काठमाडौं, बैशाख २८ – अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड -१९ का कारण निजी क्षेत्रको व्यवसायमा परेको असरलाई कर सहुलियत प्रदान गर्ने बताएका छन्। अर्थमन्त्री डा. खतिवडाले निजी क्षेत्रका उद्योग, व्यवसायमा परेको असरलाई कर सहुलियत प्रदान गर्ने गरी मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने बताएका हुन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा अर्थमन्त्री डा. खतिवडाले आगामी वर्षको बजेट तथा कार्यक्रमका सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

उनले सरकारले कोरोना महामारीका कारण आर्थिक क्षेत्रमा परेको प्रभाव न्यूनीकरण गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने बताए । सरकारले कोरोनाका कारण रोजगारी गुमाएकालाई पुर्नस्थापना गर्न, वैदेशिक रोजगारीबाट फर्कनेलाई रोजगारी दिलाउन कृषि, साना घरेलु तथा मझौला उद्योगमा संलग्नता बढाउने गरी कार्यक्रमहरु तर्जुमा गर्ने उनले जानकारी दिए ।
अर्थमन्त्री डा. खतिवडाले कोरोना महामारीका कारण श्रम बजार, निर्माण, उत्पादन, पर्यटन तथा आपूर्तिको श्रृङ्खलामा गम्भीर असर परेकोले बताउँदै आगामी बजेटले यी क्षेत्रलाई विशेष सम्बोधन गर्ने समेत बताए ।
अर्थमन्त्रीको उक्त प्रस्ताव माथि सोमबार र मंगलबार छलफल हुने भएको छ ।
