मनोज कुमार लाल कर्ण
सीईओ, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड
बीमा गर्ने व्यक्ति वा संस्थाको जोखिम बीमा कम्पनीलाई हस्तान्तरण गर्नुलाई बीमा भन्ने गरिन्छ । जोखिम भनेको आर्थिक क्षतिसम्बन्धी अनिश्चितता हो, जुन जतिबेला पनि हुन सक्दछ । यही जोखिमबाट जोगिन संसारभर जीवन र निर्जीवन बीमा गर्ने चलन छ । तर, नेपालमा भने बीमा गर्नु भनेको कुनै अमुक कम्पनीलाई फोकटमा पैसा खुवाउनु हो भन्ने बुझाइ धेरै छ । यही गलत बुझाइका कारण नेपालमा बीमा व्यवसाय जसरी फस्टाउनुपर्ने हो त्यसरी फस्टाउन सकेको छैन ।
यद्यपि, धिमा गतिमा भए पनि बीमामा पहुँच भने बढिरहेकै छ । एउटा व्यक्तिलाई बीमाले सुरक्षा, मनमा शान्ति, निर्भरतामा कमी, वचतमा प्रोत्साहन, आवश्यकता पूर्ति र करको लाभलगायत अनेक सुविधा प्रदान गर्छ । यसैगरी व्यवसाय सुरक्षामा पनि अनेक सुविधाहरू छन् । तर, मानिसहरू बीमा गर्न भने पटक्कै रुची देखाउँदैनन्, जतिले बीमा गरेका छन् अधिकांशले अभिकर्ताको चित्त बुझाउन सानो–सानो गरेका छन् ।
के यसरी गरिएको बीमाले व्यक्तिको जीवन र सम्पत्तिको सुरक्षा गर्छ त ? अवश्य पनि गर्दैन । त्यसो भए खासगरी जीवन बीमालाई कसरी बुझ्ने, किन गर्ने, कसरी गर्ने र कति गर्ने त ? यसबारे हामीले हमिालयन लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णसँग विस्तृत कुराकानी गरेका छौँ । प्रस्तुत छ, सीईओ कर्णसँग कर्पोरेट खबरका ज्योति जीसीले गरेको कुराकानीको सम्पादित अंश–
नेपालमा बीमाको चेतना र पहुँच अझै न्यून रहेको पाइन्छ । यो परिस्थितिका बीच जीवन बीमा के हो, के होइन र किन गर्नुपर्छ ?
बीमाबारे नेपालीको चेतना कम भए पनि पहुँच कम छ भन्न मिल्दैन । किनभने अहिले पनि ४५% मानिसमा बीमाको पहुँच पुगेको तथ्याङ्कहरूले देखाएको छ । यो तथ्यका आधारमा बीमामा पहुँच राम्रै छ र बढ्दै छ भन्ने बुझ्न सकिन्छ ।
म कमाइरहेको छु । मेरो कमाइमा मेरो परिवार आश्रित छ । तर, कथंकदाचित मेरो मृत्यु भयो भने मेरो आम्दानी (स्यालरी) को सुरक्षा कसले गरिदिन्छ, अर्थात् मेरो मृत्युपछि त मैले कमाइरहेको स्यालरी आउँदैन, बन्द हुन्छ । त्यही स्यालरीलाई सुरक्षित पार्न हामीले बीमा गर्नुपर्छ । ता कि भोलि मलाई केही भयो भने जुन रकम आउँछ त्यो रकम मेरो घरपरिवारका लागि स्यालरीका रूपमा काम लाग्छ । बीमाबाट आएको पैसा बैंकमा फिक्स्ड डिपोजिट गर्यौँ भने वर्ष वा महिनामा ब्याजका रूपमा म जीवीत छँदाकोे मेरो स्यालरी फेरि आउन थाल्छ । छोटोमा भन्ने हो भने तपाइँको आम्दानीलाई ‘प्रोटेक्सन’ गर्नु नै बीमा हो । त्यसकारण प्रत्येकले बीमा गर्नुपर्छ ।
बीमाको दुई वटा स्टेज हुन्छ । ‘अर्ली डेथ’ र ‘लिभिङ लङ्गर’ । अर्ली डेथ भयो भने तपाइँको घरपरिवार बर्बाद हुन्छ । त्यतिबेला पनि बीमा चाहियो । धेरै बाँचे पनि बीमा चाहियो । किनकी ५८ वर्षमा मान्छे रिटायर्ड हुन्छ । त्यसपछि कम्तीमा २५–३० वर्ष अझै बाँच्छ । बीमा छैन भने त्यो बेला बुढेसकाल चलाउन मुस्किल पर्छ । बीमा आफ्नो सुरक्षा हो । मृत्यु भएपछि पाइने मात्रै बीमा होइन । जीवन रहँदै म्याचुअर्ड (परिपक्व) भयो भने तपाइँको जीवनको आर्थिक स्थितिलाई धेरै भन्दा धेरै सहज बनाउँछ । छोराछोरीको उच्च शिक्षादेखि विभिन्न काममा त्यसबाट प्राप्त पैसा खर्च गर्न पाउनुहुनेछ ।
