वि.स. २०१६ चैत २ गते ललितपुरमा जन्मिएका प्रदीप कुमार श्रेष्ठ उद्योग र व्यापारसँग सम्बन्धित पञ्चकन्या ग्रुपको प्रबन्ध निर्देशक छन् । एमबीएसम्मको अध्ययन गरेका प्रसिद्ध व्यावसायिक व्यक्तित्व श्रेष्ठ साउथ अफ्रिकाको अवैतनिक वाणिज्य दूत, एशिया प्यासिफिक चेम्बर अफ कमर्श (सीएसीसीआई) का उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका सल्लाहकार पनि छन् । यस्तै, उनी बुटवल पावर र साङ्ग्रीला इनर्जी लिमिटेडको निर्देशक, कावेली पावर र उर्बन पेन्टागनका अध्यक्ष तथा शिभम् डेभलपर्सका निर्देशक समेत हुन् ।
यसअघि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष बने श्रेष्ठलाई अहिलेसम्म पनि कान्छो उमेरको अध्यक्ष भनेर चिनिन्छ । उनले रोटरी क्लब र नेपाल गल्फ एसोसिएशनको अध्यक्ष तथा नेपाल राष्ट्र बैंकमा बोर्ड सदस्य भएर काम गरिसकेका छन् । साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका व्यावसायिक, सामाजिक र आर्थिक संघसंस्थाहरूलाई नेतृत्वदायी भूमिका प्रदान गरिसकेका श्रेष्ठले गोरखा दक्षिणबाहु, वीरेन्द्र ऐश्वर्या सेवा पदक, नेपाल सम्मान–२०५९ जस्ता पदक प्राप्त गरेका छन् ।
उनले अमेरिकी बायोग्राफी इन्स्टिच्युटबाट म्यान अफ द इयर–२०२३ प्राप्त गरेका छन् भने सन् २००३ मा बेस्ट अन्टरप्रेनर अवार्ड पनि पाएका थिए । उनको अथक र दूरदर्शी सोचले पञ्चकन्या ग्रुपको उन्नयनमा महत्वपूर्ण योगदान पुग्दै आएको उनले जुन जिम्मेवारी बहन गरे त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । उनै प्रदीप कुमार श्रेष्ठसँग कर्पोरेट खबरका कार्यकारी सम्पादक ज्योति जीसीले वर्तमान आर्थिक स्थिति र पञ्चकन्या ग्रुपसँग सम्बन्धित रहेर विशेष कुराकानी गरेका छन् । प्रस्तुत छ, प्रबन्ध निर्देशक श्रेष्ठसँगको कुराकानीको सम्पादित अंश–
खासगरी निर्माण सामग्री उत्पादन र बिक्रीवितरणको क्षेत्रमा ‘पञ्चकन्या ग्रुप’को नाम परिचित छ । यो ग्रुपभित्र कुन–कुन उद्योगहरू समावेश छन् र के–कस्ता सामग्री उत्पादन भइरहेको छ ?
विशेषतः हामी निर्माण सामग्रीमा केन्द्रित छौँ । त्यसमध्येमा हाम्रो फ्ल्यागशीप कम्पनीका रूपमा पञ्चकन्या स्टिल हो । जसले डण्डीहरू निर्माण गर्दै आएको छ । पाइपहरू उत्पादनका लागि हामीले पञ्चकन्या प्लाष्टिक भनेर उद्योग सञ्चालन गरेका छौँ । यसअन्तर्गत पीभीसी, एचडीपीई, सीपीभीसी, पीपीआर, यूपीभीसी कन्डक्ट पाइप र फिटिङ्सहरूलगायत छन् । यसैगरी, स्टिलका वायर रडहरू पनि हामी उत्पादन गर्छौँ । यस्तै, अलकत्रा उत्पादनका लागि नेपाल बिटुमिन एण्ड ब्यारल उद्योग छ भने स्टेनलेस वाटर ट्याङ्क, रेडिमेड कङ्क्रिट जस्तैः पीभीसी प्रोफाइलहरू छन् । यसका अलावा हामीले चामल र तेलको पनि थियो । अहिले बन्द छ । समग्रमा भन्दा पञ्चकन्या उद्योग समूहभित्र डाइभर्स उद्योगहरू पर्दछन् ।
उत्पादनसँगै उत्पादित सामग्रीको बिक्री र बजारको अवस्था महत्वपूर्ण हुन्छ । पञ्चकन्याका उत्पादनहरूको बिक्री र बजारमा उपस्थिति कस्तो छ ?
