-सरोज ओझा , कोरोना भाईरस (कोभिड-१९) विश्वभरका मानव समुदायको चिन्ता र चासोको बिषय बनिरहेको अवस्था छ । कोरोनाले महामारीको रुप ग्रहण गरेकाले सिंगो विश्व समुदाय नै अहिले त्राहीमाम छ । कोरोनाको संक्रमणका कारण दैनिक सयौले अकालमा ज्यान गुमाई रहेका छन् । संक्रमितहरुको संख्या बढदै गईरहेको छ । करिब एक सय नब्बे देशमा कोरोनाको संक्रमण भेटिएको अवस्था छ । यस बीच करिब चौबिस हजार हताहत भैसकेका छन् । विश्वका अधिकांश देशमा यस रोगको प्रकोप फैलिएको देखिन्छ । कोरोना भाईरस (कोभिड-१९) नेपालमा पनि भित्रिएको अवस्था छ । स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म ४ जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि गरेको छ । उनीहरु मध्ये एक जना उपचार पस्चात पूर्ण निको भैसकेको र तीन जनाको उपचार जारी रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अत्यावश्यक सेवा बाहेकका अन्य कार्यालय, ब्यापारिक प्रतिस्ठान बन्द छन् भने हवाई सेवा, यातायात सेवा सबै रोकिएका छन् । खाद्यान्न र औषधीजन्य कल कारखानाहरु बाहेकका अन्य उद्योगहरु बन्द नै छन् । कतिपय स्थानमा त त्रासका कारण खाद्यान्न, मेडिकल, क्लिनिक र अस्पतालहरु पनि बन्द भएका छन् ।
हाल नेपाल पनि विश्वभरका अधिकांश मुलुकहरु जस्तै लकडाउनको स्थितीमा छ । गत चैत्र १० गते यता मुलुक ठप्प छ । अत्यावश्यक सेवा बाहेकका अन्य कार्यालय, ब्यापारिक प्रतिस्ठान बन्द छन् भने हवाई सेवा, यातायात सेवा सबै रोकिएका छन् । खाद्यान्न र औषधीजन्य कल कारखानाहरु बाहेकका अन्य उद्योगहरु बन्द नै छन् । कतिपय स्थानमा त त्रासका कारण खाद्यान्न, मेडिकल, क्लिनिक र अस्पतालहरु पनि बन्द भएका छन् । लक डाउनसँगसंगै मानिसहरुलाई आवतजावतमा कडाई गरिएको छ । आम नागरिकलाई खाद्य, ग्यास जस्ता अति आवश्यक सामाग्रीको जोहो गर्न र स्वास्थ्य समस्या अाइपरेको खण्डमा मात्रै घर बाहिर निस्किन पाउने ब्यवस्था राज्यले लागु गरेको छ । साथै, कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन पनि आग्रह गर्दै नियम उल्लङ्घन गर्नेहरु उपर सामान्यतया कार्वाही गर्ने गरिएको छ । सडकहरुमा मानव आवत शुन्य प्राय छ । अर्थात देश सुनसान छ । बिशेष गरि लकडाउनको प्रभाव क्रमिक रुपमा जनजीवनमा देखापर्न थालेको छ । लकडाउन भएको भर्खर मात्र ४ दिन पुगेको छ । यद्यपी नागरिकहरुले खाद्य सामाग्री, ग्यास लगायतका अन्य दैनिक उपभोग्य सामाग्रीको अभाव महशुस गर्न थालेका छन् । संचार माध्यम, सामाजिक संजाल टोल फ्रि नम्बर जस्ता माध्यम मार्फत उनीहरुले प्रत्यक्ष परोक्ष रुपमा समस्या दर्शाउदै आएका छन् । बिशेष गरि उपत्यका र देशका शहरी क्षेत्रमा बसोबास गर्ने मध्यम तह र डेरागरि बस्ने तमाम परिवार र ब्यक्ति बिशेष समेतले पानी, तेल, चामल, ग्यास र तरकारीको अभाव झेल्नुपरेको बताउन थालेका छन् भने कतिपयले उपलब्ध सामाग्रीको मूल्य आकाशिएको भेद खोलेका छन् । कतिपयले भने मूल्यमा खासै अन्तर नभएको पनि खुलाशा गरेका छन् । अर्कोतर्फ ज्याला मजदुरी गर्दै गुजारा चलाउदै आएका घर परिवारको पेटमा अन्नपानी पर्न नै मुस्किल हुने अवस्था देखापरेको छ । उनीहरुलाई दुई छाकको गर्जो