काठमाडौं । नेपालमा चिनियाँ कम्पनी एमजीको विद्युतीय गाडी (ईभी) दुर्घटनाको शृंखला बढ्दो छ । दुर्घटनाको शृंखलाले बिहीबार पनि निरन्तरता पाएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका-५, टीकाथलीमा बिहीबार बिहान साढे २ बजेको आसपासमा एमजी जेडएस ईभी दुर्घटना भएको हो ।
प्रहरीका अनुसार ०२९ च ६७४५ नम्बरको कार उकालोमा ब्रेक नलागेर अनियन्त्रित भई दुर्घटना भएको हो ।
वडा कार्यालय नजिकैको उकालो सडकमा ब्रेकले काम नगर्दा गाडी पछाडि फर्किएर पर्खालमा ठोक्किएको थियो । दुर्घटनामा मानवीय क्षति त भएन तर गाडीको पछाडिको सिसा फुट्नुका साथै केही भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
नेपालमा हालसम्म भएका एमजीको विद्युतीय गाडी दुर्घटनाको कारण खुट्याउँदा मानवीय त्रुटि नगन्य र गाडी आफैंको प्राविधिक पक्ष कमजोर हुनु भएको पाइएको छ । दुर्घटनाको पछिल्लो शृंखलाले पनि यसलाई थप पुष्टि गरेको छ ।
यसअघि कहिले चार्जमा राखेका बेला आफैं आगलागी हुने त कहिले गाडी स्टार्ट गर्नेबित्तिकै तीव्र गतिमा गुडेर भयानक दुर्घटना हुनेजस्ता घटनाहरू एमजीको कारमा देखिएका थिए ।
यस्तोमा सरकारले यस कम्पनीका गाडीको प्राविधिक परीक्षण गरेर आवश्यक कारबाही गर्नुपर्ने हो । तर, सरकार सधैं मूकदर्शक रहँदै आएको छ । यस पछाडिको कारण एमजीका मालिक पशुपति मुरारकाको उच्च पहुँचलाई मानिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका मुरारका आफ्नो उच्च पहुँचकै कारण नेपाल सरकारलाई तिर्नुपर्ने विद्युतको महसुलसमेत नतिरेर राज्य र सरकारलाई नै गुमराहमा पार्न सफल रहँदै आएका छन् ।
उनै मुरारका घरनाले भित्र्याएको एमजी गाडीमा विभिन्न समस्या आउँदासमेत सरकारले बिक्रीमा रोक लगाउन सकेको छैन । सरकारले ल्याएको नीति छल्न गाडीको स्ट्रक्चरदेखि किलोवाटसमेत घटाएर ल्याउँदा गाडीले दिनुपर्ने पर्फर्मेन्स नदिने र सर्किटमा समस्या आउँदा ठूलो आवाज आउने, ब्रेक नलाग्ने, कहिले आफैं अनियन्त्रित भएर गुड्नेजस्ता समस्या एमजीका गाडीमा देखिँदै आएको छ ।
सम्पादकीय : ईभीमा भन्सार र अन्तःशुल्क घटाऊ, प्राविधिक परीक्षण गर
यसअघि गत साउन २३ गते राति पनि एमजीको ईभी दुर्घटना भएको थियो । नक्सालस्थित नारायणचौरमा भएको उक्त दुर्घटना गुपचुप पार्ने प्रयाससमेत गरिएको थियो । नागपोखरीतर्फबाट नक्सालतिर गइरहेको एमजीको ‘जेडएस’ ग ३ च ७४११ नम्बरको इलेक्ट्रिक कार सडकपेटीमा पुगेर दुर्घटना भएको थियो ।
त्यसअघि गत असार १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङबाट निस्किनेबित्तिकै बागमती प्रदेश ०१-०२७ च १५९० नम्बरको एमजी जेडएस कारले एक्कासी तीव्र गति लिँदा गम्भीर दुर्घटना भएको थियो । सो दुर्घटनामा पूर्वरक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानकी पत्नी विद्या वनमाली प्रधान गम्भीर घाइते भएकी थिइन् ।
यस्तै गत वर्षको पुसमा बूढानीलकण्ठस्थित देउवाचोकमा चार्जमा राखिएको बागमती प्रदेश ०१-०२७ च १५८१ नम्बरको एमजी कम्पनीको गाडीमा आफैं आगलागी भएको थियो । उक्त घटनालाई एमजी मोटर्सको नेपालस्थित आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले गुपचुप राख्न सफल भए पनि त्यसपछिका घटनाहरू लुकाउने प्रयास असफल हुँदै आएका छन् ।
पारामाउन्ट मोटर्सका कारहरूको प्राविधिक अध्ययनमा यस गाडीमा अन्य गाडीको तुलनामा अनावश्यक ठूलो आवाज आउने, इन्जिन कराउने, बारम्बार मिसफायरको आवाज आउने, समयमा एयरब्याग नखुल्ने र ब्रेक नलाग्नेजस्ता समस्या देखा परिरहेको प्रयोगकर्ताहरूले गुनासो गर्दै आएका छन् ।
तर, पटकपटक गाडीमा प्राविधिक समस्या आइरहेको जनगुनासो आए पनि सरकारी निकायले भने ‘कानुनको अभाव’ देखाउँदै त्यसतर्फ ध्यान दिन नसकिएको बताउँदै आएको छ ।
विश्वका अन्य मुलुकहरूमा दुर्घटना भएपछि सरकारले छानबिन गरेर गाडीको बिक्री वितरण नै बन्द गराउँदा नेपालमा भने कानुन अभावकै कारण गाडी दुर्घटना तथा प्राविधिक समस्याको विषयमा गुनासो आउँदासमेत छानबिन गर्न नसक्नु दुःखद् पक्ष हो ।
यी समाचारहरू पनि पढ्नुहोस्–
एमजीको ईभी दुर्घटना श्रृङ्खला रोकिएन, नक्सालको घटना सामसुम पार्ने प्रयत्न ! (तस्बिरसहित)
एमजीको ईभी ‘जेडएस’ दुर्घटना : यस्तो छ, पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानको वयान !
FACEBOOK COMMENTS