अहिलेको अवस्था भन्नुहुन्छ भने नाजुक छ । हाम्रो मात्र नभइ अरु उद्योगहरू र समग्र नेपालकै अवस्था समस्याग्रस्त छ । संसारमै पनि आर्थिक अवस्था खस्किएको छ । पञ्चकन्याले नेपाली बजारमा एउटा ब्राण्ड स्थापित गरिसकेको भएर हाम्रा उत्पादनहरू बिक्री भइरहेका छन् । तर, गएको दुई वर्षको तुलनामा व्यापार ५०% मा झरिसकेको छ । अवस्था खराब भए पनि उद्योग चलाउनैपर्ने बाध्यतामा हामी छौँ र चलाइरहेका छौँ । किनभने हाम्रो उद्योगमा हजारौँले रोजगारी गरिरहनुभएको छ । उहाँहरूको रोजगारी नटुटोस् भनेर पनि हामी उद्योग चलाउन बाध्य छौँ र क्षमता घटाएर भए पनि उद्योग सञ्चालन गरिरहेका छौँ । त्यसकारण उहाँहरू (श्रमिक)को रोजीरोटीको सुनिश्चितता दिलाइरहेका छौँ ।
पछिल्लो समय मुलुकमा आर्थिक सङ्कट बढ्दो छ । जसका कारण निर्माणको क्षेत्र धेरै प्रभावित भएको पाइन्छन् । यसबाट उद्योगहरू कत्तिको प्रभावित छन् ?
अहिले नेपालमा मात्र होइन मलाइ लाग्छ संसारका अधिकांश देशमा आर्थिक मन्दी छ । किनभने युक्रेन–रसिया र इजरायल–प्यालेस्टाइन द्वन्द्व चलिरहेको छ । यसले हामीलाई मात्र होइन संसारका धेरै देशमा प्रभाव जमाएको छ । यस्तै कोभिड–१९ लगायत अन्य विभिन्न अनपेक्षित समस्याहरूका कारण थुप्रै देशहरूमा समस्या निम्तिएको छ । यसबाट हाम्रो देश पनि अछुतो रहन सकेको छैन र यहाँको अर्थतन्त्र अहिले समस्यामा छ । अर्थतन्त्रमा समस्या देखिनुअघि नै उद्योगहरूमा यसको प्रभाव परिसकेको हुन्छ ।
यो विषम परिस्थितिमा श्रमिकहरूलाई टिकाइराख्न र उहाँहरूको रोजीरोटी सुरक्षित गर्ने कार्यलाई कसरी व्यवस्थित गरिरहनुभएको छ ?
