काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको चर्चा भएअनुसार आयोजना सञ्चालन गरिएको भए तीन वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने हो । यस योजनालाई औपचारिकता दिन विविध कारण तीन वर्ष ढिलाइ भएको छ । मध्यपहाडी क्षेत्रका राजमार्ग हुँदै पूर्वी तराईसम्मका यात्रुवाहक तथा मालवाहक यातायातका साधनको चापले थिलथिलिरहेको अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल सडकखण्ड विस्तारको काम तीन वर्ष ढिला गरेर सुरू गरिए पनि मध्यपहाडी क्षेत्रमा भने सुगमता दिलाएको आभास हुन थालेको छ ।
करिब दुई वर्षअघि सुरू गरिएको यस आयोजना (१६ किलोमिटर) को हाल ३५ प्रतिशत काम सकिएको जनाइएको छ । सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाद्वारा निर्माणाधीन सडक विस्तार कार्यले हाल तीव्रता समेत पाएको छ । अन्य राजमार्गबाट सवारीसाधन धुलिखेलबाट अरनिको राजमार्ग हुँदै एकहोरो रूपमा राजधानी जाने गर्दछन् । यसकारण पनि सूर्यविनायक-धुलिखेल सडकखण्ड विस्तारले यातायातको क्षेत्रमा सुगमता थप्ने भएको हो । अरनिको राजमार्गको प्रस्थानविन्दु कोटेश्वरदेखि सूर्यविनायकसम्म भने एक दशकअघि छ लेनमा विस्तार गरिसकिएको हो ।
सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बीपी र पुष्पलाल राजमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यस सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौँ आवतजावत गर्दै आएका छन् । दुई लेन रहेको अरनिको राजमार्गको यस सडकखण्डलाई छ लेनका लागि विस्तार कार्य भइरहेको छ । सडक दायाँबायाँ दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण भइरहेको छ । यो खण्ड विस्तारपछि सूर्यविनायकदेखि धुलिखेलसम्मको ट्राफिक व्यवस्थापन सहज हुने तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सडक विस्तार कार्य सम्पन्न भएपछि यस क्षेत्रबाट सङ्घीय राजधानी काडमाडौँ प्रवेशका लागि निकै सुगमता हुने बताइन्छ । ‘अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल सडकखण्ड विस्तार गौरवको आयोजना हो, सडक विकासमा एउटा फड्को हो, यो सम्पन्न भएपछि मध्यपहाडी क्षेत्र तथा पूर्वी तराईसम्मका यातायातमा आवतजावतका लागि सुगमता थपिनेछ,’ प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले भने । उनका अनुसार यो खण्डको विस्तार कार्य सकिएपछि अरनिको राजमार्ग थप विस्तार कार्यलाई अघि बढाइनेछ ।
बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठ सडक विस्तार कार्यले काभ्रेली नागरिकमा खुशियाली छाएको बताउँछन् । उनी भन्छन्, ‘केही वर्षदेखि सडकमा सवारी चाप बढिरहेकाले काठमाडौँ पुग्ने २५ किमि सडकमा डेढ दुई घण्टा लाग्ने गर्दथ्यो, अब छ लेनको बनेपछि सजिलो गरी आधा घण्टा-पौने घण्टामा पुग्नेछौँ, यो निकै खुसीको कुरा हो ।’ उनले सडकमा देखिएका विविध समस्या सुल्झाएर आयोजनाले निर्माण कार्यलाई तीव्रता दिएकामा छिट्टै सम्पन्न हुने विश्वास गरेको बताए ।