बीमा बीमित र बिमकबीचको एउटा कन्ट्रयाक्ट हो । त्यो कन्ट्रयाक्टमा सबै कुरा लेखिएको हुन्छ । कन्ट्रयाक्टमा उल्लेख भएको बीमाङ्क रकम (सम एसोर्ड) र ब्याज (बोनस) म्याचुअर्ड भएपछि दिइन्छ । केही भयो भने सम एसोर्ड र त्यो अवधिसम्मको बोनस दिइन्छ । त्यसैले प्रत्येक व्यक्तिले बीमा गर्नुपर्छ । बीमा नहुनेको जीवन नै अधुरो हुन्छ । घरपरिवार असुरक्षित हुन्छ । बीमालाई आधारभूत आवश्यकतामा राख्नुपर्दछ, जसरी खाना खान्छौँ र कपडा लगाउँछौँ ।
जीवन बीमाको उपयोगिताबारे यहाँले लामो चर्चा गर्नुभयो । बीमा गर्नुअघि सामान्यतः बीमा गर्न चाहानेले के–के कुरामा ध्यान दिनपर्छ र कस्तो कम्पनी छनोट गर्ने ?
तपाइँलाई कस्तो प्रकारको प्रडक्ट चाहिन्छ त्यो खरिद गर्नुपर्छ । अभिकर्ताहरूले पनि ग्राहकलाई चाहिने प्रडक्टको बारेमा राम्रोसँग बुझाउनुपर्दछ । किनकी बीमा कम्पनीहरूसँग दर्जनौँ प्रडक्टहरू छन्, तिनीहरूका आ–आफ्नै विशेषता र फाइदाहरू छन् । एउटालाई आवश्यक हुने प्रडक्ट अर्कोलाई आवश्यक नहुन वा ‘एफोर्ड’ नगर्न पनि सक्छ । सबै कुरा नबुझेसम्म बीमा गर्न हुँदैन ।
जहाँसम्म बीमा कम्पनी छनोटको कुरा छ । मेरो विचारमा कुनै पनि बीमा कम्पनी खराब हुँदैनन् । सबै राम्रा मात्रै हुन्छन् । जहाँ तपाइँलाई इच्छा लाग्छ त्यही कम्पनी छनोट गर्नुहोस्, तर बीमा चाहिँ गर्नुहोस् । म हिमालयन लाइफमै बीमा गर्न आउनुस् भन्दिनँ, जहाँ गर्नुहुन्छ बीमा गर्नुहोस् । तपाइँले चाहेको प्रडक्ट कुनमा छ त्यसरी पनि छनोट गर्न सकिन्छ ।
तत्कालीन युनियन, गुराँस र प्राइम लाइफ इन्स्योरेन्सबीचको ‘बिग मर्जर’बाट बनेको ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’ चाहिँ कत्तिको बलियो कम्पनी हो ?
तत्कालीन युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स मिलेर हिमालयन लाइफ इन्योरेन्स कम्पनी बनेको हो । यो कम्पनी अहिले धेरै ठूलो कम्पनी भइसकेको छ । यहाँ राम्रा–राम्रा प्रमोटरहरू हुनुहुन्छ । रेपुटेड ठूला बिजनेश म्यानहरूको ग्रुप नै यो कम्पनीमा आवद्ध रहेको छ । विगत र अहिलेको कम्पनीमा धेरै फरक आइसकेको छ । किनभने मर्जरअघि तीन वटै कम्पनीहरू राम्रा थिए । त्यहाँ राम्रा प्रमोटरहरू थिए । स्टाफहरू राम्रा थिए । सबै राम्राहरू मिलिसकेपछि झन् राम्रो भएको छ । हिमालय लाइफ इन्स्योरेन्स कम्पनीमा काम (जब) गर्न पाउँदा म आफू स्वयम्लाई निकै गर्वानुभूति भइरहेको छ । किनभने विगतको युनियन लाइफमा काम गर्नु र अहिले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा काम गर्नु धेरै फरक छ । यो फरक मलाइ मात्र होइन सबैलाई आएको छ ।
मर्जरपछि चुक्ता पुँजीको आधारमा दोस्रो ठूलो कम्पनी बनेको हिमालयन लाइफ इन्स्योरेन्सको पछिल्लो वित्तीय सूचकहरू के–कस्ता छन् ?
