झापा । कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताएकी छिन् ।
विश्व दुध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आज मेचीनगरमा आयोजित कार्यक्रममा उनले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी डेरीले किसानबाट खरिद गरेको दूधको महिनौंदेखि भुक्तानी नदिइरहेको भन्ने गुनासो आएकाले त्यो यथाशीघ्र समाधान गर्न सघाउने बताइन् ।
“दुग्ध उत्पादक किसानहरुले चाँडोभन्दा चाँडो भुक्तानी पाउनुपर्छ भन्नेमा हामी स्पष्ट छौं,” उनले भनिन्–“मैले थुप्रै व्यावसायिक किसानको गाईगोठ र डेरी उद्योगहरु अवलोकन गरेको छु । किसानहरुले दुधको भुक्तानी नपाएको गुनासो सुनाउनु भएको छ । जसरी भए पनि भुक्तानी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।”
मुलुकमा दुधको उत्पादन बढेको जनाउँदै उनले यसलाई निर्यात गर्न आवश्यक पहल जारी रहेको बताइन् । दुग्ध विकास संस्थानको भण्डारमा एक अर्ब २५ करोडभन्दा बढी मूल्यको दुग्धजन्य उत्पादन विक्री नभएर थन्किरहेको उहाँले जानकारी दिइन् ।
मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नका लागि दुधमा आत्मनिर्भर भएरमात्र नपुग्ने बताउँदै उनले यसको विदेश निर्यात अपरिहार्य भइसकेको औंल्याइन् । दुधबाट बनेका बस्तुहरु निर्यातका लागि निर्यातको सहज व्यवस्था हुन सके किसानले बेचेको दुधको भुक्तानी गर्न कुनै समस्या नहुने उनले बताइन् ।
कोशी प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राईले दुग्ध पदार्थमा आधारित उद्योग सञ्चालन र बस्तु प्रबर्धनमा प्रदेश सरकारले उल्लेखनीय अनुदान दिदै आएको बताइन् ।
किसानहरुलाई दुध उत्पादनका आधारमा र व्यावसायिक कृषकहरुलाई गोठ निर्माण र आहार उत्पादनमा अनुदान दिने गरिएको उनले जानकारी दिइन् ।
दुग्ध विकास संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले चरणबद्ध रूपमा किसानको दुधको भुक्तानी गर्ने व्यवस्था मिलाइएको जनाउँदै दुई दिनभित्र नयाँ भुक्तानी रकम आइपुग्ने जानकारी दिए।
FACEBOOK COMMENTS