काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सौन्दर्य क्षेत्रले महिलालाई आत्मनिर्भर बनाउन ठूलो भूमिका खेलेको बताएकी छिन् ।
रोज ब्युटी एकेडेमी र बिलक्षणल क्रियशनले आयोजना गरेको ‘यचु ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४’ सिजन ६ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले सौन्दर्य क्षेत्रले विशेषगरी महिलाहरूलाई रोजगारमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै अहिले हरेक क्षेत्रमा सौन्दर्य अनिवार्य आवश्यकता जस्तै भइसकेको बताएकी हुन् ।
‘सौन्दर्य क्षेत्रले रोजगारी सृजनामा ठूलो योगदान दिएको छ । यो क्षेत्रले पछिल्लो क्षेत्र उद्योगको रूप लिँदै गएको छ,’ मन्त्री चौधरीले भनिन्, ‘सौन्दर्य एउटा कला पनि हो । हामी सबैले यसको सम्मान गर्नुपर्छ । अहिलेको समयअनुसार सौन्दर्य क्षेत्र सबै क्षेत्रमा हुन आवश्यक छ ।’
पछिल्लो समय सौन्दर्य व्यवसायको माग बढ्दै पनि गएको भन्दै उनले यसले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताइन् । उनले महिलालाई सीप सिकेर आत्मनिर्भर बनाउन सबैले जोड दिनुपर्ने बताएकी छिन् । सबै महिलालाई आर्थिक रूपमा सबल बनाउन जीवन उपयोगी तालिम दिएर रोजगारी तथा आत्मनिर्भरताको बाटोमा जोड्नुपर्ने मन्त्री चौधरीको भनाइ छ ।
राजनीतिक क्षेत्रमा महिलाको सहभागिता वृद्धि भए पनि मूल नेतृत्वमा अझै पनि पुग्न नसकेको भन्दै उनले त्यसका निम्ति अझै मेहनत गर्नुपर्ने अवस्था रहेको बताइन् । महिलालाई सीप विकास गरी आर्थिक रूपमा सशक्तीकरण गराउने उद्देश्यले छोरी आत्मनिर्भर कार्यक्रम ल्याउने तयारीमा रहेको जानकारी दिएकी छिन् ।
FACEBOOK COMMENTS