मर्ज हुँदाखेरि स्वाभाविक रूपमा केही समस्याहरू आउँछन् र त्यो हामीमा पनि आएको छ । तीनवटा कम्पनीका ब्रान्च, स्टाफ र खर्चलाई व्यवस्थापन गर्ने क्रममा केही समस्या देखिन्छ । त्यस कारण सूचकहरूमा एक–दुई वर्ष केही कमी आउँछ । यस्तो समस्या हामीकहाँ मात्रै होइन संसारभरकै संस्थाहरूमा देखिने फेनोमेना हो । यद्यपि, हाम्रो सूचक अहिले पनि निराशाजनक भने छैन । त्यसैले हामी सन्तुष्ट पनि छौँ । मर्ज भएर पनि हामी स्मुथ्ली अघि बढिरहेका छौँ । आउँदा दिन हाम्रो थप उज्वल छन् । हरेक सूचकमा हामी अब्बल हुनेछौँ ।
कम्पनी ठूलो र वृहत् भए पनि अपेक्षित व्यापार गर्न नसकिरहेको विभिन्न तथ्याङ्कहरूले देखाइरहेको छ, यसको कारण के हो ?
हाम्रो कम्पनीको सूचकबारे मैले भनिसकेँ । हाम्रो व्यापार घटेको छैन । विगतमा युनियन, प्राइम र गुराँसले गर्ने गरेको व्यापारलाई जोड्दा भन्दा धेरै व्यापार अहिले हिमालय लाइफले गरिरहेको छ । त्यसमा यो वर्ष हामी २५% ग्रोथको लक्ष्यका साथ काम गरिरहेका छौँ । मर्ज नहुँदा साढे ४०० शाखा थिए । त्यो सङ्ख्याको शाखाले जति विजनेश विगतमा गरेको थियो आज हामी २१७ वटा शाखामार्फत त्यो भन्दा बढी गरिरहेका छौँ । त्यसकारण हामीले कम व्यवसाय गर्यौँ भन्न मिल्दैन ।
जीवन बीमा व्यवसायको क्षेत्रमा मासिक रूपमै करिब एक अर्ब रूपैयाँ बराबरका बीमा पोलिसीहरू सेरेण्डर गर्ने गरिएको बीमा प्राधिकरणको तथ्याङ्कले देखाएको छ । त्यसमा हिमालयन लाइफ पनि अछुतो छैन । खासमा सरेण्डर के कारणले भइरहेको छ ?
सरेण्डर गर्नाको विभिन्न कारण हुनसक्छ । त्यसमध्येको प्रमुख कारण बजारमा चलेको आर्थिक मन्दीको हल्ला हो । त्यसैकारण बैंकबाट ऋण लिएर बीमा गर्नुभएकाहरूले सरेण्डर गर्नुभएको छ । किनकी उहाँहरूलाई बैंकको ऋण तिर्न ताकेता छ । बैंककै लोन तिर्न नसकेपछि यहाँ कसरी तिर्ने ? ऋण लिएर गरिएकोबाहेक बीमामा कुनै समस्या छैन ।
यसरी सरेण्डर गर्दाको फाइदा र घाटाहरू के–के हुन् ? यसलाई कसरी रोक्न सकिन्छ ?
सरेण्डरबाट फाइदा त कसैलाई छँदैछैन, घाटाचाहिँ ग्राहक, अभिकर्ता र कम्पनी सबैलाई हुन्छ । यस्तो नराम्रो बाटोतिर कोही पनि लाग्न हुँदैन । अझ एउटा कम्पनीमा सरेण्डर गरेर अर्को कम्पनीमा बीमा गर्ने चलन देखेको छु । यसो गर्दा तपाइँलाई कति घाटा भएको छ हिसाब गर्नुभएको छ ? यदि तपाइँले बीमा गरेको पाँच वर्ष भइसकेको थियो, १५ वर्षे बीमा थियो भने अब १० वर्षपछि बीमाङ्क र बोनस एकमुष्ट रकम पाउनुहुन्थ्यो । त्यसलाई सरेण्डर गरेर फेरि १५ वर्षे बीमा गर्नुभयो भने पाँच वर्ष यत्तिकै खेर जान्छ । जोखिम वहन र फोर्सफुल्ली वचत बीमाको ठूलो उद्देश्य हो । बीमा जीन्दगीको उज्यालो प्रकाश हो । जसले तपाइँको जीन्दगीलाई उज्यालो बनाउँदछ । त्यसो भए गरेको इन्स्योरे सरेण्डर गरेर आफैले आफ्नो जीन्दगी किन अँध्यारो बनाउनुहुन्छ ?
