काठमाडौं, बैशाख १८- काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका शंकर समुहका सुलभ अग्रवाल पुन: पक्राउ परेका छन् ।
थर्मल गन कालोबजारी गरेको कसुरमा पक्राउ परेका अग्रवाललाई आज काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो । धरौटी अदालतमा बुझाएर रिहा हुनेबित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरले जनाएको छ । अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइने प्रहरीले जनाएको छ । विभागले अकुत सम्पत्ति आर्जन गरेको हुनसक्ने अनुसन्धान सुरु गर्ने बताइएको छ ।
उनीमाथि कालोबजारी, अवैध भण्डारण, कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोगमा अभियोग छ ।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश बज्रेस प्याकुर्यालको इजलासले व्यवसायी अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा अग्रवाललाई गत चैत २५ गते ६७ थान थर्मल गनसहित प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।
FACEBOOK COMMENTS