अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाकोे निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन रहने बताएका छन् ।
रूसले सोमबार युक्रेनमा सयौं ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै युक्रेनको ऊर्जा केन्द्र ध्वस्त भएको अधिकारीहरूले बताएका छन् ।
यस सन्दर्भमा अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘युक्रेनविरूद्ध रूसको निरन्तर आक्रमण र युक्रेनी जनतालाई अन्धकारमा डुबाउने प्रयासको कडा रूपमा निन्दा गर्दछु ।’
युक्रेनमा पछिल्लो समय मस्कोले गरेको आक्रमणले ‘ब्ल्याकआउट’ (उर्जा सङ्कट) सुरू भएको छ । किएभले रूसको कुस्र्क क्षेत्रको भूभाग नियन्त्रणमा लिएको दाबी गरेपछि यो अवस्था आएको जनाइएको छ ।
सन् २०२२ फेब्रुअरीको आक्रमणपछि रूसले युक्रेनमा बारम्बार उर्जा केन्द्र लक्षित ड्रोन तथा मिसाइल आक्रमणहरू गरेको छ ।
युक्रेनको ‘सैन्य-उत्पादन परिसर’ लाई सहयोग गर्न प्रयोग भइरहेको दाबी गर्दै ऊर्जा केन्द्रहरूमा प्रहार गरेको रूसी रक्षा मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
रूसले सोमबार गरेको आक्रमणमा परी निर्दोष युक्रेनी नागरिकहरूको मृत्यु भएको, २० जनाभन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
FACEBOOK COMMENTS