![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय राजनीति २९ महिना निक्कै कष्टकर रहेको बताएका छन् ।
आज शनिबार गोदावरीमा नेकपा एमाले पहिलो राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले एमालेको दशौँ राष्ट्रिय महाधिवेशन यताका २९ महिना देश र र पार्टीको लागि अत्यन्तै चुनौतीपूण र कष्टकर रहेका बताएका हुन् ।
पार्टी विभाजन, पार्टीलाई सकारबाट हटाइने कुरा तथा एमाले विरुद्धको साझा गठबन्धन नेकपा एमालेका लागि निक्कै चुनौतीपूर्ण रहेको ओलीले स्पष्ट पार्दै उनले भने, ‘घेराबन्दी, भ्रम प्रचार, आक्रमणका माध्यमबाट नेकपा एमालेलाई समाप्त पर्ने षडयन्त्रलाई चिर्दै हामी आज तुलनात्मक रूपमा अनुकूल परिस्थितिमा आइपुगेका छौँ ।’
अहिलेको अवस्थालाई अत्यन्त जटिल र कठिन परिस्थितिलाई पार गरेर तुलनात्मक रूपमा अनुकूल स्थितिमा आइपुगेको मान्नु पर्ने ओलीले विश्लेषण गरे । यद्यपि, आज पनि पार्टी र देशका सामुन्ने चुनौती कायम रहेको ओलीको भनाइ छ ।
निर्णायक राष्ट्रिय शक्तिको रूपमा नेकपा एमालेलाई स्थापित गर्ने र त्यही निर्णायक शक्तिका माध्यमबाट देशमा शान्ति, स्थायित्व, शासन, राष्ट्रिय हित र स्वाभिमान कायमा गर्दै समृद्धि र समाजवादको आधार तयार गर्ने मुख्य अभिभारा नेकपा एमालेको सामु रहेको भन्दै अध्यक्ष ओलीले प्रतिनिधि परिषद् बैठकले महाधिवेशन यताका करिब साँढे दुई वर्षको वस्तुनिष्ठ समीक्षा गर्दै सो अभिभार पूरा गर्न आगामी दिनमा गर्नुपर्ने काम बारे आवश्यक निर्देश दिने ओलीले विश्वास व्यक्त गरे ।
पार्टीको दशौँ महाधिवेशन अराजकता र अवसरवाद माथिको संगठनात्मक विजयको महाधिवेशन भएको पनि उनले बताए । दशौँ महाधिवेशन संगठनात्मक अराजकताका विरुद्धको विजयको महाधिवेशन भएको उहाँले टिप्पणी गरे । विभाजनको मनोविज्ञान चिर्न, क्रान्तिका कार्यक्रम र कार्यदिशालाई अद्यावधिक गर्न, पार्टीलाई नयाँ ढङ्गले पुनर्गठन र अग्रगति दिन महाधिवेशन अत्यन्त सफल भएको अध्यक्ष ओलीले बताए ।
नेकपा एमालेले नेपालको कम्युनिष्ट आन्दोलनमा पहिलो पटक नीति र विधिको बारेमा मात्र छलफल गर्न विधान अधिवेशन आयोजना गरिएको स्मरण गर्दै उनले त्यसबाट पार्टी पङ्तिको मनोबललाई उच्च गराउने काम गरेको धारणा व्यक्त गरे । नीति र नेतृत्वको छलफल एकै पटक गर्दा नीति माथि छलफल नै नहुने अनुभवबाट पाठ सिकेर एमालले विधान महाधिवेशन गरेको ओलीले बताए । महाधिवेशनले जनताको बहुदलीय जनवादका आवश्यकता, महत्त्व र औचित्यलाई पुनपुष्टि गरेको उनको धारणा छ ।
अब कार्यक्रमको मुख्य जोड समाजवादको आधार तयार गर्नुमा रहेको एमालेको महाधिवेशनले निष्कर्ष निकालेको र त्यसलाई अर्को शब्दमा समृद्ध नेपाल सुखी नेपाली भन्न सकिने पनि ओलीले स्पष्ट गरे ।
एमाले मजबुत भएकोमा जनविरोधी शक्तिलाई छटपटी चलेको ओलीको भनाइ छ । एमाले विरुद्ध मिथ्या र भ्रामक सूचनाको आक्रमण र पार्टी एकतामा भाँजो हाल्ने प्रयास भइरहेकोप्रति उनले सचेत गराएका छन् । समाजमा बढेको निराशामा टेकेर दक्षिणपन्थी र लोकवादी मिठा कुरा गर्ने शक्तिले नागरिकलाई प्रयोग गर्न सक्ने उनको भनाइ छ ।
FACEBOOK COMMENTS