काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले शिवशंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडको सर्वसाधारणका लागि जारी गरिने १०० रूपैयाँ अंकित दरका २५,००,००० कित्ताले हुन आउने २५ करोड रूपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिवशंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा शिवशंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दीपकराज जोशीको पनि उपस्थिति रहेको थियो ।
शिवशंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट प्रालि र जय गणेश इन्भेष्टमेन्ट प्रालि एकआपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो, जसले मुख्यतया जलविद्युत, पूर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ ।
हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुंगल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन इनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलविद्युत कम्पनीहरूमा लगानी गरेको छ । उल्लिखित कम्पनीहरूमध्ये पहिलो तीन कम्पनीहरू सञ्चालनमा आइसकेका छन् र प्राथमिक शेयर निष्कासको प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भइसकेका छन् ।
शिवशंकर हाइड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण शेयर निष्कासनपश्चात उक्त कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड रूपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS