काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज (बुधबार) विश्वासको मत लिने भएका छन् ।
केन्द्रमा सत्ता समीकरण फेरबदलका कारण सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् ।
माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले सो पार्टीले समर्थन फिर्ता लिएसँगै दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
माओवादीले गत भदौ १४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानको धारा १६८ (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । समीकरण परिवर्तनसँगै कोशी प्रदेशमा नेकपा (एमाले) को नेतृत्वमा बनेको सरकारमा कांग्रेस सहभागी भएको छ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीको दल नेकपा (एमाले) का ४० सांसद छन् भने कांग्रेसका २९ सांसद रहेका छन् । कोशी प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ सांसद गरी ९३ जना सांसद छन् ।
बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । जसका लागि एमाले-कांग्रेसको सांसद सङ्ख्या पर्याप्त छ । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।
न
FACEBOOK COMMENTS