काठमाडाैंँ । अमेरिकामा ४७ औं राष्ट्रपति निर्वाचनको मतदान सुरु हुन अब केही घन्टा मात्रै बाँकी छ । यतिबेला नेपाल लगायत विश्वको ध्यान अमेरिकातिर सोझिएको छ । किनभने अमेरिकाले राजनीतिले विश्वको जगतलाई कुनै न कुनै रुपमा प्रभावमा पार्न सक्छ । अझ पछिल्लो भूराजनीतिक बढ्दो संकटको कारणले पनि यो चुनाव आगामी ४ वर्षका लागि निकै महत्वपूर्ण हुने अनुमान गरिएको छ ।
अर्को तर्फ नेपालको हकमा अमेरिकाकापछि दुई प्रतिस्पर्धात्मक रुपमा उदाउँदै गरेको चीन र भारत बीचमा नेपाल रहेकोहुँदा अमेरिकाले छिमेकी मुलुका लागि लिने रणनीतिमा त्यसको प्रत्यक्ष अपत्यक्ष प्रभाव हामीलाई पनि पर्न सक्छ । त्यसैले पनि यो चुनाव महत्वपूर्ण कडीकाे रूपमा हेरिएकाे छ । अर्काेतर्फ, रूस र युत्रेनबीच, इजरायल प्यालेटाइनबीचकाे लामाे युद्द कसरी जान्छ भन्ने कुरालाइ पनि याे चुनावले रणनीति तय गर्ने छ ।
के छ चुनावी एजेन्डा
पछिल्ला चुनावी सर्वेक्षणहरूले रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका वर्तमान उपराष्ट्रपति कमला ह्यारिसबीच तीव्र प्रतिस्पर्धा हुने देखाएका छन् । दुवै उम्मेदवारहरू एकअर्काविरूद्ध निकै आक्रामक देखिएका भए पनि अमेरिकी मतदाताहरूले उनीहरूले अघि सारेका आर्थिक, सामाजिक, राजनीतिक लगायतका घरेलु मामिलाका साथै विदेश नीतिबारे अघि सारेका एजेण्डाको समीक्षा गरिरहेको देखिएको छ । एकातिर अमेरिकाको सर्वोच्च नेतृत्वमा कमला ह्यारिसको रूपमा पहिलो महिला र त्यो पनि एसिया–अफ्रिकी मूलकी महिलालाई चुन्ने अवसर छ । ह्यारिसले चुनाव जिते यो अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ । तर ह्यारिसलाई चुनाव जित्न त्यति सहज भने देखिएको छैन ।
सन् २०१६ को राष्ट्रपतीय चुनावमा त्यसबेला निकै लोकप्रिय रहेकी उम्मेदवार हिलारी क्लिन्टन ट्रम्पसँगै पराजित भएकी थिइन् । अमेरिकी समाज चरम पितृसत्तात्मक र दक्षिणपन्थी–अनुदारवादी छ भन्ने त्यसबेला चर्चामा थियो । तर यसपटक महिलालाई शीर्ष नेतृत्वमा स्थापित गराउन अमेरिकी समाज सहजै तयार होला ? अझै द्विविधा कायम रहेको धारणा चुनावी सर्वेक्षणले देखाएका छन् ।
पछिल्लो पटक फाइभ थर्टीएटले सार्वजनिक गरेको विवरणमा ह्यारिसले ४८ प्रतिशत र ट्रम्पले ४६ प्रतिशत मत पाउने आकलन गरिएको छ । अर्थात् दुई उम्मेदवारबीच २ प्रतिशतको मात्र अन्तर छ । गत सेप्टेम्बर १० मा पेन्सिलभेनियामा भएको बहसपछि कमला ह्यारिसले आफूलाई निकै मजबूत उम्मेदवारका रूपमा प्रस्तुत गर्न सफल देखिए पनि मतदाताले उनलाई खुलेर समर्थन गरेका छैनन् ।
राष्ट्रव्यापी मतसर्वेक्षणमा दुई उम्मेदवार अघिपछि देखिए पनि राष्ट्रपतिको चयन भने इलेक्टोरल कलेजका आधारमा हुने गर्दछ । निर्वाचित हुन पपुलर मत मात्र धेरै ल्याएर पुग्दैन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कूल ५३८ इलेक्टोरल कलेज मतमध्ये कम्तीमा २७० स्थान जित्नुपर्छ । अमेरिकाका ५० वटा राज्यबाट जनसंख्याका आधारमा इलेक्टोरल कलेजको संख्या निर्धारण हुन्छ ।
जसका कारण धेरै जनसंख्या र इलेक्टोरल कलेज भएका राज्यहरूमा दुवै उम्मेदवारले प्रचार कार्य तीव्र पारेका छन् । डेमोक्रेट वा रिपब्लिकनका परम्परागत समर्थक बढी भएका राज्यहरूको आधारमा दुवै उम्मेदवारबीच इलेक्टोरल कलेजको संख्या लगभग बराबर छ । तर इलेक्टोरल कलेज संख्या ठूलो भएका केही राज्यको परिणाम कुन उम्मेदवारतर्फ सोझिन्छ भन्ने एकिन भइसकेको छैन । तीव्र प्रतिस्पर्धा भएका ’स्वीङ’ वा ’ब्याटलग्राउन्ड’ स्टेटमा दुवै उम्मेदवारबीच कडा टक्कर रहेको सर्वेक्षणले देखाएका छन् ।
FACEBOOK COMMENTS