आयोजनाको आग्रहअनुसार दिनका करिब पाँच घण्टा सडक बन्द गरेर निर्माण कार्यलाई थप तीव्रता दिन राजमार्ग क्षेत्रअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधि छलफलमा जुट्न थालेका छन् । तर उनीहरूले आयोजनाको प्रस्ताव व्यावहारिक नभएको जनाउँदै आएका छन् । उनीहरूले भक्तपुर-धुलिखेल सडकको साँगामा निर्माण कार्य तीव्र गतिमा गर्नसमेत आयोजनासँग माग गरेका छन् । राजमार्गको सडक दिउँसो अवरूद्ध गर्दा सर्वसाधारणलाई समस्या पर्ने भएकाले विकल्प खोज्नुपर्ने नगर प्रमुखहरूको भनाइ छ ।
धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूले सडक निर्माणको काम नागरिकलाई समस्या नपर्ने गरी गर्नुपर्नेमा जोड दिए । उनी भन्छन्, ‘वैकल्पिक सडकको व्यवस्था हुनुपर्यो, अनि मात्र आयोजनाको मागतर्फ जान सकिन्छ ।’
भक्तपुरका नगरप्रमुख सुनिल प्रजापतिले भने अरनिको राजमार्गको विस्तारका क्रममा दिउँसो यातायात अवरूद्ध गर्नु उचित नहुने बताए । उनले निर्माण कार्य रात्रिकालीन समयमा गर्नु उपयुक्त हुने जनाउँदै सडक निर्माणका क्रममा वैकल्पिक सडकबारे स्थलगत अध्ययन गर्नुपर्ने र राजमार्गवरपरका टहरा बिना क्षतिपूर्ति भत्काउने कार्य गर्नुअघि छलफल गर्नुपर्ने बताए ।
यस्तै सूर्यविनायकका नगरप्रमुख वासुदेव थापा आयोजनाको कामलाई थप तीव्रता दिनुपर्ने बताउँदै यस आयोजना राष्ट्रिय गौरवको योजना भएकाले समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिन्छन् । यस सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ । २०७९ पुस २४ बाट सुरू गरिएको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको हो । आयोजनाका अनुसार भने केही समय थप्नुपर्ने देखिएको छ । मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको आयोजनाले बताएको छ । हाल यस सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठूलो घुम्ती तथा तल ठूलो भिर भएकाले काम गर्न केही अफ्ठ्यारो परेको जनाइएको छ ।
साँगामा समस्या रहेको डेढदेखि दुई किमि सडकमा जाने-आउने लेन तल-माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) ले देखाएको छ । यस दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरूङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो । यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब एक अर्ब रूपैयाँ मुआब्जा दिनुपर्नेछ ।
यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब रूपैयाँ लाग्ने आयोजनाले अनुमान गरेको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०-२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोलपम्पनजिक निर्माण गरिने भएको हो । यसका लागि प्रतिमिटर १५ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको जनाइएको छ । विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँ-बायाँ २५-२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो राजमार्गमा त्यही नियमलाई यथावत् कायम गरेको थियो र सोही कानुनका आधारमा सडकका दायाँबायाँमा घर बनेको थिए ।
यसैबीच पुरातत्व विभागले हाल स्तरोन्नति भइरहेकोे सूर्यविनायक-धुलिखेल सडकखण्डमा पर्ने पुरातात्विक-ऐतिहासिक सम्पदाको संरक्षण गर्न आग्रह गरेको छ । ऐतिहासिक सम्पदाको संरक्षणार्थ विभागले स्तरोन्नति भइरहेको यस सडकखण्डसँग सरोकार राख्ने दुई जिल्ला भक्तपुर र काभ्रेपलाञ्चोकका निकाय, सडक विभाग तथा आयोजनालाई आग्रह गरेको हो । विभागले यस क्षेत्रमा सम्पदा प्रभाव मूल्याङ्कन (एचआईए) भइसकेको जनाउँदै एचआईएको प्रतिवेदनबमोजिम मात्रै परम्परागत निर्माण सामग्रीको प्रयोग गरी मौलिक स्वरूपमा पुनर्निर्माण गर्न पत्राचारमार्फत आग्रह गरेको छ ।