तसर्थ, बीमामा बढिरहेको सरेण्डरलाई रोक्न बीमा कम्पनी र अभिकर्ताहरू अझै बढी सक्रिय बन्न जरुरी छ । अभिकर्ताहरू बढी सचेत भइ आफ्ना ग्राहकलाई बुझाउन जरुरी छ । साह्रै समस्या भए कम्पनीबाट बिनाधितो ऋण लिएर पनि बीमाको प्रिमियम तिर्न सकिन्छ । अहिले मानिसहरू स्थिति खराब भयो त्यसैले इन्स्योरेन्सलाई निरन्तरता दिन सकिएन भनिरहेका छन् । तर, उहाँहरूले भन्नुभएको जस्तो स्थिति खराब कहाँ छ ? बेलुका यसो होटेल रेष्टुराँ छिरेर हेर्नुहोस् त खर्च गर्ने मानिसहरूको भीड कस्तो छ । एउटा बिहे कसैले गर्यो भने उसको पार्टी कत्तिको खर्चिलो छ । आज श्रमिक (लेवर) खोज्नुहोस् तपाइँ सहजै पाउनुहुन्न, पायो भने सस्तोमा पाइँदैन । यदि स्थिति खराब थियो भने त लेवर दुई सय रूपैयाँमै पाउनुपर्ने थियो नि । यसको अर्थ स्थिति भनेजति खराब छैन, सबैले खान पाइरहेका छन् । सबै जना इन्ज्वय गरिरहेका छन् । स्थिति खराबको हावा चल्नु भएन । स्थिति खराब छैन ।
बीमा कम्पनीबाट ऋण पाउने आधार र हिसाबकिताबचाहिँ के हो नि ?
कुनै पनि बीमितले ऋण लिन चाहेमा उसले कम्तीमा तीन वर्ष प्रिमियम बुझाइसकेको हुनुपर्दछ । त्यसपछि सरेण्डर भ्यालुको एमाउन्ट क्याल्कुलेट गरिन्छ । बीमा अवधि, बीमाङ्क रकम, म्याचुरिटीमा पाउने एकमुष्ट अनुमानित रकमलगायतलाई आधार मानेर ‘प्रिजेन्ट क्यास भ्यालु’ निकालिन्छ । यो कलि कम पनि हुन्छ । त्यसलाई सेरेण्डर भ्यालु भनिन्छ । जस्तोः तपाइँले २० वर्षको पोलिसी खरिद गर्नुभएको छ । प्रत्येक वर्ष पाँच÷पाँच हजार रूपैयाँका दरले प्रिमियम तिरेर तीन वषमा १५ हजार रूपैयाँ बनाउनुभएको छ । त्यसमा कम्पनीले १० हजार रूपैयाँ बोनस दियो भने २५ हजार रूपैयाँ हुन्छ । अब तपाइँले प्रिमियम तिर्दिनँ भन्नुभयो भने त्यो २५ हजार रूपैयाँ २० वर्ष पछि पाउनुहुन्छ । तर, तपाइँले आजै त्यो पैसा चाहिन्छ भन्नुभयो भने त्यो २५ हजार रूपैयाँको आजको ‘करेन्ट क्यास भ्यालु’ जति छ त्यसलाई सेरेण्डर भ्यालु भनिन्छ ।
यो कम्पनी अनुसार फरक वा कम्पनीले आफ्नो हिसाबले दिने होइन, फर्मुला अनुसार हुन्छ । त्यसकारण सरेण्डर भ्यालु जति हुन्छ त्यसको ९०% ऋण पाइन्छ । बीमा अवधि लामो छ भने थोरै र छोटो छ भने बढी आउँछ । अप्ठयारो छ भने लिने नत्र ऋण लिँदै नलिने । प्रिमियम समयमै तिर्ने हो । बीमाले मान्छेको जीन्दगी सुरक्षित गर्छ, घरपरिवारको सुरक्षा गर्छ, आफ्नो आम्दानीको सुरक्षा गर्ने काम गर्छ । त्यसकारण सरेण्डर गर्न दिन हुँदैन ।
यसरी बीमा पोलिसी सरेण्डरको अवस्था बढ्नु स्वयम् बीमित र बीमा क्षेत्रकै लागि सुखद कुरा होइन, सरेण्डरको अवस्था आउनुको मुख्य दोषी वा जिम्मेवारी कसले लिने ? नियामक बीमा प्राधिकरण, बीमा कम्पनी कि अभिकर्ताहरू ?
