काठमाण्डौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७५’ लागू गरेको छ ।
प्राकृतिक विपत्तिमा परेका पर्यटकको खोजी तथा उद्धार कार्यलाई मर्यादित र व्यवस्थित बनाउन यस्तो व्यवस्था लागु गरेको हो ।
पदयात्रा, जलयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापका क्रममा पर्यटकलाई पर्न सक्ने विपत्तिबाट हुने प्रभावलाई न्यूनीकरण गरी खोज, उपचार कार्यलाई छिटोछरितो, सहज र सरल बनाउन कार्यविधि लागू गरिएको मन्त्रालयका सहप्रवक्ता प्रकाश शर्मा ढकालले जानकारी दिए ।
कार्यविधि शुक्रबारदेखि लागू भएको छ ।
कार्यविधिले साहसिक क्रियाकलापका क्रममा हुने प्राकृतिक तथा अन्य विपद्बाट प्रभावित भई कुनै पर्यटक वा सहयोगी कामदार हराएमा वा बेपत्ता भएमा तत्काल सम्बन्धित एजेन्सीले नै खोजी गर्नुपर्ने व्यवस्था गरेको छ ।
पर्यटकलाई सुरक्षित तवरले गन्तव्यमा पु¥याउने र फर्काउने दायित्व पनि सम्बन्धित एजेन्सी र पथप्रदर्शकको हुनुपर्ने व्यवस्था गरिएको छ ।
— कारोबार
FACEBOOK COMMENTS