काठमाडौं । लगातार पाँच कारोबार दिन बढेको शेयर बजारमा आज दोहोरो अङ्कको करेक्सन आएको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज २२ दशमलव १४ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार १०९ दशमलव ३४ विन्दुमा ओर्लिएको छ ।
यस दिन ३१५ धितोपत्रको एक करोड १० लाख ४४ हजार ४८५ कित्ता शेयर ७० हजार ५८६ पटक खरिदबिक्री हुँदा चार अर्ब ४४ करोड १५ लाख ३८ हजार ४७१ रुपैयाँ ७० पैसा बराबरको शेयर कारोबार भएको छ ।
आज नेप्से इन्डेक्सका साथै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा ०.८९% देखि १.०८% सम्मले घटेको छ । यस्तै, १३ वटा उपसूचकहरूमध्ये होटेल एण्ड टुरिजम र म्युच्युअल फण्डबाहेक सबै उपसूचकहरू राताम्मे बनेका छन् ।
आज कारोबारमा आएका धितोपत्रमध्ये कालिञ्चोक दर्शन प्रालिको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि आउँदा प्रतिकित्ता ९३ रुपैयाँ ४० पैसाले बढेको छ ।