यसमा बीमा प्राधिकरणको कुनै दोष हुँदैन । उसले मोनिटरिङ गर्ने हो गरिरहेकै छ । सरेण्डर बढी भयो भनेर कम्पनीहरूलाई सचेत गराइरहेको पनि छ । तर, बीमा कम्पनी, अभिकर्ता र स्वयम् ग्राहकहरू भने पक्कै पनि दोषी छन् । किनभने हामी कम्पनी र अभिकर्ताले ग्राहकलाई उचित सल्लाह र सुझाव दिएर सम्झाउनुपर्ने थियो । ग्राहक स्वयम्ले पनि सरेण्डर गर्नु धेरै ठूलो भूल हुने कुरा सम्झिनुपर्दछ । र ब्राञ्च म्यानेजरहरूले पनि सरेण्डर नहुनेगरी प्रशिक्षित गर्नुपर्यो । भविष्य सम्झाउन र सम्झिन सक्नेले बीमा सरेण्डर गर्दैन जुनकुनै हालतमा जोगाउँदछ ।
समग्रमा भन्दा बीमा गराउँदा अभिकर्ताले आफ्ना ग्राहकलाई सबै (फाइदा–बेफाइदा) का कुरा भन्नुपर्छ । ग्राहकको क्षमता वार्षिक ५० हजार रूपैयाँ प्रिमियम तिर्ने छ भने उसलाई एक लाख तिर्नेगरी बीमा गराउन हुँदैन । ५० हजार नै तिर्नेगरी बीमा गराउनुपर्छ । बीमा कति चाहिने हो, क्षमताले धान्छ कि धान्दैन यो कुराको आँकलन अभिकर्ताले स्पष्ट गरिदिनुपर्छ । तपाइँले वार्षिक रूपमा जति आम्दानी गर्नुहुन्छ त्यसको दशगुणाको बीमा गर्नुपर्दछ । जस्तोः कसैको मासिक आम्दानी एक लाख रूपैयाँ छ भने उसको वार्षिक कमाइ १२ लाख रूपैयाँ हुन्छ । यसलाई दशगुणा बढाउँदा एक करोड २० लाख रूपैयाँ हुन्छ । बीमा गर्दा तीन गुणा रिस्क कभर हुन्छ भन्ने मान्यता अनुसार सो व्यक्तिले ४० लाख रूपैयाँको बीमा गर्दा उपयुक्त हुन्छ । यसो गर्दा उसलाई केही भइहाल्यो भने एक करोड २० लाख रूपैयाँको ‘प्रोटेक्सन’ हुन्छ । त्यो पैसा बैंकमा राख्यो भने अहिलेकै ब्याजदरको हिसाबमा पनि मासिक एक लाख रूपैयाँ ब्याज आउँछ । अर्थात् जीवन रहँदा कमाइ गर्दै आएको एक लाख रूपैयाँ जीवन नरहँदा पनि आउन थाल्छ । यसले उसको आश्रित परिवारको जीवीकोपार्जनमा सहजता प्रदान गर्दछ । यसैलाई भनिन्छ, ‘इकोनोमिकल भ्यालु अफ ह्युमेन लाइफ’ । यसरी सबै कुरा विचार गरेर बीमा गर्ने र गराउने हो भने सरेण्डर गर्नै पर्दैन ।
बीमा कम्पनीहरूले ठूलो रकम आफ्ना अभिकर्ताहरूका लागि कमिसन र इन्सेन्टिभमा खर्च गर्ने गरेका छन् । यसले बीमित र कम्पनीलाई केही असर पर्दैन ?
अभिकर्तामाथि गरिएको कुनै पनि खर्चले कम्पनी र ग्राहकले पाउने प्रतिफलमा कुनै असर गर्दैन । किनभने हामीले सबै एक्चुरियल भ्यालुएसन गरेर प्रडक्ट डिजाइन गरेका हुन्छौँ । प्रडक्ट बनाउँदा नै लेखेको हुन्छ २५% कमिसन । त्यो सरकारले तोकेको बीमा ऐन अनुसार दिने हो कम्पनीले जति मन लाग्यो त्यति दिने होइन । पहिलो, दोस्रो हुँदै दश वर्षसम्म उसले पाउने कमिसन ऐनमै तोकिएको हुन्छ । पहिलो र दोस्रो वर्ष राम्रो कमिसन पाए पनि तेस्रो वर्षदेखि पाँच प्रतिशत मात्रै छ । त्यसमा पनि १५% प्रतिशत कर काटिन्छ । त्यसपछि त अभिकर्ताले बीमितका लागि निःशुल्क सेवा दिनुपर्छ । उनीहरूलाई यो हिसाबमा कम सुविधा छ । अर्को इन्सेन्टिभका लागि हामीले १८% सम्म खर्च गर्न पाउँछौँ । तोकिएकै सीमाभित्र रहेर हामीले काम गर्ने हो । यसले सकैलाई पनि असर गर्दैन ।
अभिकर्ताहरू स्वतन्त्र हुनुहुन्छ । उहाँहरूलाई हामीले तलब, कार्यालय, घरभाडा, टेलिफोन, यातायात वा कुनै पनि सुविधा दिएका छैनौँ । यदि उहाँहरूलाई पनि यो सबै सुविधा उपलब्ध गराएर काम गरेको भए कति ठूलो खर्च हुन्थ्यो ? अभिकर्तामार्फत काम गर्दा खर्च थोरै हुनाका साथै कम्पनीलाई फाइदै छ । कम्पनीलाई फाइदा हुनु भनेको बीमितलाई पनि फाइदा हो । किनभने अभिकर्ताले बिजनेश ल्याएमात्रै पाउँछन् नत्र खर्चै गर्न पर्दैन । अभिकर्तालाई दिँदा कम्पनी र ग्राहक दुवैलाई फाइदा छ । सबै खर्च कटाउँदा अभिकर्ता त दुई–तीन प्रतिशतमा काम गरिरहेका छन् । उनीहरूले तपाइँलाई बीमाको पहुँचमा ल्याउन निःस्वार्थ काम गरिरहेका छन् ।
हिमालयन लाइफले हाल कतिवटा बीमा योजना बिक्री गर्दै आएको छ, ती कुन–कुन हुन् ? लाभहरू कस्ता–कस्ता छन् ?
हिमालयन लाइफ इन्स्योरेन्ससँग अहिले २६ वटा बीमा योजनाहरू छन् । जुन धेरै राम्रा–राम्रा छन् । यी योजनाहरूमा बोनस पनि ९० सम्म छन् । कुनै–कुनै प्रडक्टमा त ग्यारेन्टेड बोनस छ । प्रडक्टमा हामी धनी छौँ । ६८ भन्दा तल बोनस छैन । विभिन्न उमेर समूहहरूका लागि विभिन्न विकल्पहरूसहित योजना हामीसँग छ । भएकामध्ये सबैभन्दा बढी सावधिक जीवन बीमा योजना (इन्डोमेन्ट प्लान) बिक्री भइरहेका छन् । त्यसपछि ‘हिमालयन जीवन उपहार’ बीमा योजना बिक्री भइरहेको छ । हिमालयन जीवन उपहारमा पहिलो वर्ष एक करोड रूपैयाँको बीमा गर्दा अर्को वर्ष एक करोडकै अर्को बीमा उपहार दिइन्छ । अर्थात् पहिलो वर्ष एक करोड रूपैयाँ बीमाङ्कको बीमा गर्नेको दोस्रो वर्ष स्वतः दुई करोड रूपैयाँको बीमा हुने छ । यद्यपि, हामीले सबै बीमा योजनाहरूलाई उत्तिकै महत्व दिएर बिक्री गरिरहेका छौँ । डाइभर्सीफाइ गरेर लगानी गर्दा बढी सुरक्षित हुन्छ ।
पछिल्लो समय तपाइँहरूले बीमामा पर्सनल एक्सिडेन्टल बेनिफिट (पीएबी) पनि समावेश गर्नुभएको छ । क्रिटिकल इलनेस (सीआई) पहिल्यैदेखि छ । यसले प्रिमियम थप महङ्गो बनिरहेको छ । सीईआई र पीएबीको उपयोगिताबारे प्रष्ट पारिदिनुहोस् न ?
