काठमाडौं, चैत ४ – लामो प्रतीक्षा र विभिन्न समस्याबाट अघि बढेको मेलम्ची खानेपानी आयोजनाको एक किलोमिटर सुरुङ मार्ग परीक्षण सोमबारबाट सुरु गरिएको छ । मेलम्चीको हेडवक्र्सबाट सो सुरुङ मार्गको परीक्षण कार्य गरिएको हो । आयोजनाको काम अन्तिम चरणमा पुगेकाले निर्माण गरिएका संरचनाको परीक्षण भइरहेको आयोजनाका कार्यकारी निर्देशक रितेश खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार सिनो हाइड्रोले आयोजनाको निर्माणको ठेक्का पाएपछि काममा गुणात्मक प्रगति भएको छ ।
मुहानमा बन्ने हेडवक्र्स फिनिसिङको काम भने वर्षात्पछि सम्पन्न गरिने भएको छ । मेलम्चीको पानी टनेलतर्फ फर्काउने मुख्य संरचनाको फिनिसिङको काम बाँकी रहे पनि कफरड्यामबाट वैकल्पिक डाइभर्सन गरी मेलम्चीको पानी पठाइने भएको छ । सिनो हाइड्रोले भेन्टिलेसन साफ्टहरू, पाइप जडान, स्काडा प्रविधि जडान लगायतका साना ठेक्काका काम पनि गरिरहेको छ । यी सबै काम मेलम्ची विकास समितिले अपेक्षा गरेभन्दा उत्साहजनक रूपमा अघि बढिरहेको खत्रीको भनाइ छ ।
मेलम्ची आयोजनाको निर्माणको जिम्मेवारी सिनो हाइड्रोले लिएपछि कामले गति लिएको र जिम्मा लिएका काममध्ये हेडवक्र्सको काम ४० प्रतिशत, टनेलको काम ७५ प्रतिशत, साना ठेक्काको सप्लाइको काम ७५ प्रतिशत, स्काडा प्रविधि जडानको सप्लाइको काम १०० प्रतिशत, गेटको कामः सप्लाइ १०० प्रतिशत, गेट जडान ५० प्रतिशत र भेन्टिलेसनको काम ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।
हेडवक्र्समा सातवटा गेट निर्माण कार्य र कफरड्याम निर्माण कार्य तीव्र भएको छ । मन्त्रालयले फागुन १ गते श्वेतपत्र जारी गरी आगामी असारसम्म मेलम्चीको पानी सुन्दरीजलमा ल्याइने जनाएको थियो ।
खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य उत्साहजनक रहेको बताउनुभएको छ । सोमबार मेलम्ची पुगेर आयोजनाको निरीक्षण गर्नुभएकी मन्त्री मगरले द्रुुत गतिमा काम भएकाले तोकिएको समयमा मेलम्ची काठमाडौँ आउनेमा कुनै शङ्का नभएको बताउनभुयो ।
सुरुङ मार्गको निरीक्षणपछि मन्त्री मगरले भन्नुभयो, लामो प्रतीक्षा, अन्योल र मिहिनेतपछि आयोजनाको निर्माण कार्य अब अन्तिम चरणमा पुगेको छ, अब कुनै कारणले आयोजना रोकिँदैन, तोकिएकै समयमा काठमाडौँवासीले मेलम्चीको पानी पिउन पाउनुहुन्छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS