काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि २१ लाख ५७ हजार ४१८ रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले गत भदौ १० गते रसुवा लगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको हो ।
भोटेकोशी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको आवश्यकता सम्बोधन गर्न, राहत तथा उद्धारका प्रयासमा सहयोग पुर्याउन र प्रभावित समुदायको पुनर्स्थापनामा योगदान गर्ने उद्देश्यले सहयोग प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार उक्त रकम कम्पनी तथा कम्पनीमा कार्यरत कर्मचारीहरूको तर्फबाट सामाजिक उत्तरदायित्वअन्तर्गत संकलन गरी राहत कोषमा जम्मा गरिएको हो । विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरिएको कम्पनीले जनाएको छ ।
लक्ष्मी सनराइज क्यापिटलले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । साथै, उद्धार गरिएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