बीमामा ‘सीईआई’ र ‘पीएबी’ अतिरिक्त सुविधा हुन् । यसलाई हामी राइडर भन्दछौँ । यो सुविधा मुल बीमामा थप गर्दा प्रिमियम स्वाभाविक रूपमा केही महङ्गो हुन्छ, तर धेरै होइन । यसले बीमितलाई आइपर्ने अतिरिक्त समस्याहरूसँग जुध्न सहज हुन्छ । जस्तोः कसैले एक लाख रूपैयाँको सावधिक बीमा लिनुभयो र त्यसमा एक लाख रूपैयाँ बराबरकै पर्सनल एक्सिडेन्टल बेनिफिट (पीएबी) सुविधा लिनुभयो र कथंकदाचित दुर्घटनाबाट बीमितको मृत्यु भयो भने आश्रित परिवारले पीएबीबापत दुई लाख रूपैयाँ पाउँछन् भने मुल बीमा एक लाख रूपैयाँ र बोनस पाउँछन् । अर्थात् एकमुष्ट रकम तीन लाख रूपैयाँ र बोनस । दुर्घटनाबाट घाइते भइ उपचार गर्नुपरे तोकिएको सुविधाबमोजिम खर्च पनि पाइन्छ ।
यस्तै, क्रिटिकल इलनेस (सीआई) पनि हाम्रो जीवनका लागि अति उपयोगी छ । जस्तोः कुनै बीमितले १० लाख रूपैयाँको बीमा गर्दा १० लाख रूपैयाँ बराबरकै सीआई सुविधा लिने भन्नुभएको छ र उहाँलाई अर्वुद रोग (क्यान्सर) लाग्यो भने डाक्टरले पुष्टि गरेको खण्डमा बिलभर्पाइबिनै १० लाख रूपैयाँ उपलब्ध गराउने छ । त्यसमा पाँच लाख खर्च गरेर बिमार ठिक भयो भने पाँच लाख फाइदा पनि हुन सक्छ । यता मुल बीमा जारी रहन्छ । यदि क्रिटिकलकै कारण बीमितको निधन भयो भने मुल बीमामा क्रिटिकल बीमा पनि जोडिएर रकम आउँछ ।
संसारभरको अभ्यास हेर्दा अभिकर्ताहरूमार्फत बीमा गराउने चलन बढी छ । तर, नेपालमा अभिकर्तालाई नपत्याउने वा विश्वास नगर्ने जस्ता समस्याहरू पनि छन् । यस विषयमा यहाँको धारणा के छ ?
अभिकर्तामार्फत मात्रै होइन डाइरेक्ट कम्पनीसँग आएर पनि बीमा गर्न सकिन्छ । तर, अभिकर्ताको माध्यमबाट जाँदा बीमितलाई बढी फाइदा हुन्छ । किनकी अभिकर्ताले सर्भिसका साथै क्लेम र बीमा परिपक्व हुने समयमा पनि सहयोगीको भूमिका खेल्न सक्दछन् । प्रिमियमको समयमा खबर गर्ने, प्रिमियम बुझाइदिने, केही समस्या आउँदा बुझाउने वा सम्झाउने काम अभिकर्ताहरूले नै गर्नुहुन्छ । कम्पनीबाट सिधै त्यस्तो सुविधा नहुन पनि सक्छ । अभिकर्तामार्फत नै बीमा गर्न सुझाव दिन्छु ।
कम्पनीहरूले बीमा दाबी भुक्तानीका सवालमा दुःख दिन्छन्, विभिन्न कागजात माग्छन् वा भवितव्य घटना भइहाल्यो भने पैसा दिनै मान्दैनन् भन्ने आम गुनासोहरू छन् । यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
तपाइँले जे–जे भन्नुभयो जीवन बीमामा यो सब हुँदैहुँदैन । बीमा गर्दा हामीले सत्यतथ्य कुराहरू नलुकाइकन गर्नुपर्दछ । बीमा गर्दा एउटा किड्नी खराब भए पनि म राम्रो र ठिकठाक छु भनेर विवरण दिँदा क्लेमका समयमा स्वाभाविक रूपमा समस्या आउँछ । त्यस्तो समस्या आउन नदिन बीमितले सही विवरण दिएर बीमा गर्नुपर्छ । यदि तपाइँको एउटा किड्नी छैन भने त्यही भन्नुहोस्, एक–दुई रूपैयाँ बढी चार्ज लागेर के भयो, बीमा त हुन्छ । यस्तै, ब्लड प्रेसको औषधि खाइरहनुभएको छ भने त्यस्तै लेखिदिनुहोस् न बीमा भइहाल्छ नि ।
बिजुलीको खम्बामा चढेर काम गर्ने, ट्याक्सी चलाउने वा विभिन्न खालका जोखिमयुक्त काम गर्नेले पनि म अफिसमा बसेर काम गर्ने व्यक्ति हुँ भनेर विवरण भर्दाको परिणाम हो त्यो । त्यसकारण बीमा गर्दा सही विवरण दिनुभयो । सत्यतथ्य लुकाउनुभएन भने दुनियाँको कुनै पनि ठाउँमा जीवन बीमा कम्पनीले ‘डिले’ नगरी भुक्तानी गर्छ । यो वर्ल्डकै कुरा हो हिमालयन लाइफ इन्स्योरेन्सको मात्रै होइन । नेपालमा १४ वटा लाइफ इन्स्योरेन्स कम्पनी छन् सत्यतथ्य नलुकाइ गरिएका बीमाको भुक्तानी तपाइँलाई बोलाएर दिन्छ । चेक बनिसकेपछि कम्पनी स्वयम्ले फोन गरेर बोलाउँछ ।
लाइफ इन्स्योरेन्समा बीमितको मृत्यु भयो भने त्यो मृत्यु नै हो आधा मृत्यु हुँदैन । कति पैसा दिने भनेर दुविधा नै हुँदैन । जति एग्रिमेन्ट हो त्यस अनुसारको पैसा दिनैपर्छ । दुर्घटना भयो भने त्यसको प्रमाण चाहिन्छ । यस्तो बेला हल्काफुल्का ढिला हुनसक्छ, किनकी मृत्यु हुनेवित्तिकै पैसा दिन हुँदैन । कागजात आइपुग्नुपर्दछ । वास्तविक हकवाला हो कि होइन पहिचान गर्नुपर्छ । यसका लागि हामीले नाता प्रमाणितको कागज मगाउँछौँ । त्यसले गर्दा केही ढिलो पक्कै हुन्छ । यसबाट दुःखको महसुस गर्न भएन । यदि हामीले त्यसो गरेनौँ भने गलत मान्छेको हातमा पैसा पर्न सक्छ । तर, झुटो विवरण लेखेको छ भने कुनै पनि क्षतिपूर्ति नपाउन सक्छ । हिमालयन लाइफले चालू आर्थिक वर्षमा मात्रै ५४८ वटा बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीले हाल कति वटा शाखा, कति जना अभिकर्ता र कति जना कर्मचारी परिचालन गरिरहेको छ ?
