललाई देख्दा ढोग्नुहुन्छ । मेरो बुवाले पनि भगवान् मान्नुहुन्छ । त्यसैले मैले घरमा भन्न सकेको छैन । मलाई थाहा छ, दर्शकबाट पनि गालीको वर्षा हुन्छ होला । जुन थालमा खायो त्यसैमा थुकेको आरोप लाग्छ होला । तर, सबैले भगवान् मानेको व्यक्तिलाई मैले खप्न सकिनँ । औषधि खाएर निदाउनुपर्ने अवस्था आएको छ ।
टीका सानुलाई बिदा गर्ने बेलामा उहाँले भन्नुभएको थियो कि, एकजनालाई झम्टिन आउने बाघले तपाईंहरूलाई पनि भोलि टोक्न सक्छ । यस्तै नै भएको छ । हामीलाई किन बोलाइएन त भनेर अफिसमा जाँदा मेरा कलाकार साथीहरू मसित बोलेनन् । म जाँदा दनादन कार्यक्रम सुटिङ भइरहेको थियो । म स्टुडियोभित्र छिरिनँ । अफिसका स्टाफहरूसँग राम्रो हाँसिखुशी कुरा गरेँ । आफ्नो चोट लुकाएर आएँ । म अब ढुंगाको भगवान्लाई विश्वास गर्दिनँ । इन्द्रेणीमा काम गर्दा नै मेरो स्वर, शरीर सबै सकियो । तँलाई उपचार गर्नुपर्छ कि भनेर कहिल्यै सोधिएन । लास्टमा परेको बोलामा मात्र बोलाउने र तलबमा नराख्ने भनेर हटाइयो । मानसिक टर्चर दिइयो ।
एक वर्ष अगाडि पनि यस्तै व्यवहार भएपछि म १५ दिनसम्म इन्द्रेणी नगई बसेकी थिएँ । त्यो थाहा पाएपछि मेरो आमाले भगवानको थलो छोडेर हिँड्ने ? तैंले के गरेर खान्छेस् भनेर मलाई गाली गर्नुभयो । घरबाट टर्चर भएपछि म आफैं गएँ । क्यामरा अन भएपछि मुसुक्क हाँसेर नाच्थेँ । तर, भित्र पीडा अर्कै थियो । संस्थाको इज्जत जान्छ भनेर हामीले बाहिर बोलेनौं । आखिर उहाँले नै हाम्रो रोजिरोटी टारिदिनुभएको थियो । म मेरी आमासित क्षमा माग्छु, तपाईंले भगवान् ठानेको मान्छेलाई मैले खप्न सकिनँ । उहाँको प्यारी हुन सकिनँ ।
FACEBOOK COMMENTS