काठमाडौं । नेपालमा पछिल्लो समय बीमासम्बन्धी जनचेतना बढ्दो क्रममा छ ।
जीवन बीमा होस् वा निर्जीवन बीमा, दुबै प्रकृतिका बीमाबारे नेपालमा पर्याप्त आवश्यकताबोध भएको छ । बीमाको आवश्यकता, महत्व र फाइदाबारे जनजनलाई थाहा हुँदा पनि पहुँच भने धेरैमा पुग्न सकिरहेको छैन । यस्तो हुनुमा विशेषगरी राज्यकै संयन्त्रहरू बढी भागीदार हुने गरेको जानकारहरू बताउँछन् ।
बीमा क्षेत्रलाई हेरिने खराब दृष्टिकोणका कारण नेपालीहरूमा बीमाको पहुँच कम भएको उनीहरूको तर्क छ । बदलिदो परिस्थितिकाबीच हरेक कुरामा बीमा महत्वपूर्ण पाटोकारूपमा अगाडि आउँदा पनि लाभ लिनेको संख्या न्यून हुनु चिन्ताजनक अवस्था हो ।
‘आजको दिनसम्म पनि बीमालाई राज्य, राज्यका विभिन्न संयन्त्र, नियामक निकाय, स्वयम् बीमित र समाजले कहिल्यै पनि राम्रो नजरबाट हेर्न सकेका छैनन् । बीमा भन्नेवित्तिकै प्रिमियम लिने र दाबी भुक्तानी नगर्ने नजरबाट हेरिँदै आएको छ,’ एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्त भन्छन्, ‘यस्तो धारणा हामी सबैले हटाउने हो भने बीमाले व्यक्तिको आर्थिक सुरक्षामात्र नभइ ठूलो आर्थिक क्षति हुनबाट देशलाई नै बचाउन सक्छ ।’
पछिल्लो समय बीमाको महत्व धेरै नै उजागर हुँदै आएको छ । जसका कारण राज्य, समाज र सरकारका विभिन्न तहसम्म चेतना फैलिनाका साथै लक्षित वर्गहरू जागरुक र उत्साहित समेत बन्न थालेका छन् । ‘बीमा यस्तो एउटा बलियो माध्यम हो, जसले आर्थिक सुरक्षा त गर्ने नै भयो सँगसँगै राज्यले नागरिककाप्रति गर्नुपर्ने दायित्व समेत बोध गराउने गर्दछ,’ सीईओ पन्त भन्छन्, ‘सरकारले देशको पूर्वाधार विकास गर्नका लागि जुन पुँजी जुटाएको हुन्छ त्यो पुँजी बेलाबखत आइपर्ने प्राकृतिक विपत्ति, भवितव्य र अन्य आपत विपदका बेला खर्च गर्न परिरहेको छ । त्यसो गर्दा हामीले सोचविचार गरेअनुसार मुलुकको पूर्वाधार विकासमा धक्का पुगिरहेको छ । जसका कारण जनता सत्तासँग सँधै असन्तुष्ट बनिरहेको देखिन्छ ।’
देशको सर्वाङ्गीण विकासका लागि बीमा
देशको सर्वाङ्गीण विकासका लागि संसारभर बीमाले खेलेको महत्वपूर्ण र उल्लेखनीय भूमिकाबारे चर्चा गर्दै सीईओ पन्त भन्छन्, ‘देशको सर्वाङ्गीण विकासका लागि जुन लक्ष्य हामीले राखेका छौं । त्यसलाई विचलित हुन नदिन मुलुकमा आइपर्ने भवितव्य र विपदको व्यवस्थापन बीमामार्फत नै हुनेगरी बीमा अभियानलाई अगाडि बढाउनुपर्छ, जसले विपत्तिबाट भएको आर्थिक क्षतिको जिम्मेवारी पूर्णरूपमा बहन गर्न सकोस् ।’ संसारका कैयन मुलुकमा यस्तो अभ्यास रहेको दृष्टान्त दिँदै नेपालले पनि उक्त अभ्यास गर्न ढिला गर्न नहुने सुझाव उनको छ ।
बढ्दैछ बीमाको महत्व
यथार्थमा बीमा सबैथोक भए पनि हामीले व्यवहारमा प्रयोग गर्न सकिरहेका छैनौं । बीमा कम्पनीहरूले पनि आफ्नो विश्वसनीयता वृद्धिका लागि सेवा प्रवाहलाई अझ चुस्त र प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता देखिएको छ । राज्यले बीमामार्फत आफ्ना नागरिक र मुलुकको आर्थिक सुरक्षा चाहेको खण्डमा बीमा कम्पनीहरूमार्फत नै योजना अगाडि बढाउनुपर्ने सीईओ पन्त बताउँछन् ।
त्यसका लागि बीमा कम्पनीका पोलिसीहरू, प्रडक्टहरू, त्यसलाई डेलिभर गर्ने सिस्टम, दाबीभुक्तानी गर्ने प्रक्रियालगायतको लजिस्टिक र पूर्वाधारहरूको सोही अनुसार विकास हुनु जरुरी रहेको उनको भनाइ छ । यो अवधारणा आइसकेपछि अबका दिनमा बीमाको महत्व निक्कै माथि उठ्ने छ । सोही अनुसार बीमा कम्पनीहरू र राज्यले काम गर्नुपर्छ र यसको लाभ आर्थिक क्षति व्यहोरेकाहरूले प्राप्त गर्नुपर्छ भन्ने मान्यता उनी राख्छन् ।
नियामक निकाय सकारात्मक
बीमा कम्पनीहरूको नियामक एवम् अर्धन्यायिक निकाय बीमा समिति पनि बीमाको दायरा विस्तारसँगै भूमिका बढाउन सकारात्मक रहेको सीईओ पन्त बताउँछन् । सरोकारवालाहरूबीचको हरेक छलफलमा यस्ता विषय र प्रसङ्गहरूमाथि गहनरूपमा छलफल तथा विचारविमर्श हुने गरेको उनको भनाइ छ । साथै दाबीभुक्तानी विनाझन्झट र छिटो हुनुपर्ने, गाउँगाउँमा बीमाको पहुँच बढाउनुपर्ने, शहरमा मात्रै सीमित हुन नहुने, आवश्यक व्यक्तिको बीमा अनिवार्य गरिनुपर्नेलगायत विषयहरूमा पनि बारम्बार छलफल हुने गरेको उनले बताए । उनका अनुसार त्यस्ता छलफलमा राज्यका निकायहरू, नीतिनिर्माता र सरोकारवालाहरू सकारात्मक देखिएका छन् ।
FACEBOOK COMMENTS