टार्न नै धौ धौ बनेको स्थित देखिन्छ । यसका अलवा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुमा निराशाको स्थित छ भन्ने टिकाटिप्पणी हुन थालेको छ । यस्तो जटिल अवस्थामा कर्तब्यच्युत बन्न पनि नमिल्ने र कोरोनाको संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सामाग्री र आत फेर्न आवश्यक खानपानको जोहोको अभावमा उनीहरुले आहत महशुश गरिरहेको अवस्था बोध गरिएको छ । स्वास्थकर्मीहरुले संक्रमणबाट जोगिन पहिरिनुपर्ने पिपिई पनि पर्याप्त मात्रामा नरहेको कुराहरु पनि आएका छन् । देशका विभिन्न स्थानमा यस्तै खाले बिषम परिस्थिती देखा परिरहेका छन् । ढुवानीको समस्याले कतै गाईवस्तुलाई खुवाउने चोक्कर, परालको अभावका कुरा उप्किएको छ त कतै तरकारी, रासन -पानी पुर्याउन गार्हो परेको कुरा सतहमा आएको छ । यि प्रतिनिधीमुलक घटना मात्र हुन । अहिलेको अवस्थामा नागरिक तहमा यस्ता समस्याको बग्रेल्ती चाङ छन् । तसर्थ जनस्तरमा केही निराशा छाएको देखिन्छ । यद्यपी, सरकार प्रति उत्तिकै आशा र भरोसा राख्ने तह र तप्का पनि छ । त्यसैले अहिलेको अवस्था मिश्रित खालको छ । जसलाई बेलैमा सम्बोधन गर्न नसकिएको अवस्थामा भोली जटिल परिस्थितीको सामना गर्न नपर्ला भन्न सकिन्न । गाँस , बास र कपास जनताको आधारभुत आवश्यकता हो । यो आवश्यकताको पूर्ती गर्नु राज्यको दायित्व पनि हो । त्यसो त, नेपालको संविधानले पनि जनताको अत्यावश्यकिय वस्तु तथा सेवाको ग्यारेण्टि गरेको छ । उपभोग्य र स्वास्थ्य सुरक्षाको अधिकारको प्रत्याभुती गर्ने दायित्व राज्य तहको हो । तसर्थ सरकारले सहज आपुर्ती ब्यवस्था र वितरण प्रणालीलाई चुस्त बनाउन र स्वास्थ्य सामाग्रीको यथोचित प्रबन्ध मिलाउन उत्तिकै आवश्यक रहन्छ ।
खाद्यान्न र अत्यावश्यक उपभोग्य वस्तुको हकमा हालसम्मको स्थितीमा नेपाल सरकारले पर्याप्त मौज्दात छ भन्ने कुरा जनता सामु राख्दै आएको अवस्था छ । आँकडा नै प्रस्तुत गरेर कम्तिमा ३-४ महिनासम्म पुग्ने खाद्यान्न र अन्य सामाग्री छ भनेको अवस्था छ । यस मानेमा सरकारको तयारी ठिकै रहेको मान्नु पर्छ । यद्यपी जनताले सरकारको अनुभुत गर्न पाएनन् र भोकभोकै बस्नुपर्ने स्थिती आयो भने सरकार प्रति जनताको वितृस्णा जाग्नेछ । सरकारले पनि केही गरेर देखाउने बेला यस्तै असामान्य बेलामा हो । राज्य संयन्त्रमा रहने उच्च तहमा आसिनहरुले आफ्नो बौद्धिकता र सबल नेत्तृत्व पस्कने अवसर पनि हो-यो । साथै स्वास्थ्यकर्मीले आफ्नो पेशा प्रति गर्व गर्ने र यस पेशा प्रतिको आम आस्थालाई अंकुरित गराउने बेला पनि हो । त्यसैले लडाईं मैदानमा उनीहरु जिम्मेवारीबोधका साथ लागिपर्नु पर्छ। साथै देश, काल, परिस्थितीलाई मध्यनजर राख्दै केही समयसम्म धैर्य गर्दै सेल्फ क्वारेन्टाईनमा बस्नु आम नागरिकको कर्तब्य हुन आउँछ ।