नेपालका अधिकांश उद्योगहरू अटोमेसन भन्दा पनि लेवर इन्टेन्सिभ छन् । तर अहिले क्रमशः अटोमेसनतिर लगिरहेका छौँ । कोही पनि श्रमिक हाम्रो उद्योगसँग जोडिएपछि उनीहरूको रोजीरोटी र परिवारको कुरा भए पनि उनीहरूलाई हामीले सकेसक्क एभ्जर्ब गर्ने प्रयास हुन्छ । तर, आफ्नो काबुभन्दा बाहिरको स्थिति आएको खण्डमा उनीहरूलाई हामीले ले–अफ अर्थात् पाउनुपर्ने आधारभूत कुरा दिएर छुट्टी गरिदिन्छौँ र कतिपयलाई १५ दिन मात्रै काम लगाउने गरिएको छ । किनभने २४ घण्टा चलिरहेको कुनै पनि उद्योग ५०% मा झर्यो भने त त्यो उद्योगले लेवरको लोड धान्न सक्दैन । त्यसमा पनि पर्मानेन्ट (स्थायी) लेवरहरू हुन्छन् उनीहरूलाई वेजेजमा राख्छौँ भने डेली वर्करहरूलाई अहिलेलाई नआउनु भन्छौँ ।
यद्यपि, पञ्चकन्या ग्रुपका सबै उद्योगहरू अहिलेको अवस्थासम्म चलिरहेकै छन् । जसका कारण त्यो समस्या भोग्न परिरहेको छैन । तर, अरु कतिपय उद्योगहरू त बन्द नै भइसकेका छन् । त्यस्तो स्थितिमा वर्करहरू जोगाउन सकिने अवस्था रहँदैन । खुला बजार र सीमाना तथा बैंकको ब्याजदर बढिरहँदा खासगरी यस्तो समस्या उत्पन्न हुने गरेको छ । यस्ता धेरै नै समस्या र चुनौतीका बावजुद नेपाली उद्योगहरू सञ्चालित छन् ।
पछिल्लो समय मुलुकको विद्यमान आर्थिक सङ्कट सुधारको बाटोमा जान थाल्यो भनेर सरकारी अभिव्यक्तिहरू आउन थालेका छन् । तपाइँहरू त अत्यन्तै नजिकबाट समस्या भोगिरहनुभएको छ । साँच्चै सुधार हुन थालेको हो र ?
सरकारमा रहनुभएकाहरूले अवस्था ठिक छ र ठिक हुँदैछ भन्नु स्वाभाविक कुरा हो । किनभने उहाँहरूले नेपालको आर्थिक अवस्था दयनीय छ भन्दा आम सर्वसाधारणमा अत्यासको स्थिति सृजना हुन सक्छ । त्यसकारण पनि उहाँहरूले त्यस्तो अभिव्यक्ति दिइरहनुभएको होला । यद्यपि, वास्तविक रूपमा नेपालको अर्थतन्त्र समस्यामै रहेको देखिन्छ । हामीले हेर्दा अहिले राजस्व सङ्कलन ५० प्रतिशत भन्दा तल झर्न थालिसकेको छ । यस्तो हुनुमा उद्योग–व्यवसाय सञ्चालनमा समस्या छ भन्ने स्पष्ट सङ्केत पनि हो ।
अर्को कुरा, हामी त कन्स्ट्रक्शन सेक्टरमा संलग्न रहेको उद्योग हौँ । तर, सरकारले भौतिक संरचनाहरू निर्माण भएपछि पनि कन्ट्याक्टरहरूको भुक्तानी दिन सकिरहेको छैन । एउटा भुक्तानी नपाएपछि अर्को संरचना बनाउने अवस्था उनीहरूमा रहँदैन । त्यसको सिधा असर हाम्रो उद्योगमा परिरहेको छ, किनभने हाम्रो सामान बिक्री हुँदैन । अहिले पनि निर्माण व्यवसायीहरूले ५० करोड रूपैयाँ हाराहारीमा भुक्तानी पाएका छैनन् । यो सबै रकम रिलिज हुने हो भने नेपालको अर्थतन्त्र सहज रूपमा चलायमान हुन सक्थ्यो र हाम्रो उद्योग पनि चल्थ्यो । सामान किन्ने मानिस नै नभएपछि उद्योगले वस्तु उत्पादन गरेर मात्रै हुँदैन । पछिल्लो समय सुधारका केही सङ्केत त देखिएको छ, तर हामी धेरै तल पुगिसकेकाले रिकभर हुन समय लाग्ने मैले देखेको छु ।
बजारमा पकड जमाउँदै आफ्ना उत्पादनले बजार पाउन गुणस्तरीय पनि हुनुप¥यो । पञ्चकन्याका उत्पादनहरू कत्तिको गुणस्तर छन् र गुणस्तरका आधारहरू के–के हुन् ?