हामीसँग अहिले २१७ वटा शाखा कार्यालय छन् भने ३५ हजार जना अभिकर्ताहरू छन् । यस्तै, ८२५ जना भन्दा धेरै कर्मचारीहरू हाम्रो कम्पनीमा हुनुहुन्छ ।
बीमा गर्न इच्छा भएका तर पैसा नभएकाहरूले कसरी बीमा गर्ने ?
जो सँग पैसा छैन उसैले बीमा गर्नुपर्छ । पैसा नभएका परिवारमा पनि कसै न कसैले त आम्दानी गरिराख्नुभएकै हुन्छ । उहाँले सोच्नुपर्यो कि म हुँदा त पैसा छैन भने म नहुँदा झन् के होला ? त्यसकारण तपाइँले जति कमाइराख्नुभएको छ त्यसैबाट थोरै बचत गरेर बीमा गर्ने हो, जुन तपाइँलाई धेरै आवश्यक छ । यदि तपाइँ चुरोट, खैनी, सुपारी, चाँडरक्सी खानुहुन्छ भने त्यो सबलाई छोडिदिएर भविष्यका लागि बचत गर्दा के फरक पर्छ ? पूरै छोड्न सक्नुहुन्न भने पनि केही घटाउनुस्, धेरै पैसा बचत हुन्छ । तपाइँले दिनमै पिउनुहुने १० कप चियाको अर्थ के छ ? घटाएर दुई कपमा झार्नुहोस् र बाँकी आठ कप चियाको पैसाले बीमा गर्नुहोस् तपाइँ र तपाइँको परिवार सुरक्षित हुन्छ । आज गरेको थोरै–थोरै पैसाको वचतले १५–२० वर्षपछि ठूलो राहत मिल्छ त्यसकारण पनि यसलाई अनिवार्य बचतको रूपमा अगाडि बढाउन आग्रह गर्दछु ।
अन्तिममा केही थप्नुहुन्छ कि ?
जुनसुकै उमेरको हुनुभए पनि र जुनसुकै पेशामा हुनुभए पनि प्रत्येकले बीमा गर्नुहोस् । प्रत्येक नेपालीले बीमा गर्नुभयो भने आजको १५–२० वर्षपछि प्रत्येक नेपालीसँग पैसा हुन्छ र बीमाको माध्यमबाट पनि हामीले गरिबी हटाउन सक्छौँ । गरिबीमुक्त देश हुन्छ । किनकी तपाइँको हरेक दुःख–सुखको साथी बीमा हो । तपाइँले सामाजिक रूपमा गर्नुपर्ने विवाह, व्रतबन्ध, गुन्युचोलीहरूमा ठूलो खर्च हुने गरेको छ । नसक्ने मानिसहरूले पनि आफ्नो जग्गा, गहना वा अरु सम्पत्ति बेचेर पनि ती काम गरेर सामाजिक प्रतिष्ठालाई जोगाइरहनु परेको छ । त्यसलाई हेरेर पनि आजै बीमा गरी बचतको सुरूवात गरिहाल्नुहोस् । फेरि दोहोर्याउँछु प्रत्येक नेपालीले बीमा गर्नुपर्छ ।
भिडिओमार्फत बुझ्नुहोस् बीमा–
यो पनि पढ्नुहोस्–
‘बीमालाई कसैले पनि राम्रो दृष्टिले हेरेनन्, भवितव्य र विपदमा राज्य एक्लै खटिनु परेको छ’
FACEBOOK COMMENTS