काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीबीच वाकयुद्ध जारी छ ।
आइतबार काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरिएको विषयलाई लिएर दुई नेताबीच सामाजिक सञ्जालमा सुरु भएको वाकयुद्ध अझै नरोकिएको हो ।
राप्रपाका कार्यकर्ता प्रदीपविक्रम राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा शाहलाई स्वागत गर्ने क्रममा मुख्यमन्त्री आदित्यनाथको तस्बिर अङ्कित बोर्ड प्रदर्शन गरेका थिए । त्यसपछि रिमालले ‘राष्ट्रवादी महोदयहरूले र्यालीमा प्रयोग गरेका फोटाहरू’ भन्दै सो तस्बिर फेसबुकमा राखेका थिए ।
सोमबार बिहान सांसद शाहीले रिमाललाई फेसबुकमार्फत भारतका मुख्यमन्त्री आदित्यनाथको फोटो प्रधानमन्त्री ओलीको निर्देशनमा रिमालले नै राख्न लगाएको आरोप लगाए । नेपाली राष्ट्रिय झण्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नका लागि यस्तो कुकर्म गरिएको उनको तर्क थियो ।
उनको उक्त अभिव्यक्तिको प्रतिक्रियामा रिमालले फेसबुकमार्फत शाीहलाई काँक्रा चोरको सङ्ज्ञा दिए । उनले काँक्रा आफूले चोरेर खाने र बियाँ अरूको गालामा टाँस्ने प्रवृत्तिका रूपमा शाहीलाई टिप्पणी गरे ।
दुई नेताबीचको वाकयुद्धले मङ्गलबार पनि निरन्तरता पाएको छ ।
मङ्गलबार बिहान रिमालले लोकतन्त्र र वैज्ञानिक सर आइज्याक न्युटनका दुई बिरालाका प्रसङ्ग जोड्दै शाहीलाई ‘अयोग्य, अराजक, अशिष्ट अराष्ट्रिय तत्त्व’ को सङ्ज्ञा दिएका छन् ।
‘सर आइज्याक न्युटन र उनका बिरालासम्बन्धी एउटा रोचक कथा छ । न्युटनको अध्ययन कक्षमा दुई बिराला थिए– एउटा ठूलो र अर्को सानो । आफ्नो काममा बाधा नपरोस् भनेर बिरालाहरूलाई ढोका खोल्न नपर्ने गरी घरभित्र र बाहिर आउजाउ गर्न दिन न्युटनले ढोकामा दुईवटा प्वाल पार्न लगाए– ठूलो बिरालोको लागि ठूलो प्वाल र सानो बिरालोको लागि सानो प्वाल । सानो बिरालो ठूलो बिरालोलाई बनाइएकै प्वालबाट आउजाउ गरिहाल्थ्यो, छुट्टै दुलो किन बनाइराख्न पर्थ्यो ?’ रिमालले लेखेका छन्, ‘ यस घटनाले स्पष्ट पार्छ, जटिल सिद्धान्तहरू बुझ्ने न्युटनजस्ता असाधारण प्रतिभाहरूसमेत कहिलेकाहीँ यति साधारण व्यावहारिक उपायमा अलमलिँदा रहेछन् । न्युटनले वास्तवमै बिराला पालेका थिए/थिएनन्, वा त्यस्तो प्वाल बनाएका थिए/थिएनन्, बहसको विषय बनाउन खोजेको होइन । यो कथा यहाँ चर्चा गर्नुको कारण छ : हिजो मैले एउटा मिथ्या सूचनाको खण्डन गर्ने क्रममा मर्यादित स्थानमा ‘भवितव्य’ ले पुगेका, डिसइन्फरमेशन फैलाउने एक जना ‘अयोग्य, अराजक, अशिष्ट अराष्ट्रिय तत्त्व’ को आलोचना गरेको थिएँ । हामीमध्ये धेरैलाई लाग्न सक्छ, ती व्यक्ति हामीले नै बसालेको लोकतान्त्रिक प्रणालीबाट जनताले छानेका मानिस हैनन् र ? जनप्रतिनिधिमाथि यस्तो टिप्पणी सुहाउँछ ?’
उनले शाहीतर्फ सङ्केत गर्दै लोकतन्त्रमा चुनाव एक हिसाबले ‘न्युटनको बिरालोको दुलो’ जस्तै हुने र त्यस दुलोबाट जस्तोसुकै ‘बिराला’ पनि छिर्न सक्ने उल्लेख गरेका छन् । रिमालले लोकतन्त्र हुकुमी शासन तथा जन्म र वंशको आधारमा बनेका अयोग्य शासकले टीका लगाएर प्रतिनिधि तोकिने प्रणाली नरहेको बताएका छन् ।
‘लोकतन्त्र हुकुमी शासन हैन । न त यो ‘जन्म र वंश’ को आधारमा बनेका अयोग्य शासकले टीका लगाएर प्रतिनिधि तोकिने प्रणाली हो । लोकतन्त्रमा ‘खेलको नियम’ हुन्छ, आफूलाई मन परोस् वा मन नपरोस्, जसले बढी भोट पाउँछ, उसैलाई जनताले आफ्नो ‘प्रतिनिधि’ मान्नै पर्छ । हाम्रो लोकतान्त्रिक प्रणालीले ‘जनमतको सम्मानका खातिर’ जस्तोसुकै भए पनि उसैलाई ‘माननीय’ सम्बोधन गर्ने सदाचार सिकाउँछ ।’ रिमालले थप लेखेका छन्, ‘लोकतन्त्रमा चुनाव एक हिसाबले ‘न्युटनको बिरालोको दुलो’ जस्तै हो । त्यस दुलोबाट ‘सानो वा ठूलो, लुते वा बलियो, फोहरी वा सुग्घरी’ जस्ता ‘बिराला’ पनि छिर्न सक्छन् । राम्राभन्दा राम्रा प्रणालीमा पनि केही न केही छिद्र हुन सक्छन्, यत्ति त बुझ्न पर्छ । भन्न खोजेको यत्ति मात्र हो ।’
यता, जवाफमा ;सांसद शाहीले पनि कडा प्रतिक्रिया जनाएका छन् । उनले रिमाललाई ‘आदरणीय’ भन्दा यो शब्द नै बेकार हुन जाने भन्दै वडाध्यक्षको तयारीमा लाग्न सुझाएका छन् ।
‘आदरणीय भनौँ भने कसरी भनौँ, तपाईँका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ, प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको स्यालहुइँय्या दिन बन्द गर्नुहोस्’, उनले फेसबुकमा लेखेका छन् ।
शाहीले लोकतन्त्र रिमालजस्ता व्यक्तिहरूलाई लुटिखाने भाँडो भएको आरोप लगाएका छन् । उनले ‘राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रत्यक्ष जनताले चुनेका हुन् ?’ भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउन पनि रिमाललाई चुनौती दिएका छन् ।
‘के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन् ? लोकतन्त्र त तपाईँहरूजस्ता अलोकतान्त्रिक व्यक्तिहरूलाई लुटिखाने भाँडो भयो, लुटतन्त्र मच्चाउने धन्दा भयो । यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस् । र, तपाईँ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालज्यू वडा अध्यक्षको तयारी गर्नुस्’, शाहीले लेखेका छन् ।
FACEBOOK COMMENTS