पञ्चकन्याले स्थापनाकालदेखि नै एउटा स्लोगन अघि सारेको छ, ‘सधैं एक कदम अगाडि अथवा अलवेज फस्र्ट, अलवेज अहेड ।’ यही मान्यता अनुसार हामी गुणस्तरमा कहिले पनि सम्झौता नगरी अघि बढिरहेका छौँ । त्यसकारण हाम्रा उपभोक्ताहरूले हाम्रा उत्पादनहरू रुचाइरहनुभएको छ ।
स्टिल इन्डष्ट्री देशको मेरुदण्ड हो । स्टिलको खपतका आधारमा देशको विकास के–कति र कसरी भइरहेको छ भन्ने कुरा थाहा पाउन सकिन्छ । तर, दुर्भाग्यपूर्ण कुरा के छ भने, गएको दुई वर्षदेखि हामी खराब अवस्थाबाट गुज्रिरहेका छौँ । यस्तो अवस्थामा सरकारले केही नयाँ कुरा ल्याउनुपर्नेमा सरकार नै उल्टो बाटोतर्फ हिँड्यो । खासगरी स्टिल इन्डष्ट्रीमा पहिला हामी प्राइम ‘र’मेटिरियलहरू इम्पोर्ट गरेर उत्पादन गरिरहेका थियौँ । अहिले पनि पञ्चकन्याले त्यसरी नै उत्पादन गरिरहेको छ । जसले गर्दा हाम्रा उत्पादनको मूल्य बजारमा अरुको भन्दा महङ्गो छ । बढी ट्याक्स तिर्दा उत्पादित वस्तुको मूल्य महङ्गो हुन गएको हो । हाम्रो इन्डष्ट्रीले करिब ८ रूपैयाँजति त ट्याक्स नै बढी तिर्नुपर्ने अवस्था छ । सरकारले जुन अन्याय गर्यो नि त्यो एकदमै खेदपूर्ण छ । एउटाले छुट पायो अर्कोले पाएन । यसले लेभल प्लेइङ फिल भएको छैन । जसबाट सरकारलाई अरबौँ रूपैयाँ राजस्व घाटा भइरहेको छ । यो नीति सरकारले किन लियो त्यो हामीले जान्न सकेका छैनौँ । यो वर्ष टिक्यौँ भने अर्को वर्ष केही सुधार होला भन्ने आशामा छौँ ।
पञ्चकन्या ग्रुपले आधा सताब्धी भन्दा धेरै समय निर्माण सामग्री उत्पादनको क्षेत्रमा बिताइसकेको छ । त्यो बेलादेखिको आजसम्मको अवस्था र आरोहअवरोहलाई कसरी सम्झनुहुन्छ ?
उद्योगमा संलग्न हुनु भनेको आफूलाई बन्धक बनाउनु हो । उद्योगीको नाताले इज्यत भए पनि दुःख धेरै छ । उद्योगको लामो समयका लागि प्रतिबद्धता हुन्छ, यो ट्रेडर्स जस्तो होइन । कुनै बेला यस्तो समय थियो जतिबेला उद्योग गर्नु होइन उद्योग सञ्चालनको लाइसेन्स लिनु नै महायुद्ध गर्नुपर्ने अवस्था थियो । आज भन्दा करिब ४० वर्ष अगाडि हामीकहाँ क्लोज इकोनोमी थियो । जसले गर्दा उद्योगका लाइसेन्सहरू लिमिटेड हुन्थे र पाउने मान्छे भाग्यमानी हुन्थे । त्यतिबेला भनसुनको पहुँच पुग्ने मान्छे भाग्यमानी सावित हुन्थे । तर, अहिले हामी खुला बजार अर्थतन्त्रमा आइसकेका छौँ लाइसेन्स पाउन समस्या छैन ।
तर, नेपालको पर्चेजिङ पावर, इकोनोमी र सरकारको भिजिनरी एप्रोचका कारण हामी सँगै स्वतन्त्र भएर आर्थिक गतिविधि सुरू गरेका जापान, कोरिया, थाइल्याण्डलगायत देशहरूको तुलनामा हामी कहाँ छौँ भन्ने प्रश्न धेरै चोटिलो छ । यद्यपि, अवस्था नाजुक भए पनि नेपालमा केही हुँदैन र छैन भन्ने पटक्कै होइन ।
पहिले र अहिलेको औद्योगिक उत्पादन अनि त्यसको बजारीकरणमा कत्तिको भिन्नता पाउनुहुन्छ ?
