काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बीच कार्ड-आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ ।
आज नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजका तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सूरज गौतमले एक कार्यक्रमका बीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।
दुई कम्पनीबीच भएको सम्झौताअनुसार नबिल बैंकले कार्डमा आधारित विप्रेषण प्लेटफर्म एनरेमिटको सेवा हाम्रो पात्रो एपमा समावेश गरेको छ । नेपालबाहिर रहेका हाम्रो पात्रो प्रयोगकर्ताहरूले अब एपको ‘रेमिट्यान्स’ बटनमा गएर पठाउने र प्राप्त गर्ने व्यक्तिको विवरण र विप्रेषणको उद्देश्य उल्लेख गरी सेवा लिन सक्नेछन्, जसअन्तर्गत आफ्नो अन्तर्राष्ट्रिय मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरेर रेमिट्यान्स पठाउन सकिनेछ ।
यस सेवाअन्तर्गत प्रयोगकर्ताहरूले न्यूनतम युूएस डलर १०० देखि अधिकतम ५ हजार डलरसम्म पठाउन सक्नेछन् । नबिल बैंकका अनुसार रेमिट्यान्स प्राप्तकर्ताले नेपालभित्र जुनसुकै बैंक खातामा तुरून्तै रकम प्राप्त गर्नेछन् ।
नबिल बैंकले २०२२ डिसेम्बरदेखि आफ्नो एनबैंक एपमार्फत एनरेमिट सेवा दिँदै आएको छ । यो सेवा पहिलो पटक तेस्रो पक्षसँगको सहकार्यमा विस्तार गरिएको हो ।
‘यो बैंकिङ सेवाको लागि एउटा कोसेढुंगा हो, किनकि यसले देशमा खुला बैंकिङको पहिलो पहललाई प्रतिनिधित्व गर्दछ,’ नबिल बैंकका अन्तर्राष्ट्रिय व्यापार तथा एनबैंकका नायब महाप्रबन्धक आदर्श बजगाईंले भने ।
यस सम्झौतामार्फत दुवै संस्थाहरूले देशमा विप्रेषण प्रक्रियालाई सरल बनाउने उद्देश्य राखेका छन् । यसबाट नेपाली बैंकिङ क्षेत्रलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
नबिल बैंकले आफ्नो एनबैंक एपमार्फत एनरेमिट सेवा दिँदै आएको थियो । स्मार्ट आइडियाज प्रालिले नेपालमा मात्र नभएर विदेशमा रहेका नेपालीहरूमा पनि लोकप्रिय एप हाम्रो पात्रो सञ्चालन गरेको छ ।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम् सेवाहरूको सुरूवात गर्दै महत्त्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
FACEBOOK COMMENTS