विभागका सङ्ग्रहालय अधिकृत पुरूषोत्तम आचार्यका अनुसार ढुङ्गेधारालगायत ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्दा प्राचीन स्मारक ऐन २०१३ (पाँचौँ संशोधन) बमोजिम गर्न तथा हालसम्म भए गरेका कार्यको प्रगतिसमेत विभागलाई उपलब्ध गराउन भनिएको छ । यसअघि आयोजनाले स्तरोन्नति भइरहेको सूर्यविनायक-धुलिखेल सडकखण्डअन्तर्गत अरनिको राजमार्गमा आठ दशमलव चार किमि सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएको जनाइएको थियो । यस संरचनामा काभ्रेपलाञ्चोकतर्फ साँगा-धुलिखेल सडकखण्डमा पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुङ्गेधारा रहेको आयोजनाको विवरण उल्लेख गरिएको छ । यस्तै भैँसेपाटीमा दुई कुवा, ढुङ्गेधारा तथा जनागालस्थित पीपलबोटमा गणेश मन्दिर ऐतिहासिक सम्पदाको सूचीमा परेका हुन् । यीमध्ये गणेश मन्दिर स्थानीयले अन्यत्र स्थानान्तरण गरिसकेका छन् ।
आयोजनालाई अब सात स्थानमा रहेका आठ सम्पदाको संरक्षण, व्यवस्थापन एवं स्थानान्तरण गर्ने गरी बनाइएको वैकल्पिक ढाँचाका विषयमा स्थानीय जनप्रतिनिधि एवं अगुवासँग छलफल गर्दै निर्माण प्रक्रिया अघि बढ्ने जनाइएको छ । ‘हामी साँगा-धुलिखेल सडकखण्डमा सम्पदा व्यवस्थापन एवं स्थानान्तरण गर्न स्थानीयस्तरमा छलफल गरिरहेका छौँ, आयोजना छलफलकै आधारमा उपयुक्त विकल्पमा जाने पनि तयारी गर्दैछौँ,’ आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले भने ।
आयोजनाले साँगामा रहेको ऐतिहासिक पोखरीलाई नासिका भगवती मन्दिरनजिक वा उपयुक्त स्थानमा स्थानान्तरणको प्रस्ताव गरेको छ भने मन्दिर र कुवालाई पनि सोही मन्दिरआसपास स्थानान्तरण गर्न सकिने जनाएको छ । यस्तै नासिका मन्दिरको वरिपरिको ‘वाल’ संरक्षण गरी एकतर्फी सडक निर्माण गर्ने वा नगर्नेबारे अनिर्णित भएको छ । स्थानीयवासीले भने नासिका मन्दिरको ऐतिहासिक महत्त्व भएकाले सोही स्थानमा संरक्षणका लागि सुझाव दिएको आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालले बताए । साँगाको ढुङ्गेधारा केही पर सारी पानीट्याङ्कीसहितको निर्माण गर्न आयोजनाले प्रस्ताव गरेको छ भने भैँसेपाटीमा रहेका दुई कुवालाई दाँहिनेतिर इन्टेक निर्माण गरी ट्याङ्कीसहितको ढुङ्गेधारा निर्माणको प्रस्ताव गरिएको छ । स्थानीयले साँगामा हरेक वर्ष मनाउँदै आएको बिस्केट जात्राका लागि प्रयोग हुने स्थान, पोखरी तथा मन्दिर, धारा र कुवाको विशेष संरक्षणका लागि आयोजनाले सहयोग गर्नुपर्ने बताउँदै आएका हुन् ।
पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमि सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाख रूपैयाँ तथा दोस्रो चरणमा सुरू भएको सूर्यविनायक-साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रूपैयाँमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण बर्सेनि सवारी चाप बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप बढेको छ । हाल कोटेश्वरबाट यही राजमार्गमा लामा दूरीका सवारी मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् । -राजकुमार पराजुली/रासस
FACEBOOK COMMENTS