नेपालगञ्ज । बाँकेका पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटकीय पूर्वाधारमा लगानी बढाउन आग्रह गरिएको छ । ‘स्थानीय पर्यटन उद्यमीहरूको अवसर र सुदृढीकरण’का लागि शनिबार कोहलपुरमा आयोजना भएको कार्यशाला गोष्ठीमा सरोकारवालाले त्यस्तो आग्रह गरेका हुन् ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले पर्यटन प्रवर्द्धनका लागि प्रचुर सम्भावना र अवसर भएको उल्लेख गर्दै जङ्गल वाक, चुरै हाइकिङ, र्याफ्टिङ, हात्ती सफारी पर्यटनका लागि निकुञ्जको सौन्दर्य भएको बताए । उनले जिल्लामा सांस्कृतिक तथा धार्मिक पर्यटन र कृषि पर्यटनसमेत रहेको आँैल्याउँदै उत्तरी भेगमा रहेका बासिन्दालाई कृषिमा अग्रसर गराई पर्यापर्यटनमा जोड दिन सकिने बताए ।
प्रमुख संरक्षण अधिकृत कँडेलले पर्यटकलाई जङ्गलमा घुमाउन जङ्गल सफारीका लागि जीपमा लगानी गर्न पर्यटन उद्यमीलाई अनुरोध गर्दै चुरे क्षेत्र सुक्खा भएकाले निकुञ्जमा रहेका ८० पोखरीमध्ये १६ पोखरीमा मात्र पानी रहेको जानकारी दिए । निकुञ्ज आसपास क्षेत्रमा स्तरीय होटेल तथा बासस्थान नहुँदा आन्तरिक तथा बाह्य पर्यटक नेपालगञ्ज र कोहलपुर क्षेत्रमा आउन बाध्य छन् ।
महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक हरि सुवेदीले पर्यटकीय सम्भावना बोध गराउने क्रियाकलाप आवश्यक भएकामा जोड दिँदै केही पर्यटन पूर्वाधार भए पनि पर्याप्त नभएको बताए । बाँकेमा प्राकृतिक तथा शान्त वातावरणमा रमाउन चाहने पर्यटकलाई वनका उद्यानसमेत रहेको औँल्याउँदै उनले केही पर्यटकीय गन्तव्यको पहिचान भई तिनको विकासका लागि काम भएको बताए ।
पर्यटन व्यवसायी अशोक गौडेलले स्थानीय पर्यटन प्रवर्द्धन गर्न अतिरिक्त पर्यटनलाई बढवा दिन आग्रह गर्दै त्यसका लागि गन्तव्य निश्चित हुनुपर्ने बताए ।
FACEBOOK COMMENTS