साथै, नागरिकको न्युनतम आवश्यकतालाई पुरा गर्ने जिम्मेवारी राज्यको हो । र पछिल्लो समयमा राज्य संयन्त्रले केही महत्वपूर्ण निर्णयहरु लिएको अवस्था पनि छ । अत्याधिक जनघनत्व रहेको उपत्यकामा चीन र सिंगापुरले लागु गरेको अनलाईन सिस्टम र घरदैलो मार्फत सरकार अत्यावश्यक वस्तु वितरण गर्ने तयारीमा जुटेको छ । यसले कोरोना नियन्त्रणमा सघाउ पुग्ने कुरा पनि सरकारी अधिकारीहरुले बताउदै आएका छन् । वास्तवमा सरकारको यस निर्णय स्वागतयोग्य छ । यद्यपी, यसको कार्यान्वयन पक्ष कस्तो रहन्छ जनताहरुले धैर्यतापूर्वक हेरि बसेका छन् । संभवत यो महामारीको संकट चुलिएको बेला, सामान्य हेल-चक्रयाईबाट पनि जोकोहीमा कोरोनाको संक्रमण सर्नसक्ने प्रति आमनागरिक सचेत रहेको अवस्थाले दर्शाईरहेको छ । छिटफुट बाहेक कोही पनि घरबाट बाहिर ननिस्किएको अवस्था छ । यसको सोझो अर्थ मानिसहरु निकै संयम र सचेत भएका छन् भन्ने हो । र राज्यले पनि नागरिकको आधारभुत आवश्यकता पूर्तीको लागि आफ्नो तर्फबाट आवश्यक पहलकदमी चाल्दै यस संक्रमण कालमा गर्नुपर्ने तयारीलाई पुरा गर्नुपर्ने देखिन्छ । सरकारले सबै ब्यवस्था मिलाउछौ, कुनै अभाव छैन र रहदैन, पुग्दो छ, नआत्तिनुस् भनेर वाचा गरेर मात्रै उन्मुक्ति पाउदैन् । जनताको चुलो बल्यो कि बलेन त्यस बारेमा पनि ख्याल राख्न सक्नुपर्छ । यसका लागि घरमा मौज्दात राख्दै जति पनि खर्चेर सामान खरिद गर्न लालायित तप्काको पहिचान, दैनिक उपभोग्य सामान नपाएर दु:खमा परेका र पैसाको अभावमा जोहो गर्न असमर्थ घर परिवारको एकिन गर्न लागत कसरी लिने भन्नेमा सरकारको ध्यान जान उत्तिकै जरुरी छ । अन्यथा रोगले भन्दा भोकमरीका कारण मानिसहरुले अनाहकमा ज्यान नगुमाउलान भन्न सकिन्न ।
साथै, स्वास्थ्यकर्मीहरुको सुरक्षा सबैको चासोको बिषय बनेको छ । उनीहरुले प्रवाह गर्ने सेवामा अभाव हुन नदिने तर्फ सरकारको तयारी नपुगेको देखिएको छ । अब यथाशिघ्र स्वास्थ्यचौकी र स्वास्थकर्मीहरुलाई आवश्यक सामाग्रीहरु उपलब्ध गराउदै स्वास्थ्य उपचारलाई विश्वसनिय र स्वास्थ्यकर्मी मैत्री बनाउनु पर्दछ । अर्कोतर्फ सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षाको सवाल पनि टड्कारो रुपमा उठेको छ । उनीहरुलाई पनि सामान्य पोशाकको भरमा सुरक्षार्थ खटाउदा निम्तन सक्ने खतरा र उनीहरुको पोषण उपर पनि राज्यले उत्तिकै ध्यान दिन जरुरी छ ।
अन्त्यमा, नागरिकहरुले पनि यस्तो संकटापन्न स्थितमा राज्य प्रतिको दायित्ववोध गर्नु नितान्त आवश्यक छ । यस्तो बेलामा अनावश्यक मौज्दात नगर्ने, अत्यावश्यक वस्तुको किफायत गर्ने, छर छिमेकमा कसैलाई खाद्यान्न र अत्यावश्यक वस्तुको अभाव पर्यो भने सहयोग गर्ने जस्ता सामाजिकपन दर्शाउनु श्रेयस्कर हुनेछ । यस्तो अवस्थामा आयातित भन्दा पनि स्वदेशी उत्पादनलाई उच्च प्राथमिकता दिनु देशप्रेमी नागरिकको कर्तब्य हुन आउँछ नै । तसर्थ, एलपी ग्यासको विकल्पमा बिजुलीको प्रयोगलाई यथाशक्य स्थान दिऊ ।साथै फुर्सदिलो समयको सदुपयोग गर्दै उत्पादनशिल काममा खर्चौ, जसबाट राष्ट्रिय आयमा पनि योगदान पुगोस् । स्थितलाई भयावह हुनबाट रोक्न राज्यले हामी सबैको साथ खोजेको छ । र राज्यले अख्तियार गरेको लकडाउनको निती हाम्रो आफनै लागि हो भनेर सोचौ । स्थितीलाई मध्यनजर गर्दा आपतकाल केही समयका लागि लम्बने संकेत देखिन्छ । तसर्थ हाम्रा सामु एउटै विकल्प छ धैर्यता र संयमता । जसबाट कोभिड १९ लाई जित्ने एक मात्र अस्त्रको रुपमा विश्व स्वास्थ्य संगठनले सुझाएको छ । उक्त सुझावलाई पूर्णरुपमा परिपालना गरौ ।
FACEBOOK COMMENTS