काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा नेपालको विदेशी मुद्रा सञ्चिति ४.३ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गएको असार मसान्तसम्म ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति बढेर ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति ४.६ प्रतिशतले बढेर २६ अर्ब ४८ करोड पुगेको छ । असार समान्तसम्म विदेशी मुद्रा सञ्चिति २५ अर्ब ३१ करोड थियो ।
यस्तै दुई महिनामा चालू खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँले बचतमा रहेको छ । गएको आर्थिक वर्षको यही अवधिमा चालू खाता १ खर्ब ३० अर्ब ९७ करोड रुपैयाँले बचतमा रहेको थियो ।
यस्तै दुई महिनामा शोधनान्तर स्थिति १ खर्ब ८७ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । गएको आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा थियो ।

यस्तै गएको भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत रहेको छ । गएको वर्षको भदौमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिीति १.८७ प्रतिशत रहेको थियो ।