जब लाइसेन्स लिमिटेड थियो भने प्रोडक्शन पनि लिमिट नै थियो । जसका कारण प्रतिस्पर्धा पनि कम हुन्थ्यो । इम्पोर्टमा पनि रेस्टिक्सन थियो र ड्युटी हाइ हुन्थ्यो । तर, अहिले ड्युटी पनि लो छ । जसले जति वटा उद्योग गरे पनि छुट छ कसैले रोक्न सक्दैन । अहिले उद्योगहरू धराशयी छन्, यसको मुख्य कारण तथ्याङ्क राम्रो नभए हो । जस्तोः नेपालमा एक लाख टन वस्तुको आवश्यकता छ तर, दुई लाख टनको उत्पादन अनुमति छ । यसले डिमाण्ड र सप्लाइमा मिसम्याच गरेको छ । यो कुरा हामीले बुझेका छैनौँ । नेपालमा कसैले लगानी गरेर डुब्यो भने त्यो राष्ट्रको सम्पत्ति डुबेको फिलिङ्गस हुनुपर्यो । कोही पनि व्यक्तिसँग भएको धन राष्ट्रकै हो भनेर स्पष्ट हुनुपर्यो ।
आज नेपालमा कुन प्रडक्टका लागि कति उद्योग चाहिन्छ भन्ने कुराको तथ्याङ्क नै कसैसँग छैन । जस्तोः अहिले पनि सिमेन्ट र स्टिलमा माग भन्दा तीन गुण बढी उत्पादन क्षमताका उद्योग सञ्चालित छन् । यस्तै कारणले कार्पेट र पस्मिनाका उद्योगहरू बन्द भएका हुन् । निर्यातमा पनि अस्वस्थ खालको प्रतिस्पर्धाको परिणामा थियो त्यो ।
हाम्रा उद्योगमा उत्पादित वस्तु तथा सेवाको मूल्य किन अत्यधिक महङ्गो हुन्छ ?
कच्चा पदार्थको मूल्य महङ्गो हुनेवित्तिकै उत्पादित वस्तु तथा सेवाको मूल्य केही महङ्गो पर्न जान्छ, तर यो मात्र कारण होइन । हाम्रो ‘कष्ट अफ प्रडक्शन’ हाइ हुँदाखेरि पनि मूल्य महङ्गो भइरहेको छ । जस्तैः एक जना व्यक्तिले एक दिनमा एउटा जुत्ता बनाउँछ भने एउटा फ्याक्ट्रीले दिनमै हजार वटा जुत्ता बनाउन सक्छ । व्यक्तिले बनाएको र फ्याक्ट्रीले बनाएको जुत्ता उस्तै भए पनि फ्याक्ट्रीबाट निर्मित जुत्ताको लागत कम हुन्छ र बजारमा सस्तोमा पनि जान्छ ।
नेपालमा ‘कष्ट अफ प्रडक्शन’ हाइ हुनाका कारणहरू पर्याप्त बाटोघाटो नहुनु, बैंकको व्याज महङ्गो हुनु, देश भूपरिवेष्ठित र धेरै कच्चा पदार्थ आयात गरिनु, ट्रान्सपोर्टेशन शुल्क उच्च हुनु, इलेक्ट्रीसिटी सहज उपलब्धता नहुनु, मौसमको समस्या, श्रमिकको समस्या, सरकारको अस्थिर नीतिलगायत हुन् । तर, यसो भन्दैमा केही गर्नै सकिदैन भन्ने पाटोबाट हामी अघि बढ्नु हुँदैन । आशावादी हुनुपर्छ ।
उद्योग सञ्चालनका लागि कच्चा पदार्थ आवश्यक हुन्छ । पञ्चकन्याका कुन उद्योगले कहाँ कहाँबाट कच्चा पदार्थ ल्याउने गरेको छ ?
