काठमाडौं । विदेशी विनिमय सञ्चिति २१ खर्ब रूपैयाँ नजिक पुगेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आँकडाअनुसार विदेशी विनियम सञ्चिति साउनसम्ममा २० खर्ब ९२ अर्ब २२ करोड रूपैयाँ बराबर पुगेको हो । असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब रूपैयाँ थियो ।
एक महिनामा २.५ प्रतिशतले विदेशी मुद्रा सञ्चिति बढेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति अब १५ अर्ब ५८ करोड पुगेको छ । असार मसान्तसम्म १५ अर्ब २७ करोड डलर थियो ।
आव २०८१/८२ को पहिलो महिनाको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
साउनसम्म रहेको विदेशी विनिमय सञ्चिति नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ३६.७ प्रतिशत देखिन्छ । कुल आयातको ११२.५ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपातमा यसको हिस्सा ३०.३ प्रतिशत छ ।
FACEBOOK COMMENTS