प्रत्येक वर्ष जस्तै वैशाख शुक्ल नवमी तिथिका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जानकी नवमी पर्व शुक्रवार श्रद्धा भक्तिपूर्वक मनाइएको छ ।
त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपमा श्रीरामको जन्मपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ । सीता उत्पत्ति भएको यस दिनलाई सीता जयन्तीका रूपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । जगत जननी माता जानकी प्रकट भएको स्मरणमा जनकपुरधाममा भने जानकी नवमी धुमधामका साथ मनाइने गरिन्छ । एक सातादेखि यहाँका मन्दिरहरूमा विभिन्न धार्मिक अनुष्ठान जारी रहेपनि शुक्रवार वैशाख शुक्ल नवमीका दिन भने बेग्लै चहलपहल र रौनक देखिएको छ । मिथिलाका राजा राजर्षि जनकको राज्यमा खडेरी परेपछि किसानहरुको हौसला बढाउन र वर्षाका लागि इन्द्रदेवलाई आग्रह गर्न स्वयं खेतमा हलो जोतिरहेको अवस्थामा यसै दिन माता जानकी धर्तीबाट प्रकट भएको स्मरणमा जानकी नवमीलाई जानकी जन्मोत्सवको रुपमा श्रद्धाभक्तीपूर्वक मनाइन्छ । मिथिला भूमिको महत्व सीता जन्मले झन बढेकाले मिथिला क्षेत्रमा जानकी नवमीको विशेष महत्व रहेको पण्डित गोविन्द दिक्षितले बताए।
जनकपुरधामका सीताराम मन्दिरमा धार्मिक र श्रद्धाभक्तिको माहोल रहेपनि जानकी मन्दिरमा विशेष कार्यक्रमहरूको आयोजना गरिएको छ । शुक्रवार बिहान ऐतिहासिक दुधमती नदीमा शाही स्नानको कार्यक्रम सम्पन्न भएको छ भने जानकी मन्दिरमा प्राकट्य महोत्सव, बधैयागान सहितका विभिन्न कार्यक्रमको आयोजना गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिए । राष्ट्रिय विभूति सीताको जन्म दिवसमा सरकारी पक्षबाट कुनै किसिमको तयारी नगरिएकोमा भने चिन्ता व्यक्त गरे।
सीतालाई हिन्दु धर्मवलम्वीहरु आदर्श नारीको रुपमा लिन्छन् । अयोध्या त्याग गरेपनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपूर्ण बनाइ अयोध्या फर्काएका कारण पनि सीताको भुमिकाले सबै नारीलाई सम्मानित बनाएको पाइन्छ ।
FACEBOOK COMMENTS