काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको एक अर्ब ५० करोड ९० लाख ३० हजार ५०३ रुपैयाँ अपचलन गरेको भन्दै सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा लगिएको छ । उनलाई गएराति पौने ३ बजे पोखरा पुर्याइएको छ ।
जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्नका लागि लामिछानेलाई पक्राउ गर्न शुक्रबार पूर्जी जारी गरेको थियो । लगत्तै लामिछानेलाई पक्राउ गरेर रातारात पोखरा लगिएको छ ।
आज शनिबार भएका कारण लामिछानेलाई आइतबार मात्रै कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । लामिछानेलाई कास्की लैजाने भएपछि केही नेता कार्यकर्ता शुक्रबार नै पुगेका थिए । केही नेताहरु उनीसँगै गएका हुन् । लामिछानेलाई पोखरा लैजाने क्रममा विभिन्न स्थानमा उनको पक्षमा नाराबाजी समेत भएको थियो । पोरखामा पुगेपछि पनि राति ३ बजे रास्वपाका उप सभापति डा.स्वर्णिम वाग्ले, उपसभापति डोलप्रसाद अर्याल, सांसद हरि ढकाल, सह प्रवक्ता मनिष झा लगायत नेताहरु समेत उपस्थित रहेका थिए । उनीहरुले गएराति पनि आन्दोलन गरेका छन् । आज शनिबार
रास्वपा नेता कार्यकर्ताहरूले बिहान ११ बजे पोखरामा रहेको मानवअधिकार चोक, चिप्लेढु्रगामा विरोध प्रदर्शन गर्ने भएका छन् । यस्तै दिउँसो १ बजे माइतिघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सूर्यदर्शन बचत तथा ऋण सहकारी विसं २०७२ देखि नै उक्त सहकारीको रकम अपचलन हुँदै आएको थियो । रकम अपचलनका मुख्य आरोपी सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु ९जिबी राई०सँग मिलेर गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा सभापति लामिछानेमाथि यसअघि कास्की जिल्ला अदालतमा मुद्दा परेको थियो ।
सोही मुद्दाका अर्का आरोपी छविलाल जोशी पनि अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । सहकारी ठगीका मुख्य आरोपी राई भने अझै फरार छन् । सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले पूरक अनुसन्धान गरिपाउँ भन्दै विसं २०८० माघमा जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएका थिए । उन्नाइस जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएकामा पूर्वसञ्चालक शिवबहादुर गुरुङ, भविश्वर अर्याल, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वउपाध्यक्ष कैलाश दर्लामीलगायत पूर्पक्षका लागि थुनामा छन् ।
FACEBOOK COMMENTS