नेपालमा सञ्चालित धेरैजसो उद्योगहरू कच्चा पदार्थ आयातको आधारमा चलेका छन् । लोकल रूपमा पाइने कच्चा पदार्थ भनेको सिमेन्टका लागि हो । अरु अधिकांश उद्योगले कच्चा पदार्थ आयात गरेरै वस्तुहरू उत्पादन गरिरहेका छन् । पञ्चकन्याका उद्योगहरूको कुरा गर्नुहुन्छ भने हामीले करिब १० वटा जति देशबाट कच्चा पदार्थ आयात गरिरहेका छौँ । जस्तोः भारत, चीन, ताइवान, मलेसिया, साउदी अरेविया, कुवेत, रसिया, कोरिया र जापानलगायत देशबाट कच्चा पदार्थ आयात गरिरहेका छौँ ।
साधारण परिवार र सामान्य व्यापारबाट सुरू भएको यात्राले अहिले प्रतिष्ठित उद्योगहरूको समूह ‘पञ्चकन्या ग्रुप’को उपमा पाएको छ । तपाइँहरूको परिवार व्यापारिक घरानाको रूपमा स्थापित भएको छ । अझै यसलाई अघि बढाउने योजनाहरू पनि बनाइरहनुभएकै होला । के–कस्ता छन् भावी योजनाहरू ?
अहिले हामी जेजस्तो र जुन अवस्थामा छौँ त्यसको सुरूवात मेरो बुबा प्रेमबहादुर श्रेष्ठले गर्नुभएको हो । अहिले पनि उहाँ हामीसँगै हुनुहुन्छ । उहाँले इलामको फिक्कलमा साधारण किराना पसल तथा आलु र अलैँचीको व्यापार गर्नुहुँदै सुरू गर्नुभएको व्यवसाय अहिले पञ्चकन्या ग्रुपको नामबाट कहलिएको छ ।
मेरो बुबा अहिले ९३ वर्ष पुगिसक्नुभयो । उहाँ साह्रै मेहनती र उन्नत सोच लिएर अघि बढ्ने व्यक्तित्व हुनुहुन्छ । इलाममा किराना, आलु र अलैँचीको व्यापार हुँदै हरेक वर्ष उहाँले केही न केही नयाँ व्यापार थप्दै लैजानुभयो । आफ्नो कार्यक्षेत्रमा सन्तुष्ट हुन नसक्नुभएका उहाँ झापा सर्नुभयो र त्यहाँ ठूलो राइस मिल सञ्चालन गर्नुभयो । त्यहाँ हामीले टिम्बरको काम पनि गरेका थियौँ । झापाबाट पनि बुबा भैरहवा सर्नुभयो । बारम्बार बुबा सरिरहनुको एउटै कारण थियो फरक ठाउँमा काम गर्दा नयाँ ऊर्जा आउँछ र त्यसको सम्मान पनि हुन्छ भनेर हो । उहाँ अहिले पनि भन्नुहुन्छ– ‘एकै ठाउँ बसेर मानिसले प्रगति गर्न सक्दैन, त्यसैले नामलाई इज्यत दिन र काममा ऊर्जा भर्न ठाउँ परिवर्तन गर्नुपर्छ ।’
पञ्चकन्या ग्रुपमा मेरो संलग्नता पनि करिब ४२ वर्ष पुगिसकेको छ । नेपाल उद्योग वाणिज्य संघ (एफएनसीसीआई) को अध्यक्ष भइसकेपछि म अझ सक्रिय भएर उद्योगको काममा लागेको हुँ । यो यात्रामा धेरै आरोहअवरोह भए पनि उपभोक्ताको हितका निम्ति हामीले कतै सम्झौता गरेका छैनौँ । यसैलाई निरन्तरता दिँदै उद्योगहरूलाई थप मजबुत र सुदृढ बनाएर उपभोक्तालाई सहज र सुलभता प्रदान गर्नु हाम्रो मुख्य लक्ष्य र उद्देश्य हो ।
हामीसँग अर्को खुसीको कुरा पनि छ । हाम्रो आउँदो पुस्ताले काम खोज्दै विदेश जानुपर्ने छैन । तेस्रो पुस्ता अर्थात् मेरो छोराहरूले पनि यही उद्योगभित्र विभिन्न भूमिकामा काम थालिसकेका छन् । हाम्रो परिवारका सदस्यहरू विदेशमा जानु परेको छैन । मेरा कोही आफन्तहरू र उहाँहरूका छोराछोरी जानुभएको भए पनि मेरो ‘फर्स्ट ब्लड रिलेशन’ नेपालभित्रै छन् ।
यति लामो इतिहास र समस्याहरू झेल्दै अनवरत रूपमा अघि बढिरहेको पञ्चकन्यामा अहिले कति मानिसले रोजगारी पाएका छन् ?
