काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडसँग २५ लाख कित्ता साधारण सेयरको प्रस्तावित सार्वजनिक निष्कासनको लागि आईपीओ निष्कासन व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ ।
लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्स लिमिटेडका अध्यक्ष अनुज राठीले दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित विशेष समारोहमा सम्झौतामा औपचारिक हस्ताक्षर गरे ।
यस सम्झौताअन्तर्गत, लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडको आगामी प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को लागि निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा काम गर्नेछ । यो साझेदारीले नेपालको पुँजी बजारलाई सुदृढ पार्ने र आमजनताको लागि लगानी अवसरहरू विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।