काठमाडौं, बैशाख २३ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर अधिकारीले राष्ट्र बैंकमा पेश गरेको सम्पति विवरणमा अनुसार उनीसँग १ करोड बढीको शेयरका साथै ललितपुरको सैँबुमा १ करोड रुपैयाँभन्दा धेरै लगानीको घर र जग्गा रहेको छ ।
सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण अनिवार्य रुपमा पेश गर्नुपर्ने कानूनी प्रावधान बमोजिम गभर्नर अधिकारीले सम्पत्ति विवरण पेश गरेका हुन्।
उनको सम्पत्ति विवरणमा ललितपुरको ५ ठाउँ, झापामा ४ ठाउँ र मकवानपुरको एक ठाउँमा जग्गा रहेको छ । त्यसै गरी अधिकारीसँग नबिल, हिमालयन, सिद्धार्थ, बैक अफ काठमाण्डू, सनराइज, एभरेष्ट, मेगा, नेपाल इन्भेष्टमेन्ट आदि बैक तथा वित्तीय संस्थामा २७ हजार १८४ कित्ता शेयर छ ।
यी शेयर खरीद गर्न ४८ लाख ३७ हजार ३९० लगानी गरेको विवरणमा उल्लेख गरिएको छ ।
सम्पत्ति विवरणमा करीब २७ तोला सुन, ५० तोला चाँदी तथा करीब रु। १४ लाख नगद भएको उल्लेख छ । त्यस्तै, उनको खातामा २ हजार ३ सय डलर पनि छ। सुनचाँदी पैत्रिक सम्पत्ति, विवाहमा दाइजो र खरीदबाट जोडेको अधिकारीको दाबी छ ।
FACEBOOK COMMENTS