हामीले अहिले करिब दुई हजार जना जतिलाई प्रत्यक्ष रोजगारी दिएका छौँ । हाम्रो उद्योगले ट्याक्सलगायत विभिन्न शीर्षकमार्फत राज्यलाई अरबौँ रूपैयाँ बुझाइसकेको छ । पञ्चकन्याले ट्याक्स तिरेन भन्ने बाटो हामीले बनाएका छैनौँ ।
कुनै पनि उद्योगको विकास र वस्तु उत्पादनमा पञ्चकन्या अगाडि रहेको देखिन्छ । अब पनि केही नयाँ उद्योगको योजना बनाउनुभएको छ ?
उद्योग गर्दा मानिस आत्तिन र मात्तिन हुँदैन । गेम खेलेपछि रिस्क हुन्छ । कुनै पनि काम गर्दा त्यसको पृष्ठभूमी र फिजिबिलिटीबारे अध्ययन गर्नुपर्छ । तर, नेपालमा त्यस्तो अभ्यास निक्कै कम छ, लहलहैमा लाग्ने चलन छ । मेरो बानी र पञ्चकन्याको कुरा गर्नुहुन्छ भने हामी ‘सधैं एक कदम अगाडि’ भन्ने स्लोगनमा छौँ । त्यसकारण पनि हामीले सञ्चालन गरेका डण्डीबाहेकका उद्योगहरू नेपालमा पहिलो नै हुन् ।
उद्योग होस् वा प्रडक्ट होस् हामीले नै सुरू गर्ने गरेका छौँ । त्यसकारण पञ्चकन्यालाई म पायोनियर उद्योगका रूपमा पनि चित्रण गर्न चाहान्छु । यही कारणले हामीप्रति सबैको विश्वास छ । फेरि पनि पञ्चकन्याले के गर्दैछ भन्ने आम मानिसमा अपेक्षा हुनु स्वाभाविक हो । तर, देशको परिस्थितिले गर्दा अहिले ठूलो लगानीमा जानु उपयुक्त हुँदैन कि भन्ने पनि लागेको छ । यद्यपि, अब हाम्रो तेस्रो पुस्ता (छोराहरू) को आइडियालाई लिएर फरक खालको उद्योग सञ्चालन गर्ने तयारी र गृहकार्य भने भइरहेको छ । मलाई लाग्छ चाँडै नै यसबारे निर्णयमा पुग्नेछौँ र त्यो फेरि नेपालमा नयाँ नै हुने छ ।
हामीले डण्डीको उद्योग सुरू गर्दा अरु कसैले त्यसअघि नै सुरू गरिसक्नुभएको थियो । तर, डण्डीको प्रडक्टमा हामीले लिडिङ गरेका छौँ । जस्तोः टीएमटी बार हामीले सुरू गरेका हौँ । पाइपहरूमा पीभीसी, सीपीभीसी, टीपीआर, स्टेनलेस वाटर ट्याङ्क, आरएमसी रेडिमेड कङ्क्रिटलगायत हामीले नै सुरूवात गरेका हौँ । यो सवालमा सुरूवाती चुनौती हामीले नै झेलेका छौँ ।
तपाइँ त नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष पनि हुनुहुन्छ । यो अवसरमा पूर्वध्यक्षको हैसियतमा केही सल्लाह वा सुझाव दिनुहुन्छ कि ?
