व्यवसाय सञ्चालन सहज बने पनि सेवाग्राही कुरेरै बित्छ दिन
काठमाडौँ — न्युरोडस्थित गेज फेसनका सञ्चालक बुद्ध खड्काले पसल खोल्न थालेको ८ दिन भयो । लकडाउनअघि बिहान ९ देखि बेलुकी ८ बजेसम्म खोल्ने उनले दिनमा १ लाख रुपैयाँसम्मको कारोबार गर्थे । अहिले भने ग्राहक कुरेरै दिन बित्ने गरेको उनको भनाइ छ ।
काठमाडौंको न्युरोडस्थित कपडा पसल । तस्बिर स् इलिट जोशी
‘पसल खोले पनि सीमित ग्राहक छन्,’ उनले भने, ‘जसलाई अति खाँचो परेको छ, त्यस्ता व्यक्ति मात्र आएका छन् । त्यसमा पनि अफिसबाट फर्कंदा निस्कनेहरु बढी छन् । घुमन्ते ग्राहक छैनन् ।’ उनले अहिले बिहान १० देखि साँझ ५ बजेसम्म मात्र पसल खोलिरहेका छन् । प्रतिदिन ५ देखि १० हजार रुपैयाँसम्म मात्र कारोबार भइरहेको उनले बताए ।
‘ग्राहक छैनन्, कुरेर बस्नु रहर होइन, बाध्यता हो,’ उनले भने, ‘घर बसेर बैंकको ब्याज, पसलको भाडा सबै गरेर महिनामा लाखौं घाटा खाइरहनुभन्दा केही हुन्छ भन्ने आसले पसल खोलेका हौं ।’
सरकारले केही दिनअघि व्यवसाय सञ्चालन गर्न दिने भनेपछि व्यवसायी उत्साहित भएका थिए । पसल खोले पनि बोहोनी गर्नै समस्या भएको असनमा भाँडा पसल सञ्चालन गर्दै आएका कपिल केसी सुनाउँछन् । पहिला प्रतिदिन ३० देखि ४० हजार रुपैयाँसम्मको व्यापार गर्दै आएका उनी पनि हिजोआज पसलमा खाली बस्नुपरेको बताउँछन् । व्यवसाय पहिलेकै अवस्थामा पुग्न ७र८ महिना लाग्न सक्ने उनको अनुमान छ ।
काठमाडौंका व्यापारिक केन्द्र मानिने न्युरोड, असन, मखन, इन्द्रचोक, महाबौद्धका प्रायस् कपडा, मोबाइल, इलेक्ट्रोनिक्स, घडी, जुत्ता, चस्मा, मिठाई, शृंगारलगायतका पसल खुलेका छन् । पसल सञ्चालनमा अहिले प्रहरी प्रशासनको अवरोध पनि नरहेको व्यवसायीहरुको भनाइ छ ।
वसन्तपुर झोंछेमा जुत्ताको व्यवसाय गरिरहेका वसन्त श्रेष्ठ पनि पसलमा मान्छे आउने क्रम नबढेको बताउँछन् । छालाको जुत्ता भएकाले बिग्रन्छ भनेर मात्र पसल खोलेको भनाइ छ । ‘बढीजसो विदेशी पर्यटकको चहलपहल हुने यो ठाउँ अहिले सुनसान छ,’ उनले भने, ‘मान्छे नभएपछि किन्ने नि हुँदैनन् । यसले एक वर्षसम्म व्यवसायमा असर पर्छ होला ।’
लकडाउन अघिसम्म राम्रै चलिरहेको व्यवसाय अहिले धरापमा परेको उनको भनाइ छ । कोभिड–१९ संक्रमणको अवस्था सामान्य बनेर पर्यटकको आगमन बढेपछि राम्रो हुने आशा रहेको उनले बताए । सरकारले व्यवसाय गर्न दिने भनेपछि मात्र आफूले पसल खोलेको मखनमा शृंगारका सामग्रीको व्यवसाय गरिरहेकी अमृता सिंहको भनाइ छ । उनले पनि ग्राहक पहिलाको तुलनामा कम रहेको बताइन् ।
‘सिजनमा दिनको १२ हजार रुपैयाँसम्म व्यापार हुन्थ्यो, अहिले छैन,’ उनले भनिन्, ‘संक्रमण फैलिन सक्ने डरले मानिस त्यति बाहिर ननिस्केजस्तो लाग्छ ।’ लकडाउनअघि बिहान १० देखि बेलुकी ७ बजेसम्म पसल खोल्ने गरेकी उनले अहिले भने बिहान ११ देखि साँझ ५ बजेसम्म चलाउँछिन्
कोभिड–१९ संक्रमण नफैलियोस् भनेर पसलबाहिर र सार्वजनिक स्थानमा समेत साबुनपानी, सेनिटाइजर राखिएको छ । पसल सञ्चालकहरुले पञ्जा र मास्क प्रयोग अनिवार्य गरिरहेका छन् । संक्रमण लाग्ने डर भएकाले सतर्कता अपनाएर पसल खोलिएको व्यवसायीको भनाइ छ । उपत्यकाबाहिरका मानिसले सामान लैजाने हुँदा लामो दूरीका सवारी चल्न नपाएसम्म व्यवसाय सामान्य रूपमा नआउने असन, न्युरोडका व्यवसायीहरु बताउँछन् ।
-कान्तिपुर दैनिक
FACEBOOK COMMENTS