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा म अध्यक्ष भएको करिब २४ वर्ष बितिसकेको छ । महासंघ सबै उद्योगी तथा व्यवसायीहरूको छाता संगठन हो । जसले व्यावसायिक हकहितका साथै उनीहरूको सहजताका लागि सरकारसँग लविङ गर्ने गर्दछ । तर, पछिल्लो समय महासंघको आवाज सरकारले सुनिरहेको छैन । यस्तो हुनुमा उद्योगी व्यवसायीको अवाजमा सरकारले खेल्ने ठाउँ पाउनु हो । जस्तोः अहिले एफएनसीसीआईसहित व्यावसायिक रूपमा एपेक्स बडी भनेर नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ (सीएनआई), घरेलु तथा साना उद्योग महासंघलगायत संघ संगठनहरू अस्तित्वमा छन् ।
मलाई लाग्छ नेपालको परिवेशमा हाम्रो जस्तो उद्योगको साइज र अर्थतन्त्र भएको ठाउँमा यति धेरै एपेक्स बडीको आवश्यकता नपर्नुपर्ने हो । बिजनेश कमिटी धेरै हुँदा सरकारले हामीमाथि खेलिरहेको र हाम्रो आवाजलाई बेवास्ता गरेको हो कि भन्ने आभाष मलाई भइरहेको छ ।
तर, जे भयो वा जे बन्यो बनिसकेको कुरालाई भत्काउने वा बिगार्ने कुरा पनि आउँदैन । तर, सबै संस्थाले व्यक्तिगत कुरा छोडेर राष्ट्रिय आवश्यकतालाई हेरेर काम गर्नुपर्ने खाँचो मैले देखेको छु । नेतृत्वमा पुग्न पालो कुर्ने भन्दा पनि सक्षमलाई नेतृत्व दिएर उद्योगी व्यवसायीको हितमा काम गराउनुपर्ने बेला भएको छ । महासंघको नेतृत्व भनेको लिने ठाउँ होइन आफ्नो क्षमता देखाएर समय र परिस्थितिले खोजेको कुरा दिने ठाउँ हो । आफ्नो कार्यकालमा राम्रो छाप छोड्ने योजना लिएर त्यो पदमा जानुपर्छ ।
एफएनसीसीआईका अध्यक्षले सरकारका प्रधानमन्त्री वा अरु नेतृत्वहरूलाई भेट्नका लागि समय मिलाउन गाह्रो विषय हुँदैन । तर, अहिले त भेट पनि नदिने गरेको जस्तो अवस्था देखिन्छ । भेट दिइहाले पनि कुरा नसुन्ने प्रवृत्ति देखिन्छ । विगतमा यस्तो हुँदैनथ्यो । यसो हुनुमा कतै हाम्रै कमजोरी छ कि भन्ने पनि लाग्छ ।
नेपाललाई गरिब राष्ट्र भनेर चिन्ने गरिएको छ । तर, वास्तवमा नेपाल गरिब मुलुक हुँदै होइन । सुनको भाँडा बोकेर हामीले माग्नुपर्ने बाध्यता छ । यस्तो अवस्था कसरी सृजना भयो ? सरकारको पोलिसीले हो कि, भिजनको अभावले हो कि वा राजनीतिकरणले हो ? यस्ता प्रश्नको निरूपण गर्दै भावी पुस्ताका लागि सवल र सक्षम देश सुम्पिनु हामी उद्योगी व्यवसायीको पनि कर्तव्य हो । अन्यथा भावी पुस्ताले हामीलाई सराप्ने छन् । त्यसकारण कसैलाई दोष लगाउनु भन्दा पनि सबैले आ–आफ्नो कर्तव्य सम्झिएर हात अगाडि बढाएर काम गर्नुपर्छ । यसैमा सबैको भलाइ छ ।
यो पनि पढ्नुहोस्–
उद्योगी व्यवसायीको आवाज सरकारले किन सुन्दैन ? यस्तो छ पूर्वध्यक्ष प्रदीप श्रेष्ठको धारणा
FACEBOOK COMMENTS